मधेस प्रदेश कृषि विश्वविद्यालयले लिन थाल्यो विद्यार्थी भर्ना

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित


सप्तरी, २९ कात्तिक । मधेस कृषि विश्वविद्यालयले पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना लिन थालेको छ । विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्ने विश्वविद्यालयका रजिस्ट्रार डा। भगवान ठाकुरले बताए । तयारीसहित कात्तिक २९ गतेदेखि मङ्सिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिने उनले बताए ।

मधेस प्रदेश सरकारले अघिल्लो वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरेको विश्वविद्यालयले खोलेको नयाँ भर्नामा विद्यार्थीले बीएससी-एजी अर्थात् कृषि विषयमा स्नातक तहमा भर्ना हुन पाउनेछन् । विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्न आफ्नो  तयारी सुरु गरेको ठाकुरले जानकारी दिए ।

यो विषयमा भर्ना हुनका लागि विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला, मधेसी, दलित, अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटमा भर्ना खुलाइएको उपकुलपति डा. वैजनाथ महतोले बताए । 

मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको, बागवानी, मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण, व्यवसायीकरण, औजारीकरणको अध्ययन अध्यापन गराइने डा. महतोले बताए ।