प्रसाईले बनाएकाे फुटवयरको विरासत

-



     साजन सुवेदी    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित


एक समय थियो, बजारमा जहाँ पनि शिखर शुजको चर्चा सुनिन्थ्याे । जुत्ता भनेकै ‘शिखर शुज’ भने झैं थियो त्यसताका। सर्वसाधारण नागरिक वा सरकारी कर्मचारी, हरेकको रोजाइमा शिखर शुज नै पर्थ्याे । अहिले पनि त्यो क्रेज कायमै छ । कोरोना महामारी लगायतका विविध समस्याले जुत्ता उद्योगलाई पनि समस्यामा पार्याे । यद्यपि स्वदेशी जुत्ताहरूमा सर्वाधिक रुचाइने र जुत्ता कम्पनीमा अग्रणी नेपाली ब्राण्ड हो शिखर शुज । ब्यवसायी रामकृष्ण प्रसाईंले करिब २८ वर्ष अगाडि यो कम्पनी स्थापना गरेर १८ वर्षअघिदेखि एउटा अब्बल र बिश्वासिलाे ब्राण्डका रुपमा स्थापित गरेका छन ।

रामेछापदेखि काठमाडौं सम्मको यात्रा

रामकृष्णको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । रामेछापको पखरबासमा जन्मिएका रामकृष्णको परिवार उनी ७ वर्षको हुँदा जिल्लाकै मुगिटार भन्ने गाउँमा बसाईं सर्यो । अहिले त्यो गाउँ मन्थली गाउँपालिका–७ मा पर्छ । रामकृष्णले त्यहाँको प्राथमिक विद्यालयमा कक्षा सातसम्म अध्ययन गरे । त्यसपछि एसएलसी दिनका लागि करिब ७ किलोमिटर टाढा फुर्वा भन्ने ठाउँमा कोठा लिएर बसे । उनले २०४८ सालमा एसएलसी परीक्षा दिए ।


एसएलसीपछिको उच्च शिक्षा (आइकम) भने उनले धनगढीबाट गरेका थिए । धनगढीमा उनी करीब ४ वर्ष बसे । आइकम अध्ययनकै लागि धनगढी पुगेका उनी त्यतिखेर आफ्नो मामाको छोरा (दाइ) सँग बसेका थिए । उनका दाइले त्यतिखेर बाँसबारी छाला जुत्ता उद्योगको डिलर धनगढीमा खोलेका थिए । सोही डिलरमा दाइले काम गरेको दिनहुँ देख्ने गरेका थिए रामकृष्णले । २०५१ सालमा प्रसाईँले धनगढी छोडे ।

त्यतिखेर उनी रामेछापबाट काठमाडौं जानुपर्दा केही घण्टा बाटो हिँडेपछि मात्रै काठमाडौंका लागि बस लाग्ने गरेको उनले सुनाए । रामेछापबाट नजिक पर्ने हिसाबले उनले काठमाडौंको शंकरदेव क्याम्पसमा डिप्लोमा अध्ययन शुरू गरे । त्यतिखेरसम्म पनि उनको व्यवसाय गर्ने सोच थिएन । ‘परिवार हुनेखाने वर्गमै पर्थ्याे, उनले सम्झिए,‘त्यतिखेरसम्म उनलाइ काम गर्ने खास सोच थिएन ।’

जग्गा किन्ने प्रयास जब असफल भयो…

प्रसाईंको परिवारले त्यो समयमा जग्गा किन्नका लागि करिब ५-६ लाख रुपैयाँ रकम जम्मा गरेको थियो । त्यतिखेरको सो रकम निकै ठूलो थियो । बारा जिल्लाको निजगढबाट भित्री भागमा पर्ने हनुमानगञ्जमा जग्गा किन्ने निधो समेत भयो । त्यहाँ बैना पनि गरिएकोमा पास हुन लागेको बैना अन्तिममा आएर भंग भयो । दिएको बैना रकम समेत फिर्ता भएपछि उनीहरू रामेछाप फर्किए ।

रामकृष्णका बुवाले उनलाई त्यो रकम काठमाडौंको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नका लागि पठाए । उनले जम्मा पनि गरे बैंकको विशालबजार शाखामा । तर सोही पैसालाई रामकृष्णले व्यवसायमा लगाउने निर्णय गरे ।

‘अब त केही गर्न शुरू गर्नुपर्छ भन्ने भावना आएपछि जुत्ता उद्योग खोल्दा फाइदा हुन्छ भन्ने सोचेर लगानी शुरू गरेको थिएँ,’ प्रसाईं भन्छन्,‘जग्गा किन्न नमिल्नु र मेरो व्यवसायिक यात्रा शुरू हुनु सँगैजसो भयो र मैले सोही रकम प्रयोग गरेको थिएँ ।’ उनले जुत्ता पसलका लागि मासिक १० हजार रुपैयाँ भाडा तिर्नेगरी एउटा सटर भाडामा लिए । त्यसपछि १० हजार, ५० हजार गर्दै रकम झिके र लगानी गर्न थाले ।

‘छाला किन्ने, मेसिन किन्ने गर्दैमा भएकाे पैसा सकिन थाल्याे । करिब ३ लाख रुपैयाँ पैसा लागिसकेको थियो,’ प्रसाईंले सम्झिए । त्यतिखेर रामकृष्णको परिवारमा मामाको छोराबाहेक कसैले पनि उद्योग वा व्यवसाय गरेका थिएनन् । उनले भने शुरूबाटै उद्योग गर्ने हिम्मत जुटाएका थिए । बिना कुनै अनुभव उद्योग खोल्ने हिम्मत जुटाएका उनले विगत सम्झिए । उनले भने, ‘जुत्ताको ज, छालाको छ र उद्योगको उ पनि नजानेको मैले उद्योग खोल्ने हिम्मत गरेको थिएँ ।’

संगतले डोर्याएको व्यावसायिक यात्रा

उनका अनुसार त्यतिखेर एक जना छाला जुत्ताको काम गर्ने साथीसँग उनको संगत भएको थियो । धनगढीमा मामाको छोराले जुत्ता बिक्री गरेको देखेका उनले ती साथीसँग जुत्ता बनाउन पनि सकिने र फाइदा हुने पाठ सिके । त्यसपछि बेच्न हैन बनाउन नै थाल्छु भनेर उद्योग शुरू गरेको उनले बताए । उद्योग सञ्चालनको एक वर्षसम्म उनले थोरै थोरै जुत्ता बिक्री समेत गर्न थालिसकेका थिए । सबै राम्रै भइरहेको थियो । यतिकैमा उनको जिवनकाे कथामा अलिकति मोड आयो ।

एक दिन बिहानै उनी साइकल चढेर आफ्नो उद्योग पुगे । उद्योगमा त मेसिन, छाला र साथी कोही पनि छैनन् । उनी अचम्ममा परे । त्यसपछि साथीबाट उनले थाहा पाएः ठेकेदारले सबै सामान उठाएर लगेछन् । निकै मेहनतपछि उनले सामान फिर्ता ल्याए । उनी भन्छन्,‘त्यो पनि एउटा संयोग थियो । ठेकेदार र मेरो पार्टनरको मिसअण्डरस्ट्याडिङ भएछ, जसकाे कारण त्यो घटना घटेको थियो ।’

उद्योगमा करिब १० लाख रुपैयाँ शुरूवाती लगानी भएको थियो । एउटा सटरबाट शुरू भएको उनको उद्योगले विस्तारै गति लिँदै गएको थियो । समयक्रमसँगै उनको औद्योगिक ‘पार्टनर’ले उनीसँगको साथ छोडे । त्यसपछि प्रसाईं एक्लैले सो उद्योग सञ्चालन गर्न थाले । उद्योगका लागि उनले शुरूवाती दिनमा हेटौंडा छाला उद्योगबाट छाला ल्याउने गरेका थिए । विस्तारै भारत र चीनबाट समेत उनले सामान ल्याउन थाले ।

उद्योग नै सञ्चालन हुन्छ भन्ने थिएन

उनले काम शुरू गर्दा उद्योग नै बनाउँछु भनेर शुरू गरेका होइनन् । त्यतिखेर उद्योग चलाउने भन्दा पनि तत्काललाई के काम गर्ने ? कसरी कमाउने भन्ने मात्रै सोच रहेको प्रसाईं बताउँछन् । सोही सोचले एउटा दिशा लिएर पछि उद्योगको रुप धारण गरेको उनको भनाइ छ । उनी भन्छन्,‘उद्योगकै हिसाबले पनि शुरू गरेको होइन । दर्ता गर्नुपर्ने भन्ने पनि थाहा थिएन । करिब २ वर्षपछि दर्ता गरेको हो ।’

उनले उद्योग शुरू गरेको करीब ५ महिनापछि मात्रै बुवालाई जानकारी गराएका थिए । उनी भन्छन,‘बुवालाई ममाथि भरोसा थिएन तर आमाले भने हुन्छ भन्नुभयो । तर आमा खुशी हुनुहुन्नथ्यो । गाउँमा पनि जुत्ताको उद्योग भनेपछि उडाउँथे । उतारचढाव भई नै रह्यो ।’

१० हजार रुपैयाँ भाडामा शुरु स् उद्योगमा परिणत

प्रसाईंले शुरूवाती दिनमा ललितपुरको कुम्भेश्वरमा २ हजार रुपैयाँ मासिक भाडा तिर्नेगरी उद्योग चलाएका थिए । त्यतिखेर त्यो उद्योग नभएर एउटा सानो घरेलु व्यवसाय जस्तो मात्रै थियो । केही समयपछि त्यो उद्योग काठमाडौंको गोंगबुमा सर्यो । मासिक २ हजार रुपैयाँ भाडा तिरेर शुरू गरिएको सो उद्योगले गोंगबुमा मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्म भाडा तिरेर सञ्चालन गरेको प्रसाइकाे अनुभव ।

उद्योग सञ्चालनदेखि यसलाई ब्राण्ड बनाउनसम्म प्रसाईं आफैं खटिए । उनले मार्केटिङ, बिक्री, रेकर्ड सबै आफैं गरेको अनुभव सुनाए । समय बित्दै जाँदा शिखर शुज ब्राण्ड बन्ने तरखरमा थियो । व्यवसायलाई थप विस्तार गर्नका लागि पनि आफ्नै जग्गामा उद्योग सञ्चालन गर्ने सोच प्रसाईंमा थियो । विभिन्न कारणले त्यो सोचले मूर्त रुप लिन सकेको थिएन । यद्यपि २०५७ मा भने उनले रानीबारीमा उद्योग शुरू गर्न सफल भए । विस्तारै बैंकिङ कारोबार समेत शुरू भयो ।

२०५७ साल आसपास नेपालमा भारत र चीनबाट सस्ता जुत्ताहरू आउँथे । ती जुत्ताहरूको खपत पनि तीव्र गतिमा भइरहेको थियो । यसले गर्दा नेपाली जुत्ता उद्योग निकै संकटमा पुगेका थिए । नेपाली जुत्ता बक्निै छाडेका थिए । यही सिलसिलामा प्रसाईंले चीन भ्रमण गरे । त्यसपश्चात चिनियाँ कन्सेप्टका जुत्ता बनाउन शुरू गरे । बजारमा त्यस्ता जुत्ताको माग बढ्न थाल्यो र उद्योग फेरि माथि उठ्न थाल्यो ।

यत्तिकैमा २०६१ मा प्रसाईं विवाह बन्धनमा बाँधिए । विवाहपश्चात आफ्नो उद्योगलाई नयाँ ढंगले ब्राण्ड गरेर अगाडि बढ्ने सोचे प्रसाईंले । त्यसपछि ब्राण्ड पनि बन्दै गयो, उद्योग पनि सफल हुँदै गयो। साँच्चै भन्दा, प्रसाईं र उद्योग दुवैलाई त्यसपछि पछाडि फर्केर हेर्नै परेन । शिखर शुजले बिस्तारै आफ्नो सेग्मेन्ट पनि थप्दै गयो । स्पोट्र्स जुत्तासमेत बनाउन थाले प्रसाईँले ।

ब्राण्ड जस्तै उद्योग पनि नम्बर वान

२०६२ सालपछि शिखर शुजले आफूलाई नम्बर वान ब्राण्ड दावी गर्यो । त्यतिखेर जताततै शिखर शुजको मात्रै बिक्रेता र प्रयोगकर्ता भेटिन्थे । त्यसपछि कम्पनीले विभिन्न सेग्मेन्ट विस्तार गर्दै गयो । त्यतिखेर नेपालमा स्पोर्टस् फ्रेण्ड्ली जुत्ता थिएन । नेपालमा यो जुत्ता बनाउन नै सम्भव छैन भनिन्थ्यो । तर शिखरले त्यो मेशिन नेपालमा ल्यायो र जुत्ता पनि बनाउन थाल्यो । स्पोट्र्सको कन्भियर मेशिनले दैनिक ६ हजार जुत्ता उत्पादन गर्ने क्षमता राख्दथ्यो । यसमा कम्पनी सफल भयो । उद्योगले काठमाडौंमा ३ वटा प्लान्ट थपेर उत्पादन अगाडि बढायो । विराटनगरमा एउटा उद्योग पनि किन्यो । त्यतिखेर कम्पनीको लक्ष्य ब्राण्डमात्रै नम्बर वान नभई, कम्पनीलाई नै नम्बर वान बनाउने थियो ।

तर कम्पनीले विराटनगरमा किनेको उद्योगलाई निरन्तरता दिन सकेन । विविध कारणले त्यो उद्योग अगाडि बढ्न नसक्दा अन्ततः बेच्नुपर्ने अवस्था आयो । यससँगै मुलुकमा कोभिड महामारी पनि फैलियो जसले जुत्ता चप्पलमात्रै नभई समग्र उद्योगलाई निकै ठूलो क्षति गर्यो । अहिले कम्पनी महामारीबाट पुनः माथि उठ्दै गरेको सञ्चालक प्रसाईं बताउँछन् । उनी भन्छन् ,‘अब फेरि नयाँ र एग्रेसिभ तरिकाले अगाडि बढ्दैछाै ।’

अहिले कम्पनीले दैनिक २ हजार ५ सयदेखि ३ हजार जोर जुत्ताचप्पल उत्पादन गरिरहेको छ । अबको ४ महिनाभित्र उत्पादन क्षमता बढाएर प्रतिदिन करीब ८ हजारदेखि १० हजार जोडी बनाउने लक्ष्य लिइएको प्रसाई बताउँछन् । शुरूवाती दिनमा करीब ७ – ८ जना मिलेर शुरू भएको याे उद्योगले अहिले २ सय ५० जनालाई रोजगारी दिइरहेको छ। उद्योगको उत्पादन प्लान्ट काठमाडौंको गोलढुंगामा रहेको छ।

प्रसाईंले जुत्ता तथा चप्पलको उत्पादन गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व समेत गरेका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा एक समय उनी कार्यसमिति सदस्य थिए । यसबाहेक उनी नेपाल फुटवेयर संघका पूर्वअध्यक्ष हुन् ।