विविध कार्यक्रम गरी आईएनएफ नेपालले मनायाे ७० औं वार्षिकोत्सव

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित


पोखरा, २ मंसिर । आईएनएफ नेपालले विविध कार्यक्रम गरी आफ्नो ७० औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘नेपालमा आई एन एफ स्थापनाको सत्तरी वर्षसम्म आइपुग्दा नेपालका ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । ‘

उनले पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आईएनएफ नेपालसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए । कार्यक्रमका सभापति एवम् आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदान सहित ७० वर्षे गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएकोतर्फ जोड दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र कुमार अधिकारीले स्वागत मन्तव्य राख्दै आईएनएफ का संस्थापकहरुको स्मरण गरेको थियो ।

कार्यक्रममा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आईएनएफ नेपालका गतिविधि र दीर्घकालीन योजनाका बारेमा प्रस्तुति राखेका थिए । संस्थाका मेडिकल सेवा निर्देशक डा. अरुण कुमार बुढाले आईएनएफ नेपालको स्वास्थ्य सेवा लगायत हरियोखर्क अस्पतालका बारेमा प्रकाश पारेका थिए ।

यसैगरी विशेष अतिथिद्वय आईएनएफ इन्टरनेशनलका अध्यक्ष फिल लिण्ड्से र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यस्थापन महाशाखाका प्रमुख प्रशन्न नापितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व निर्देशकहरु डा.एलिसन क्रेभन, डा.प्रेम सुवेदी तथा डा.दीपेन्द्र गौतमले आफ्ना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि, सभापति, कार्यकारी निर्देशक लगायतबाट आईएनएफ नेपालमा विगत १० वर्ष भन्दा लामो समयदेखि कार्यरत कर्मचारी तथा भारतमा आयोजित अन्तर्राष्ट्रिय व्हीलचियर प्रतियोगितामा सहभागी कर्मचारी सुरेश गौलीलाई सम्मान गरिएको थियो ।  

वार्षिकोत्सवकै सन्दर्भमा  गत कार्तिक ४ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा विशेष समारोहको आयोजना गरी संस्थालाई उल्लेख्य योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई कृतज्ञतापत्र र सम्मानपत्र प्रदान गरिएको थियो । सोही प्रकृतिको कार्यक्रम नेपालगन्ज र सुर्खेतमा समेत आयोजना गरिएको थियो । त्यसैगरी संस्थाले कार्तिक २९ गते दातृ निकाय, पार्टनर तथा पूर्व एवं वर्तमान विदेशी स्वयंसेवक कर्मचारीहरुलाई एक छुट्टै समारोह बीच सम्मान गरेको थियो ।

संस्थाले आफ्नो इतिहास र गतिविधि समेटिएको अङ्ग्रेजी र नेपाली भाषाका दुई वार्षिकोत्सव पुस्तक प्रकाशनमा ल्याएको छ । ४५० भन्दा बढी कर्मचारी रहेको संस्थाले स्थापनाको ७० औं वार्षिकोत्सवका क्रममा वर्षभरि विभिन्न प्रकृतिका ७० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिएको जनाएको छ ।     

वि. सं २००९ सालमा स्थापित आईएनएफ ले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत तीन अस्पतालसँगै बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा अविछिन्न रुपमा संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ ।