काठमाडौं विश्वविद्यालय र फ्युजमेसिन्सबीच एआई शिक्षा सुधारसम्बन्धी सम्झौता

-



     सफल आवाज    
     मंसिर ८ गते २०७९ मा प्रकाशित


काठमाडौं, ८ मंसिर । काठमाडौँ विश्वविद्यालय र फ्युजमेसिन्सबीच एआई शिक्षा सुधारसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार फ्युजमेसिन्सले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागलाई पाठ्यक्रम विकास, प्रशिक्षणको सुझाव, सिक्ने अवसरहरु तथा सेमेस्टर प्रोजेक्टका लागि एआई विज्ञ प्रदान गर्ने बताइएको छ ।

युवा प्रतिभा र नवीन पीँढीलाई एआई करिअरका अवसर प्रदान गर्न र विश्वभर माग भएको एआई प्रतिभा आपूर्तिको खाडल पुर्ने उद्देश्यले साझेदारीको सुरुवात गरिएको बताइएको छ । विश्वव्यापी रुपमा एआई प्रतिभाको अभाव भएको र नेपाल जस्ता विकास उन्मुख देशहरू यस शिक्षामा पछाडि रहेको अवस्थामा यसले थप सहयोग गर्ने फ्युजमेसिन्सले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयका डिन मनिस पोखरेलले यस सम्झौताले आगामी दिनमा उद्योगका लागि तयार एआई जानकार विद्यार्थी उत्पादन गर्न सहयोग मिल्ने बताए । फ्युजमेसिन्स र काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागले एआई शिक्षामा रहेको एकेडेमियाको दूरीलाई पूरा गर्न तथा नेपाली प्रतिभालाई विश्वव्यापी रुपमा प्रष्फुटन गराउन कोसिस गर्नेछन् ।फ्युजमेसिन्सका सीईओ समिर मास्केका अनुसार संस्थाले सुरू देखि नै नेपालभर एआई प्रशिक्षणको वृद्धि र विद्यार्थीहरुलाई एआई शिक्षाले सुदृढ बनाउने कोसिस गर्दै आइरहेको छ ।