२५ जिल्लामा गठबन्धन र ८ मा एमालेको एकल जित

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेको हो ।

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले ८ र राप्रपाले १ जिल्लामा आफ्नो वर्चश्व कायम गरेका छन् । एमालले ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, पर्वत, अर्घाखाँची, प्यूठान र बैतडीमा एकल जित हासिल गरेको छ भने राप्रपाले जुम्लामा एक सिट एकलरुपमा जितेको छ ।

आयोगका अनुसार १ सय ६५ सिटमध्ये हालसम्म ८९ स्थानको नतिजा सार्वजनिक भइसकेकामा कांग्रेस २८, एमाले २४, माओवादी केन्द्र ९, एकीकृत समाजवादी ६, राष्ट्रिय स्वतन्त्र पार्टी ५, राष्ट्रिय प्रजातन्त्र पार्टी चार, लोकतान्त्रिक समाजवादी पार्टी ३, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक-एक स्थानमा विजयी भएका छन् । पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रबाट निर्वाचन जितेका छन् ।

दुवै कम्युनिष्ट पार्टीका महासचिव पराजित

हालसम्म दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव निर्वाचनमा पराजित भएका छन् । एमालेका महासचिव शङ्कर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मासँग पराजित भए भने माओवादीका महासचिव देवप्रसाद गुरुङलाई एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङले पराजित गरे ।

माओवादीका उपमहासचिव पम्फा भुसाल र सचिव चक्रपाणि खनाल पनि यस निर्वाचनमा पराजित भए । यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव लेखराज भट्ट पनि पराजित भए ।

कांग्रेसका सह-महामन्त्री महालक्ष्मी उपाध्याय ९डिना० निर्वाचनमा पराजित भइन् । आफ्नो गृहजिल्ला छाडेर अर्को जिल्लामा निर्वाचनमा विजयी हुनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, कांग्रेसका प्रदीप पौडेल र वीरबहादुर बलायर, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २५ हजार बढी मतान्तरहित विजयी भएका छन् । ओलीले आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतले पराजित गरे । पुनले पूर्ण बुढा मगरलाई २५ हजार २ सय ३९ मतले पछि पारेर विजयी भए । त्यस्तै रास्वपाका अध्यक्ष लामिछानेले निकटतम् प्रतिद्वन्द्वी उमेश श्रेष्ठभन्दा ३४ हजार ३ सय १२ बढी मत प्राप्त गरे ।