एमाले उप-महासचिव गुरुङकाे तेस्रो पटककाे संसद यात्रा

-



     सफल आवाज    
     मंसिर १० गते २०७९ मा प्रकाशित



लमजुङ,१० मंसिर। गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तेस्रो पटक संसद प्रवेश गर्ने अवसर प्राएका छन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मत अन्तरले पछि पार्दै विजयी बनेर एमाले उपमहासचिव गुरुङले तेस्रो पटक संसद् प्रवेश गर्न सफलता पाएका हुन ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरेका छन । उपबिजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरेका थिए । कूल १ लाख ३३ हजार ५ सय ५९ जना मतदाता रहेकामध्ये निर्वाचनमा ८० हजार १ सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाइ धन्यबाद दिदैं उनले अबको मुख्य प्राथमिकता जिल्लाको आवश्यकताअनुसार पूर्वाधार विकासमा रहने र सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गराउन पहल गर्ने बताए । वाम शक्तिबीच एकता गर्नका लागि सक्रिय भूमिका समेत खेल्ने उनको भनाइ छ । “सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ भन्दै आएकाे छु, त्यो अभियान फेरि जारी रहन्छ”, उनले भने ।

विसं २०७४ मा एमालेसँग नेकपा (माओवादी केन्द्र) को तालमेल रहेको बेलामा पृथ्वीसुब्बा लमजुङ प्रदेश (२) बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गरेका थिए।

त्यसपछि पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए भने देवप्रसाद गुरूङ सांसद मात्र भए । अघिल्लो निर्वाचनमा एक अर्काको सहयोगी बनेर कांग्रेसविरुद्ध उभिए पनि यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलोपटक प्रतिस्पर्धा भएको थियो । विजयी एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई ६ हजारको मतान्तरले हराउँदै विजयी भएका थिए ।

तत्कालिन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा वि सं २०१४ सालमा गङ्गाप्रसाद गुरुङ र चिनी गुरुङको सन्तानका रुपमा जन्मिएका पृथ्वीसुब्बा गुरूङको राजनीतिक यात्रा २०२७ सालमा इशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटारमा अनेरास्ववियुका तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै सुरु भएको हो । उनले सक्रिय राजनीति भने विसं २०३४ देखि गरेका थिए । विज्ञानमा स्नातक गर्नुभएका गुरुङ सुरुमा शिक्षण पेसामा समेत आबद्ध भएका थिए ।

विसं २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित भएका पृथ्वीसुब्बा शिक्षण पेसामै हुँदा आन्दोलनमा उत्रेकाले पटकपटक प्रहरी हिरासतमा समेत परेका थिए । विभिन्न पार्टीको पदमा निर्वाचित हुँदै एमाले पार्टीको यसअघि भएको दशाैं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए ।

एमालेका गुरुङ विसं २०४८, विसं २०५१, विसं २०५६ र विसंं २०७० को निर्वाचनमा भने लमजुङबाट पराजित भएका थिए । विसं २०६४ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसकेका छन ।