मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्ने

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित


सुर्खेत, ११ मंसिर । मध्यपश्चिम विश्वविद्यालयले प्रमुख तीन क्षेत्रमा महिला हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको अध्यक्षतामा मङ्सिर १० गते बसेको बैठकले महिला हिंसा विरुद्धको अभियान ‘अरेन्ज द वर्ल्ड’ सञ्चालन गर्नका लागि सामाजिक सचेतना कार्यक्रम, महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन आदि कार्यक्रम गर्ने भएको छ ।

यसबाहेक लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थायी एमयू सक्रियता केन्द्र स्थापना गर्नेगरी तीनवटा महत्वपूर्ण निर्णयहरु भएको जानकारी उपकुलपति कार्यालयले जनाएको छ ।

ती कार्यक्रम सञ्चालन गर्न मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेशनका उप(प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति बनाइने भएको छ । यस्तै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको संरक्षकत्व तथा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, विश्वविद्यालय सेवा आयोगका सदस्य, डीनहरु, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्यज्यू, विभागीय प्रमुखहरु सल्लाहकारको भूमिकामा रहने निर्णय गरिएको छ ।

अभियानको प्रमुख उदेश्य समाजमा विद्यमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय तथा क्याम्पस/स्कुलहरुमा हुने लैंगिक हिंसा न्यूनीकरण गर्ने रहेको बताइएको छ । साथै मध्यपश्चिम विश्वविद्यालयको यो अभियान नेपाल सरकार तथा संयुक्त राष्ट्र संघलाई समेत लैंगिक हिंसा न्यूनीकरणका राष्ट्रिय एवं अन्तरराष्ट्रिय कार्य र नीति निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ अगाडि बढेको छ ।

वीरेन्द्रनगर सुर्खेतमा रहेको केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीनहरु, कार्यकारी निर्देशकहरु, केन्द्रीय विभाग प्रमुखहरु तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।