अश्लील भिडियो बनाएर यूट्युबमा पोस्ट गर्ने व्यक्ति पक्राऊ

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । यूट्युब मार्फत अश्लिलता फैलाउने एक जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा मकवानपुरको हेटौंडा उप-महानगरपालिका वडा नम्बर ४, हुप्राचौर बस्ने २० वर्षीय प्रतिक भनिने नविन खड्का रहेको प्रहरीले जनाएको छ ।

पक्राऊ परेका खड्काले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीको सन्दर्भमा भिडियो बनाएर यूट्युबमा अपलोड गरेका थिए । उक्त भिडियो म्यादी प्रहरीमाथि विभिन्न आक्षेप तथा लान्छना लगाएर समाजमा अपाच्य हुने शब्दहरुको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको रहेको र त्यसलाई यूट्युब र फेसबुकबाट प्रसारण गरेको खड्कामाथि आरोप छ ।

खड्कालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट मंसिर १३ अनुमति लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा ब्यूरोबाट खटिएको टोलिले पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज १४ सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।