प्रदुषण परिक्षणमा उपत्यकाका सार्वजनिक सवारीसाधन किन हुन्छन फेल ?

-



     सफल आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । काठमाडौं उपत्यकामा गुड्ने अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएको तथ्याङ्क बाहिर आएको छ । आज शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा आज परीक्षण गरेका अधिकांश सवारीसाधनहरु प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो ।

आज विभागले ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षण थियो । तीमध्ये ३८ वटा सवारीसाधन फेल भएको पाइएको छ । बाकी १६ वटा सवारीसाधन मात्रै प्रदूषण परीक्षणमा पास भएका विभागले जानकारी दिएको छ । विभागले प्रदूषण परीक्षणमा फेल हुनेहरुलाई मर्मत गरेर प्रदूषण पास हुनेगरी चलाउन समय दिएको छ ।

प्रदूषण फेल हुनेहरुले प्रदूषण परीक्षण गरी वातावरण विभागमा आएर पुनः परीक्षण गराएर पास भएपछि मात्रै कागजपत्रहरु फिर्ता लैजान पाउने विभागको भनाइ छ । विभागले परीक्षण पास गर्न पठाएका सवारीहरु अर्को पटक पनि फेल भएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्म चेतावनी दिएको छ ।

यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य शर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ । यस हिसाबले हेर्दा अबदेखि प्रत्येक ठूला तथा भाडाका सवारीले ६-६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्छ । त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ । उनीहरुका लागि पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ ।

परीक्षण पास नहुन्जेलको लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि सवारी गुडाउन नपाउने भएकाले आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क राख्नुपर्छ ।