
काठमाडौं, २२ मंसिर । सरकारले आयात प्रतिबन्ध फुकुवाको घोषणा गरे पनि अटोमोबाइल व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज पाँचौं दिन पनि आन्दोलन जारी राखेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापा धेरै कर तिर्ने अटोमोबाइल क्षेत्रमा आयात प्रतिबन्ध, ब्याजदरमा वृद्धि, ५० प्रतिशत नगद मार्जिनको व्यवस्था आदिका कारण अझ धराशायी हुन पुगेको र व्यवसाय नै बन्द हुने अवस्था निम्तिएकोले आन्दोलन गर्नुपरेको बताउछन ।
अध्यक्ष थापाले भने, ‘सरकारले आयात खुल्ला गरेर एउटा माग सम्बोधन गरेकोमा धन्यवाद छ । तर आयात खुला भएपनि व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन । अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको व्यवस्था हटाउनुपर्ने, चालुपुँजी कर्जा निर्देशन हाललाई स्थगन गर्नुपर्ने, अटोकर्जा सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियमदर नियन्त्रण गर्नु पर्ने जस्ता माग सम्बोधन भएको छैन ।
बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग गर्नुपर्ने र लामो समय देखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नु पर्ने जस्ता मागहरु पनि सम्बोधन हुनु जरुरी भएको थापाले बताए । यसका लागि दबाब सृजना गर्न आन्दोलन निरन्तर जारी नै रहने उनको भनाइ छ।

कालो पट्टीसहित विरोध गर्न माइतीघर मण्डलामा भेला भएकाअटोमोबाइल व्यवसायीहरुले ’ब्याजदर नियन्त्रण गर’, ’गाडी आयात फुकुवा गर’, ’मौद्रिक नीति परिमार्जन गर’, ’गरिखान देऊ’, ‘के देशमा सरकार त छ?’ लगायत नारा लेखिएका प्लेकार्ड हरु बोकेका छन् ।
महिनौंअघि सरकारले विदेशी मुद्रा सञ्चिति घटेको कारण देखाउँदै विभिन्न वस्तुहरुलाई विलासी वस्तु मान्दै आयात प्रतिबन्धमा रोक लगाएको थियो । पछिल्लो आर्थिक वर्षमा फुकुवा हुने भनिएको प्रतिबन्ध फेरि भदौ १४ सम्म लम्ब्याइएको थियो । भदौ १४ मा प्रतिबन्ध हट्ने आशा लिएर बसेका व्यवसायीहरु केही शीर्षकमा फुकुवा र केहीलाई कझै कडाईका साथ प्रतिबन्ध लगाइएपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगे ।
यसरी आयत प्रतिबन्धले धेरै क्षेत्रलाई अप्ठेरो पारेको र सबैभन्दा बढी असहजता भने खर्बौं लगानी भएको अटवमोबाइल क्षेत्रलाई पर्यो । राज्यलाई कर तिर्ने र अर्थतन्त्रमा योगदान दिनेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो क्षेत्र आयात एकातिर आयात प्रतिबन्ध र अर्कोतिर बैंकको ब्याजदर वृद्धिको चपेटामा पर्यो । धेरै अटोमोबाइल डिलरहरु कर्मचारी कटौती गर्ने र सेवा नै बन्द गर्ने अवस्थासम्म पुगे ।

विभिन्न समयमा अटोमोबाइल लयागत क्षेत्रले आयात प्रतिबन्ध फुकुवा, ब्याजदर घटाउने लगायतका सुझाव सरकारसमक्ष पेश गर्दै व्यवसायीको हक हित सुरक्षा गरिदिने आग्रह गरे । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही सम्बोधन गर्ने अपेक्षा बोकेका व्यवसायीहरुमा त्यसबाट पनि मौद्रिक नीति, ब्याजदर नियन्त्रण लगायतका समस्यामा कुनै तात्विक भिन्नता नआउने र देखाउनका लागि मात्र संशोधन गरेर ल्याइएपछि आजित भएर आन्दोलनमा होमिनुको विकल्प रहेन ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यिनै समस्याहरु समाधान गर्न दबाब दिँदै माइतीघर माण्डलामा आन्दोलन गरेको आज पाँचौं दिन जारी छ । आफ्ना मागहरु पूरा नहुन्जेल आन्दोलनले निरन्तरता पाउने अध्यक्ष थापाको भनाइ छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




