अब सवारीसाधनको गुणस्तर नयाँ मापदण्डबाट परीक्षण हुने

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । अबदेखि नेपालमा एसेम्बल हुने र बाहिरबाट आयात गरिएका सवारीसाधनको गुणस्तर नयाँ मापदण्ड अनुसार परीक्षण गरिने भएको छ । यातायात व्यवस्था विभागले नेपालमा एसेम्बल हुने र भएका सवारीसाधनको गुणस्तर परीक्षणका लागि नयाँ मापदण्ड तयार गर्न थालेको छ । विभागले आगामी पुस महिना भित्रै नयाँ निर्देशिका तयार पारेर कार्यान्वयनमा ल्याउन लागिएको विभागले जनाएको छ ।

विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलका अनुसार नेपालमा सवारीसाधन एसेम्बल गर्ने क्रम बढ्न थालेसँगै त्यसको सुरक्षा लगायतका मापदण्ड तोक्न नयाँ निर्देशिका बनाउन लागिएको हो ।  ‘हामी नयाँ निर्देशिका निर्माणको अन्तिम चरणको काम गरिरहेका छौं । आगामी पुसभित्रै यसलाई कार्यान्वयनमा ल्याउने लक्ष्य लिएका छौं,’ निर्देशक पौडेलले भने ।

पौडेलका अनुसार सुरूमा नेपालमा एसेम्बल हुने सवारीसाधनका नियम, निरीक्षण र परीक्षण हुने छन् भने त्यसपछि आयात भएर आउने साधनलाई पीक्षणमा लगिने गरी तयारी भइरहेको छ ।

अहिले यातायात व्यवस्था विभागसँग टेकुमा एउटा भेहिकल फिटनेश सेन्टर सञ्चालनमा रहेको छ । यसलाई सुविधा सम्पन्न बनाउन चरणवद्ध तरिकाले काम गरिरहेको विभागले त्यसलाई परीक्षण ल्याबको रूपमा विकास गरिरहेको बुझिएको छ । यसका साथै सबै प्रदेशमा भेहिकल फिटनेस सेन्टर बनाउने काम अगाडि बढिरहेको विभागले जनाएको छ ।

साना विद्युतीय सवारीको पनि मापदण्ड बनाइने

विभागले ईभी अर्थात् विद्युतीय सवारी साधनको परीक्षण पनि नयाँ निर्देशिका बनाएर गर्ने भएको छ । नेपालमा बाहिरबाट आयात हुने केही ईभीहरु गुणस्तरहीन भएको गुनासो आउन थालेपछि विभागले यस्तो निर्णय गरेको हो ।

प्राविधिक निर्देशक पौडेलका अनुसार अहिले नेपालमा राम्रा र गुणस्तरीय गाडीहरूका साथै गुणस्तर हीन साधनहरु पनि आएको गुनासो रहेकाले यी सबैलाई नियमन गर्न नयाँ निर्देशिका आउनु पर्ने  आवश्यकता परेको हो ।

पौडेल भन्छन्, ‘विभागले निजी सवारीको रूपमा दर्ता भएका साधन हाइवे वा सहरीमा चलाउन भन्ने कानुनी व्यवस्था छैन । त्यसैले जस्तो सुकै गाडी किनेर मानिसले आफ्नै जोखिममा चलाइरहेका छन् । उत्पादकले नै यो गाडी कहाँ गुडाउने भनेर तोकेको हुन्छ । चलाउनेले पनि त्यही अनुसारको क्षेत्रमा चलाउनु पर्छ ।’