स्पा तथा वेलनेस व्यवसायमा अग्रणी : ट्रयाङ्क्युलिटी स्पा

-



     साजन सुवेदी    
     मंसिर २७ गते २०७९ मा प्रकाशित


काठमाडौं, २७ मंसिर । नेपालमा स्पा तथा वेलनेस व्यवसायमा अहिलेकाे परिचित र स्थापित ब्राण्ड हो ट्रयाङ्क्युलिटी स्पा । आजभन्दा १५ वर्षअघि याे स्पा स्थापना भएकाे हाे । त्यसअघि पनि छिटफुट रुपमा स्पा व्यवसाय सञ्चालित थिए तर त्यसलाई विदेशीहरुले मात्र सञ्चालन गर्दथे ।

स्पालाइ नेपालमा व्यावसायिक गर्ने श्रेय जान्छ युवा व्यवसायी भुवन फैजुलाई । फैजु ट्रयाङ्क्युलिटी स्पाका अध्यक्ष हुन । ट्रयाङ्क्युलिटी स्पाले सन् २००७ मा विधिवत दर्ता गरेर निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

स्थापना र शाखा विस्तार

विदेशीद्वारा सञ्चालित स्पा तथा वेलनेस व्यवसायमा काम गरिरहेका युवाहरुले अध्ययन अनुसन्धान गरेर नेपालीले नै दर्ता गरेर पनि चलाउन सकिन्छ भन्ने लक्ष्यका साथ सन् २००७ मा ट्रयाङ्क्युलिटी स्पा दर्ता गरिएको अध्यक्ष भुवन फैजु बताउँछन् । त्यस लगत्तै अर्को वर्ष ट्रयाङ्क्युलिटीकाे पहिलो शाखा लाजिम्पाटमा विस्तार भयो । २००९ मा कुपण्डोलमा र २०१० मा बौद्धमा शाखा खोलियो । यसैगरी २०११ मा पोखरा, २०१२ मा होटल बाराही पाेखरा, २०१३ मा होटल मल्ल, २०१४ मा र्याडिशन होटलमा शाखा विस्तार भयो । २०१५ मा ट्रयाङ्क्युलिटी स्पाले मलेशियामा रहेको एउटा स्पा लाई प्रविधिक सहयोग गर्यो । पाेखराकाे ट्रयाङ्क्युलिटी स्पा हाल हाेटल सराेवर लेकसाइडमा अत्याधुनिक सेवा सुबिधा सहित सञ्चालित छ ।

यो शाखा विस्तारको श्रृङ्खला २०१६ मा होटल साङ्ग्रिला, २०१७ मा होटल लर्ड्स इन, २०१८ मा होटल सोल्टी २०१९ मा बालुवाटारसम्म जारी रह्यो । २०२० यता भने कोरोनाका कारण बिस्तारकाे श्रृङ्खला राेकिएकाे छ । हाल यिनै शाखाहरुबाट ट्रयाङ्क्युलिटी स्पाले आफ्ना विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।

भुवन फैजु: अध्यक्ष, ट्रयाङ्क्युलिटी स्पा

के हो स्पा तथा वेलनेस व्यवसाय ?

स्पा तथा वेलनेस व्यवसाय हाम्रै समाजमा धेरै समयदेखि चल्दै आएको प्राकृतिक चिकित्साको आधुनिक रुप हो । यसबाट शरीरमा रहेका विभिन्न रोग निको हुने र नियमित सेवा लिँदा कतिपय रोग लाग्नबाट बच्न सकिन्छ । प्राकृतिक चिकित्साको क्षेत्र बृहत् हुने भएकाले स्पा तथा वेलनेस व्यवसायमा त्यसकै केही अंश हुने गर्दछ । स्पा तथा वेलनेस अंग्रेजी नाम भए पनि यो पद्धति विशुद्ध रुपमा हामै नेपाली माटोमा रहेको उपचार पद्धतिको आधुनिक स्वरुप भएको अध्यक्ष फैजुको धारणा छ ।

यसअन्तर्गत विशेषगरी मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी र योग तथा ध्यान पर्दछन । ट्रयाङ्क्युलिटी स्पाले सोल्टी होटल लगायत आफ्ना सबै शाखाहरुमा यी सेवाहरु उपलब्ध गराएको छ । तर यसबाहेक जिम, जुम्बा, स्टिम तथा ज्याकुजी लगायतका अन्य सबै सेवाहरुका लागि पर्याप्त ठाउँ आवश्यक पर्ने हुनाले सबै शाखामा यी सबै सुविधा उपलब्ध नहुन सक्छन् । कुनै विशेष सुविधा चाहिएको खण्डमा नजिकैको अर्को आउटलेटमा बुझेर लिन सकिन्छ ।

नेपाली स्पाको विदेशमा शाखा

सन् २०१५ मा मलेसियाको एउटा नाम चलेको होटल मेरियाेटले स्पा को प्राविधिक सहयोग माग गरेपछि ट्रयाङ्क्युलिटी स्पाले प्राविधिक सहयोग प्रदान गर्यो । पछि उक्त होटलले ट्रयाङ्क्युलिटी स्पा ब्राण्डकै नाम प्रयोग गर्न थाल्याे । उक्त होटल सन् २०१९ मा मलेसियाभरिका होटलमध्ये सर्वोत्कृष्ट स्पा होटल घोषित भयो । अहिले पनि ट्रयाङ्क्युलिटी स्पा मलेशियाबाट आसियानमा छनौट भएको छ । ट्रयाङ्क्युलिटी स्पाले नेपालको सेवा व्यवसाय विदेशमा पनि फैलन र चर्चा कमाउन सक्छ भन्ने ज्वलन्त उदाहरण पेश गरेको छ ।   

स्पा तथा वेलनेसमार्फत् वेलनेस पर्यटन

ट्र्याङ्क्युलिटी स्पाले स्पा तथा वेलनेस व्यवसायमात्र नभई समग्र देशमा वेलनेस पर्यटनलाई बढावा दिने उद्देश्य पनि बोकेको छ । लोभलाग्दो हावापानी र प्राकृतिक सुन्दरता भएको हाम्रो स्वर्गजस्तो देशमा वेलनेस पर्यटनको प्रचुर सम्भावना रहेकाले ट्रयाङ्क्युलिटी स्पाले नगरकोट तथा पोखराको दोबिल्ला क्षेत्रका होटल तथा रिसोर्ट सँग मिलेर वेलनेस पर्यटन प्रवर्द्धनको काम शुरु गरिसकेको छ ।

लक्षित समूह

विशेषगरी ट्रयाङ्क्युलिटी स्‍पाका अधिकांश शाखा होटलभित्रै भएकाले मुख्य लक्षित वर्ग विदेशी पर्यटक भएको जस्तो भान हुन्छ । तर स्पाले विभिन्न दरका अलग अलग सेवाहरु उपलब्ध गराउने र होटलबाहिर समेत शाखाहरू रहेकाेले मध्यम वर्गिय ब्यक्तिहरु लक्षित वर्ग रहेको कंपनीकाे भनाइ छ ।   

हेर्ने दृष्टिकोणमा परिवर्तन

स्पा तथा वेलनेस अन्तर्गतका प्राय सबै सेवा सेवाग्राहीका शरीरमा छोएर दिइने खालका हुन्छन् । विभिन्न सेवाहरुमध्ये मसाज थेरापी पनि पर्दछ । सर्वसाधारणमा मसाज भन्नेबित्तिकै नकारात्मक र यौन व्यवसायसँग जोडिएको सेवा भन्ने गलत अवधारणा व्याप्त छ । तर शरीरमा छोएर गरिने व्यवसायमा आफ्नो व्यावसायिक नीति नियम र परिधिमा रहेर काम गर्दा नकारात्मक हिसाबले सोच्नुपर्ने अवस्था नरहेको स्पाले प्रमाणित गरेको छ ।

ट्रयाङ्क्युलिटी स्पाले स्पा तथा वेलनेस व्यवसायीहरुको संगठनको आचारसंहिता भित्र रहेर सेवा प्रदान गर्दै आइरहेकोले सेवाग्राही तथा सर्वसाधारणमा पहिलेको भन्दा सोचमा निकै परिवर्तन आएको पाइएको छ । 

यो क्षेत्रमा काम शुरु गर्ने समयमा भन्दा अहिलेसम्म आइपुग्दा सेवाग्राहीहरुलाई सर्वस्वीकार्य र गुणस्तरीय सेवा प्रदान गर्नमा आफ्नो ध्यान केन्द्रित गरेकाले सर्वसाधारणको नकारात्मक सोच सकारात्मकमा परिवर्तन हुदै गको ट्रयाङ्क्युलिटी स्पाको अनुभव छ ।

संगठनकै अन्तर्गत एक आपसमा हातेमालो गर्दै र सर्वसाधारणमा अझै बाँकी रहेका सन्देहहरुलाई चिर्दै स्पा तथा वेलनेस व्यवसायलाई भविष्यमा एउटा पूर्णरुपमा सम्मानजनक पेशा वा व्यवसायका रुपमा चिनाउनेतर्फ संस्था केन्द्रित भएर लागिपरेको छ । 

यो क्षेत्रमा अवसर धेरै भए पनि प्रतिस्पर्धा खासै देखिएको छैन । नेपालमा वेलनेस व्यवसाय फस्टाउनका लागि अझै थुप्रै व्यवसायी यो क्षेत्रमा आउन जरुरी देखिन्छ । स्वच्छ प्रतिस्पर्धा गर्ने, एक अर्काको खुट्टा नतान्ने र एक अर्कालाई सहयोग गर्दै जान सके अझै थुप्रै स्पा तथा वेलनेस व्यवसाय राम्रैसँग फस्टाउने अवसर नेपालमा रहेको छ ।

राेजगारीकाे अवसर

स्पा तथा वेलनेस क्षेत्र निकै बृहत् र फराकिलो छ । काम सिक्ने, गर्ने र नेपालमै वा विदेशमा अझ बढी सेवा सुविधासहितको पदमा काम गर्ने अवसर यो क्षेत्रले प्रदान गरिरहेकाे छ । काम सिक्न र लगनशील भएर काम गर्न खोज्नेका लागि यो क्षेत्रमा अवसर सधैं उपलब्ध छ ।

सामान्य कक्षा १२ सकेका र काम गर्न इच्छुक युवा युवतीहरु यो क्षेत्रमा लाग्न सक्छन् । कुनै विशेष तालिमको आवश्यकता पर्दैन । संस्थाले नै आवश्यक तालिमको व्यवस्था गर्छ । लगनशील भएर काम सिक्ने र काम गर्ने हो भने सामान्य हिसाबले आफ्नो पढाई तथा व्यक्तिगत खर्च धान्न पुग्ने आम्दानी गर्न सकिन्छ । ट्रयाङ्क्युलिटी स्पाले तालिममार्फत् नेपालमै तथा विदेशमा पनि स्पा तथा वेलनेस व्यवसायमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको छ ।