गरिमा बैंकले ल्यायो वैदेशिक रोजगार आईपीओ खाता

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ पुस । गरिमा विकास बैंकले वैदेशिक रोजगार आईपीओ खाता सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यो विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बैकिङ एवं सेयर मार्केटसम्म पहुँच पुर्याउने उद्देश्यले ‘फरेन इम्प्लोयमेन्ट आईपीओ अकाउन्ट‘ अर्थात् वैदेशिक रोजगारी आईपीओ खाता सञ्चालनमा ल्याएको हो ।

बैंकको संस्थागत मामिला विभाग प्रमुख भोला प्रसाद तिवारीका अनुसार नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशन अनुसार प्राथमिक सेयर निष्कासन (आईपिओ) जारी गर्ने संस्थाले १०% शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था अनुसार त्यसलाई आवश्यक पर्ने सिआस्बा सुविधा दिन यो खाता सञ्चालनमा ल्याइएको हो ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सजिलै यो विकास बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुविधामार्फत यो खाता खोलेर डिम्याट, सिआस्बा र मेरो सेयरको सुविधा प्राप्त गर्न सक्ने उनको भनाइ छ । यसबाहेक पहिले नै गरिमा बैंकमा बचत तथा अन्य खाता हुने ग्राहकहरुले पनि सजिलै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाइएको छ ।

हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै डिजी बटुवा, डेबिट-क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ र अनलाइन खाता मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।