
मकवानपुर, ८ पुस । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएपछि गत मंसिरको पहिलो हप्ताबाट उत्पादन बन्द गर्नुपरेकोमा आजबाट पुन: सञ्चालनमा आएको उद्योगले जनाएको छ ।
विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्भार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।
नेपाल सरकारले २०३२ सालमा स्थापना गरेको हेटौँडा सिमेन्ट उद्योगले २०४३ मंसिरदेखि व्यावसायिक रुपमा उत्पादन सुरु गर्दै आएको थियो । सो उद्योगबाट अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन हुने गरेको छ ।
उद्योगले आफ्नै परिसरभित्र केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौँडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो आएको थियो । अहिले भने धुलो बाहिर निस्किने प्रक्रियालाई नियन्त्रण गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।
सो उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौँडालगायत काठमाडौँ, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत सहरमा बिक्रवितरण भइरहेको उनले बताए ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



