
पोखरा, १० पुस । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो-भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उनीहरुले नेपालको अर्थतन्त्रका बारेमा आ-आफ्ना धारणा राखे । त्यसमध्ये डा. स्वर्णिम वाग्लेको धारणा यहा उल्लेख गरिएकाे छ ।
हामी सन् २०२२ को डिसेम्बरमा छौँ । १९७२ को डिसेम्बरमा ठ्याक्कै ५० वर्षअघि नेपालमा योजना किन असफल भनेर एक जना क्यालिफोर्निया विश्वविद्यालयका विज्ञ आएर तीन वटा आवधिक योजनापछि चौथो चलिरहँदा त्यो लेखेका थिए । उनले त्यसमा ५ वटा विषय उठाएका छन् ।
एउटा विकास प्रशासनको क्षमता कमजोर, भौगोलिक विकटताले सूचनाको अभाव थियो । अहिले नेपाल सरकारले हिजो साँझसम्म कहाँ कति खर्च गर्यो भनेर हेर्न सक्नुहुन्छ । कुन नाकाबाट कति पैसा उठ्यो भन्ने पनि आइसकेको छ । त्यतिबेला डाटा आउनै समस्या हुन्थ्यो ।
योजनाको तयारी एकदमै कमजोर रहेको उनीहरुले लेखेका छन् । उनीहरुले दातृ सहयोग पनि सदुपयोग गर्न नसकेको भनेका छन् । अर्थमन्त्रालयको भूमिका भनेर आलोचना गरेर ५० वर्षअघि लेखिएको रहेछ । २५ वर्षअघि देवेन्द्ररराज पाण्डेले पनि यस्तै कुरा समेटेर लेख्नुभयो । दातृ सहयोगसँग गासिएका बेथितिबारे उहाँले बढी लेख्नुभएको छ ।
म सन् २०१७ मा राष्ट्रिय योजना आयोगको सदस्य हुँदा ठूला राष्ट्रिय गौरवका आयोजना किन कामै हुँदैनन् भनेर आफैँ प्रतिवेदन पनि लेखेको थिएँ । तर, मैले भन्ने खोजेको ५० वर्षअघि, २५ वर्षअघिको वृत्तान्त पात्रमा फरक भयो होला, साधन स्रोतको सदुपयोग कसरी गर्ने भन्ने अहिले पनि छ ।
सुशासनको पाटो छ । सन् १९९२ मा सिंहदरबार र राजदरबारभित्रको सचिवालयको चर्चा लेखमा छ । पछिल्लो समय पनि सहकार्य, सुशासनको कुरा छ । साधनस्रोत कसरी उत्पादन गर्ने, सदुपयोग कसरी गर्ने, कर्मचारीको क्षमता कसरी विकास गर्ने र सबैलाई चलाउने राजनीतिको कुरा आउँछ ।
अहिले कुशासनसँग कुनियत पनि जोडिएजस्तो लाग्छ । नियत नै खराब हुन थाल्यो । पहिला क्षमता थिएन होला तर यो गरौँ, ऊ गरौँ भन्ने इच्छा थियो । २०६२र२०६३ पछि हाम्रा धेरै अनुशासनका सीमा भत्किएका छन् जस्तो लाग्छ । योसँगै दण्डहीनता, जे गरे पनि हुन्छ भन्ने शासकीय अहंकार, राजनीतिक नेतृत्वमा र राजनीतिक नेतृत्वको संरक्षण पाएको कर्मचारीमा पनि मौलाएकोजस्तो छ ।
कर्मचारीले व्यापारी–उद्यमीलाई गाली गर्ने, चोर भन्ने अनि उद्यमी–व्यवसायीले पनि कर्मचारीलाई यी फटाहा हुन्, कहाँबाट लुट्न सकिन्छ, दोहन गर्न सकिन्छ भन्ने दृष्टिले हेर्ने । नेताहरुलाई पनि त्यही । यो सबैले सबैमा जुन अविश्वासको वातावरण छ त्यसले गर्दा सकारात्मक, कोल्टे फेराउनेतिर सम्भव छ । तर, त्यो सबै कुराको सुरुवात राजनीतिक भिजन भएको नेतृत्व आयो भने हुन्छ
। अविश्वासको वातावरणलाई शंकाको लाभको चरणसम्म पु¥याउन सक्छौँ । हामी यहाँ छौँ, यहाँ पुग्न पर्ने हो भनेर न्यूनतम कुरा गरौँ भनेर टिप्न सकिने नतिजा धेरै ठाउँमा छन् । ६ महिना एक वर्ष गरेर हेरौँ । त्यसले आफैँ सुधारको क्रममा लैजान्छ । सजिलो उत्तर नेताहरुलाई गाली गर्ने नै हो । तर, विश्लेषण गर्दा सबैले चिन्तन–मनन गर्नुपर्ने छ ।
अर्थतन्त्रकै कुरा गर्दा १४–१६ घण्टा काम गरेर कहाँ अड्चन छन् फुकाउनेभन्दा पनि हरेक नियुक्तिमा पैसाको कुरा, हरेक नीति निर्माणमा निचोडतिर ध्यान गएपछि सुधार ओझेलमा परेको छ । सत्पात्रहरु दुई/चार जना प्रधानमन्त्री, अर्थमन्त्री हुने हो भने सही बाटोमा ल्याउन सकिन्छ । एउटा चिनियाँ उखान छ – माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन थाल्छ । माथिबाट ठिक हुनासाथ तल पनि मिल्छ । यति समझदार जनता भएको देशमा धेरै कुरालाई ठिक ठाउँमा ल्याउन सक्छौँ ।
हामीले घोषणापत्रमा (कांग्रेसको) २४ देखि ४८ कानुन संशोधन र खारेजीसम्म भनेका छौँ । त्यो हावामा भनेका हैनौँ । निजी क्षेत्रले उठाएका विषय हुन् । उनीहरुले जे माग्छन् त्यो दिनु हुँदैन किनकि निजी स्वार्थ पनि हुन्छन् । तर, देशको हितमा छ भने त्यो गर्नुपर्छ ।
आयरल्याण्डमा सन् १९७०–८० तिर यस्तै अविश्वासको वातावरण थियो । ट्रेड यूनियनले रोजगारदातालाई, रोजगारदाताले सरकारलाई गाली गर्ने, सरकारले निजी क्षेत्र चोरडाँका हुन् भन्ने । उनीहरुले दुष्चक्रलाई तोडेर गए त्यसपछि अर्थतन्त्र नै बद्लियो ।
रोजगारी सिर्जना गर्ने, सम्भावना खोज्ने, अन्तर्राष्ट्रिय बजार खोज्ने, राज्यलाई कर बुझाउने निजी क्षेत्र हो । १० वटा नयाँ रोजगारीमा ८ वटा निजी क्षेत्रले नै गरेको हो । प्रतिव्यक्ति आयको हिसाबले १२ सय डलरमा छौँ । नेपालले नेपालसँग दाँज्दा २०/३० वर्षमा धेरै सूचकांकमा प्रगति गरिएको छ ।
हामीजस्तै जस्तै भएको देशको तुलनामा धेरै पछाडि परेका छौँ । त्यसको एउटै कारण कुशासन हो । अहिले थपिएको कुनियतसहितको कुशासन हो । योग्य नेता भएको देशमा स्वविवेकमा छोड्न सकिन्छ । तर, त्यस्तो स्तरको राजनेता नभएको देशमा नियमले नै कस्ने हो ।






काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न… 



