अटो व्यवसायीले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । अटोमोबाइल व्यवसायीहरूले आन्दोलन र वार्तालाई सँगसँगै लैजाने भएका छन् । गत पुस ८ र ९ गते अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा सम्पन्न नाडाको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठकले आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको संभावना आदि विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

चितवनको पार्क सफारी रिसोर्टमा सम्पन्न भेलामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसन बीच अन्तरक्रिया तथा छलफल भएको थियो । भेलामा बैंकहरूको उच्च ब्याज दर लगायत चालु पुँजी कर्जा लागू गरेको, जोखिम भार र एलसी मार्जिन लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।

भेलामा नाडाका १ नम्बर प्रदेश अन्तर्गत रहेको मोरङ्ग अटोमोबाइल डिलर्श एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेश प्रदेश अन्तर्गत रहेको जानकी अटोमोबाइलस एशोसिएशन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेश अन्तर्गत रहेको चितवन अटोमोबाइलस एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतले धारणा राखेका थिए ।

यसैगरी हेटौंडा अटोमोबाइलस एशोसिएशनका अध्यक्ष दामोदर प्रसाद अटल, सुदूर पश्चिम अटोमोबाइल डिलर्श एशोसिएशनका अध्यक्ष पुष्करराज ओझा लगायतले आन्दोलनका सम्बन्धमा आ–आफनो विचार प्रस्तुत गरेका थिए ।

सो भेलाले दोस्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुवैलाई एकैसाथ अघि बढाउने निर्णय समेत गरेको छ । साथै व्यवसायीहरूले राखेको माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेको छ ।

छलफलमा सरकारले विगत ८ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरूका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइलस व्यवसायीहरू धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरूले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको बुझिएको छ ।