प्रधानमन्त्री दाहालले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन

-



     सफल आवाज    
     पौष १७ गते २०७९ मा प्रकाशित



पाेखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गरेका छन ।आज आयोजित भव्य कार्यक्रमबीच दाहालले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन ।

प्रधानमन्त्री दाहालले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अब अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको बताए । दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरेका थिए । प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गरे ।

उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गर्नुभयो । “म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु”, उनले भने । सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

“मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवर्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु” दाहालले भने ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रको अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो । “विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरे । “म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछुँ”, उनले भने ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताएका छन । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताएका हुन ।

विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेकाे ल्याण्डफिल साइटको व्यवस्थापन तथा रिठ्ठेपानी डाँडा कटानको काम पूरा गरेको समेत बताए । उनले विमानस्थल सञ्चालनमा आउनका लागि महानगरअन्तर्गत वडा नं १४ का जनताको ठूलो योगदान रहेको बताएका थिए ।

“वडा नं १४ का जनताले आफ्नो जग्गा अधिग्रहणमार्फत सरकारलाई उपलब्ध गराएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्भव भएको हो”, उनले भने । कार्यक्रममा विमानस्थल निर्माणका परिकल्पनाकार शङ्करराज पाठक र पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको ठूलो योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

तस्बिरहरू: सुनिल पाण्डे, राधिका कँडेल