नेपाली मूलका भण्डारीले लिए अमेरिकी संसदमा शपथ

-



     सफल आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित



वाशिङ्टन डीसी, २८ पुस । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्बली’मा दोस्रो पटक विजयी भएका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ लिएका छन् । नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका हुन् ।

शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीको रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे । ‘म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु’, भण्डारीले थपे । भण्डारीले आफनो कार्यकालय रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राखेका छन् ।

यसअघि आयोजित एक बधाई कार्यक्रममा डा भण्डारीले गीताको सार जस्तै कर्म गर्न आफू लागिरहने बताएका थिए । उनले अगाडि थपे, ‘सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्नेछ ।’ साथमा नेपाली समुदायका अगुवाहरुले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार ७ सय २ मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा उनी विजयी भएका हुन् । भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधयेक संसद्बाट पारित गराउन सफल भएका थिए ।

स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेका भण्डारीले महामारीको बेलामा कसरी जुध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताएका छन् ।

अमेरिकामा एक आप्रवासीको रुपमा नेपालबाट सन् २००५ मा अमेरिका आएका भण्डारीले डेढ दशकभन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराएको अनुभव छ । यस्तै उनले मेरिल्याण्डमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधिसमेत गरेका छन् । नेपालको पर्वत जिल्लाको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको कोखबाट जन्मेका भण्डारी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्दै आएका छन् ।

व्यावसायिक, राजनीतिक र अध्ययनका क्षेत्रमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकीको लागि मात्र नभई एशियाली अमेरिकीहरुको लागि पनि रोचक रहेको छ । आगामी ४ वर्ष भण्डारीले मेरिल्याण्ड राज्यको विधायकको रुपमा काम गरेर आवश्यक पर्ने कानुनको तर्जुमा तथा बजेट निर्माणमा एक विधायकको हैसियतले काम गर्नेछन् ।