नेपालमै अब्बल सफ्टवयर निर्माण गर्दै ‘भक्सक्रो’

-



     साजन सुवेदी    
     माघ ५ गते २०७९ मा प्रकाशित


काठमाडौं, ५ माघ । नेपालमा भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवाहरु प्रदान गर्दै आइरहेको प्रविधि कंपनी हो भक्सक्रो। काठमाडौंको बालुवाटारमा कार्यालय रहेको यो कंपनीले कल सेन्टरहरुका लागि आवश्यक सफ्टवेयर उपलब्ध गराइरहेको छ । विदेशबाट ठूलो रकम तिरेर सफ्टवेयर आयात गर्नुपर्ने बाध्यतालाई कम गर्न योगदान दिइरहेको छ ।

४ वर्षअघि सुशान्त राई र दिपेश रेग्मीको पहलमा यो संस्था स्थापना भएको हो । हाल यो संस्थाले नेपालका विभिन्न कर्पोरेट हाउसहरुका लागि आवश्यक कल सेन्टर व्यवस्थापनसम्बन्धी गेटडेस्क र रिंगेज नामक सफ्टवयर निर्माण गरी उपलब्ध गराइरहेको छ । संस्थापकहरुका अनुसार अहिले ग्राहक सेवा केन्द्र राख्ने भन्नेबित्तिकै गेटडेस्क सफ्टवयरलाई सम्झिने क्रम बढेको छ । गेटडेस्कलाई कम्पनीले सिग्नेचर प्रडक्टका रुपमा लिने गरेको छ । 

के हो रिंगेज सफ्टवयर ?

कुनै पनि कम्पनीले एकैपटकमा धेरै जनासम्म पहुँच राख्नका लागि यो सफ्टवयर प्रयोगमा ल्याउन सकिन्छ । विशेषगरी एकै पटकमा हजारौं लाखौं जनालाई कुनै रेकर्ड गरिएको मेसेज दिनुपर्दा यो सफ्टवयर उपयोगी हुन्छ । कुनै इभेन्ट वा कार्यक्रमका बारेमा तुरुन्तै छोटो समयमा धेरै जनालाई जानकारी दिनुपरेको खण्डमा रिंगेजको प्रयोग गरिँदै आएको छ ।

गेटडेस्क कस्तो सफ्टवयर हो ?

गेटडेस्क धेरै ग्राहक वा सेवाग्राहीको जिज्ञासायुक्त फोन कलहरु दैनिक रुपमा आउने संस्थाले त्यस्ता कलहरुलाई प्रणालीबद्ध रुपमा व्यवस्थित गरी त्यसबारे रिपोर्ट हेर्न र आफ्ना सेवाग्राहीलाई आवश्यक जवाफ वा उनीहरको सुझाव अनुसार आफूलाई परिमार्जन गर्न सकियोस् भन्ने उद्देश्यले तयार पारिएको कल सेन्टर व्यवस्थापन सफ्टवयर हो ।

गेटडेस्क अहिले फोनपे, बुद्ध एयर, फूडमाण्डु, चौधरी ग्रुप, नर्भिक अस्पताल, तिलगंगा आँखा केन्द्र, जाउलाखेल ग्रुप अफ इण्डस्ट्रिज, उपाय सिटी कार्गो, पठाओ जस्ता करिब १२ ओटा उद्योग तथा ८५ भन्दा बढी ठूला कम्पनीले प्रयोग गर्दै आइरहेका छन् ।

यसबाहेक हेलो सरकारजस्तो सरकारी कार्यक्रममा पनि यसको प्रयोग भइरहेको छ । यसमार्फत हालसम्म यो सफ्टवयर चलाउने विभिन्न संस्थाका १२ सयभन्दा बढी प्रतिनिधिमार्फत् दैनिक लाखौं जनासम्म पुगिरहेको छ । संस्थाको गेटडेस्कमार्फत् दैनिक ४ देखि ५ लाख फोन कल व्यवस्थापन हुँदै आएको छ । धेरै जनासँग निरन्तर संवादमार्फत् समस्या समाधान, सामान वा सेवाको बजारीकरण गर्नका लागि गेटडेस्क उपयोगी भइरहेको संस्थापक दिपेश रेग्मी बताउँछन् । 

दिपेश रेग्मी, संस्थापक- भक्सक्रो

गेटडेस्कले हाल अन्तरराष्ट्रिय माध्यमबाट ल्याइएका सफ्टवयरसँगै प्रतिस्परर्धा गरिरहेको छ भने विस्तारै नेपालमा अन्य कम्पनीले पनि यस्ता सफ्टवयर बनाउने तयारी गरिरहेको बुझिएको छ । गेटडेस्कमा शुरुवात देखि जोडिएका संस्थाहरु हालसम्म भक्सक्रोसँग नै आबद्ध रहेका छन् । यी रिंगेज र गेटडेस्क सफ्टवयरमार्फत् भक्सक्रोले बजारमा राम्रो पकड बनाउन सफल भएको छ ।

अनुकरणीय सपोर्ट सिस्टम

सफ्टवयरमा चेन्ज अफ म्यानेजमेन्टमा समस्या हुन्छ । चेन्ज अफ म्यानेजमेन्ट भन्नले सफ्टवयरमा गरिने वा हुनुपर्ने स-साना परिमार्जनलाई बुझिन्छ । अन्तरराष्ट्रिय सफ्टवयर लिँदा भनेको समयमा वा बिदाको दिनमा सपोर्ट नपाइने समस्या व्याप्त थियो । यसैकारण यो समस्या समाधान गर्न भक्सक्रोले पहिलो दिनदेखि नै २४ सै घण्टा सपोर्ट उपलब्ध गराउँदै आएको छ । सानोतिनो परिमार्जन चाहिँदा ग्राहकको पृष्ठपोषण सम्झेर बिना शुल्क नै गरिदिने गरेको छ ।

सफ्टवयर चलाउँदै जाँदा ग्राहक कम्पनीसँग उनीहरुलाई व्यवसायको विश्लेषण गर्न, अटोमेशनमा जान, उनीहरुको टिम र ग्राहकको क्षमता अभिवृद्धि गर्न र सहज हुने के कस्ता परिमार्जन चाहिन्छ त्यसका बारेमा निरन्तर सम्वाद गर्दै सुझाव आए अनुसार संस्थाले सफ्टवयरमा नयाँ नयाँ परिमार्जन गर्दै जाने गरेको छ ।  

सफ्टवयर कम्पनीको भविष्य राम्रो देख्छन् संस्थापकहरु । नेपाल र नेपालभित्र रहेका समस्यालाई सफ्टवयरका माध्यमबाट समाधान गर्ने क्रम जारी राख्यो भने यस्ता कम्पनीहरुको भविष्य निकै उज्जवल रहेको देखिन्छ । सफ्टवयर तथा त्यसपछिको सपोर्टका लागि लाखौं डलर विदेशिइरहेको अवस्थामा  नेपालको अर्थतन्त्र वृद्धिका लागि पनि यस्ता सफ्टवयर नेपालमै बन्नुपर्ने देखिन्छ । 

चुस्त व्यवस्थापन

संस्थापकद्वय दिपेश रेग्मी र सुशान्त राई संस्थापकका रुपमा काम गरिरहेका छन् भने पूर्व बैंकर उदयराज खतिवडा तथा आयात निर्यात व्यवसायी कोमल अग्रवाल भने संस्थाबाहिरै बसेर संस्थाको उन्नति प्रगतिका लागि योगदान दिइरहेका छन् । 

शुरुमा डेढ वर्षजति विभिन्न संस्थाहरुलाई डिजिटल कम्युनिकेशनका हिसाबले कल सेन्टरको सुविधा उपलब्ध गराएपछि चारै जना संस्थापकहरुबीच गैर सरकारी संस्थाको फिल्ड सर्भे गर्ने औजारका रुपमा आईभीआर अर्थात् आवाजमा आधारित सफ्टवेयर बनाउने निधो गरेर भक्सक्रोले यी सफ्टवयरहरु निर्माण र बिक्री वितरण थालेको हो ।

भ्वाइसमा आधारित सेवा नै किन त ?

लेखेका मेसेज (सन्देश) नेपाली वा अंग्रेजीमा हुने र नेपाल भाषा र संस्कृतिका हिसाबले निकै विविधतायुकत भएकाले सबैलाई उपयुक्त हुने देखिएन । यसको एक मात्र विकल्प आवाज वा बोली देखियो ।

संस्थापक मध्ये एक सुशान्त राई १८ वर्षदेखि भिओआईपीको क्षेत्रमै काम गरिरहेको र आफ्नै आवाज, भाषा तथा लवजमा बोलेर रेकर्ड गराउन मिल्ने भएकाले फरक फरक भाषाभाषी भएका ठाउँका लागि त्यहीँको लवजमा सन्देश दिन पाएको खण्डमा दिएको सन्देश सही रुपमा पुर्याउन सकिने उनले देखे । यसै अनुरुप भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवा शुरु गर्ने प्रेरणा मिलेको संस्थापक राई बताउँछन् ।

त्यतिबेला कम्पनीहरुले साधारण फोन कल व्यवस्थापनका लागि एनालग प्रविधि प्रयोग गरिरहेकाले रिपोर्टलगायतका कुराहरुहसित कल व्यवस्थापनमा कठिनाई देखिएकोले यसको निर्माण गरिएको हो ।

सुशान्त राई, संस्थापक भक्सक्रो

भविष्यको योजना

भविष्यमा गेटडेस्क र रिंगेजलगायत अन्य उपयोगी सफ्टवेयरहरु बनाएर त्यसैलाई बिक्री गर्ने योजना भक्सक्रोको रहेको छ । यसबाहेक हेल्पडेस्क प्रणाली स्थापना गरी अन्य फेसबुक, ह्वाट्सएपजस्ता सञ्चारका माध्यमहरु जोडेर बिजनेस अपरेशन म्यानेजमेन्ट टेक्नोलोजी चलाउने पनि योजना रहेको छ । आन्तरिक कार्यालय व्यवस्थापन सफ्टवयर पनि ल्याउने संस्थाको तयारी छ । 

कम्पनीले सफ्टवयर मात्र बिक्री गर्ने नभई आफ्ना ग्राहक कम्पनीका आधारभूत समस्या समाधानमा पनि जोड दिन्छ । यसबाहेक ग्राहक सेवा केन्द्र स्थापनाका लागि आवश्यक प्रविधि र टेलिफोन सेवाहरुमा उपलब्ध अब्बल प्रविधि चयन गर्न सघाउ पुर्याउँदै सञ्चालनसम्बन्धी ज्ञान पनि दिन्छ ।

कम्पनीहरुले सफ्टवयर चलाउने मानव संशाधन माग गरेमा भक्सक्रोले उपलब्ध गराउँदै आएको छ । यसका साथै नेपालमा बोलिने भिन्न भिन्न भाषाभाषीसँग कुरा गर्दा, प्रविधि नबुझ्ने तथा प्रयोग गर्ने खालका सेवाग्राहीलाई सम्बोधन गर्ने तरिका लगायतका सफ्ट स्किलहरु पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ ।

भक्सक्रो टोली

२०१८ मा ५ वटा कम्पनीसँग काम गरेको संस्थाले सन्तुष्टिसहितको सेवा प्रदान गर्दै पुरानालाई निरन्तरताका साथमा नयाँ उद्योग र कम्पनीहरु थप्दै हाल ८५ भन्दा बढी पुर्याएको छ । यसैगरी प्रत्यक्ष रुपमा ४२ जना र अप्रत्यक्ष रुपमा विभिन्न उद्योगमा स्थापित कल सेन्टरहरुमार्फत् १२ सयभन्दा बढी रोजगारी सिर्जना गरिरहेको छ ।

सरकारको भूमिका 

सरकारले इन्टरनेटको मूल्य घटाउने, बिजुलीको मूल्य घटाउने र उपलब्धता बढाउने, भाडा व्यवस्थापन गर्ने, नेपाली सफ्टवयर अंगाल्न भूमिका खेल्ने, सरकारी टेन्डरहरुमा एकरुपको मानक वा स्ट्याण्डर्ड बनाउने, जीटुजी सम्बधमार्फत् अन्य देशमा सोझै सफटवयर बेच्न सक्ने परिपाटी बनाएर सहयोग गर्नुपर्ने देखिन्छ ।

यसबाहेक नवप्रवर्तनलाई आर्थिक सहयोग गर्ने, ऋणको प्रक्रिया सहज बनाउने, गैर सरकारी संस्थाहरुलाई नेपाली सफ्टवयर नै प्रयोग गर्न प्रोत्सिहत गर्न सके लाखौं  डलर फिर्ता जान रोकिएर नेपाली सफ्टवयर कम्पनी फस्टाउने, अझ बढी रोजगारी सिर्जना हुने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान पुग्ने संस्थापक रेग्मीको भनाइ छ । (वार्तामा आधारित)

भिडियो सामग्री