वीरगञ्जका विद्यार्थीलाई साहिब दरबारले बाँड्यो न्यानो कपडा

-



     सफल आवाज    
     माघ ५ गते २०७९ मा प्रकाशित



वीरगञ्ज, ५ माघ । साहिब दरबार सेवा संस्थानले वीरगञ्जको २ वटा विद्यालयको आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीलाई स्वेटर वितरण गरेको छ ।

संस्थानले वीरगञ्जको वडा नम्बर ४ मा रहेको सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय र र वडा नम्बर १६ मा रहेको इनर्वा मक्तममा अध्ययनरत कक्षा नर्सरीदेखि ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा स्वेटर उपलब्ध गराएको हो ।

कन्या माध्यमिक विद्यालयमा १ सय ५० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको संस्थाका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । बुधबार एक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो ।

सैगरी इनर्वा मक्तममा पनि १ सय ५० जना विद्यार्थीलाई स्वेटर प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष जुनुमाया त्वायनाले जानकारी दिइन् । उनका अनुसार कन्या विद्यालयकी शिक्षिका अन्नपूर्ण मानन्धरको विशेष पहलमा दुवै विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा उपलब्ध गराइएको हो ।

संस्थाले जाडोमा न्यानो बनाउने अभियानअन्तर्गत आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको बताएको छ । यस अघि संस्थानले सडक पेटी र खुला आकासमा रात बिताउन बाध्य विपन्नहरुलाई कम्बल उपलब्ध गराउनुका साथै मानव सेवा आश्रममा आश्रितहरुलाई पनि न्यानो कपडा र कम्बल उपलब्ध गराएको थियो । स्वेटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक समितिका पदाधीकारी, संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।