
काठमाडौं, ६ माघ । विज्ञान शिक्षक समाज नेपाल-स्टानले उत्कृष्ट १० विज्ञान शिक्षकहरूलाई थाईल्याण्ड पठाएको छ । स्टान रनेपाल पोलिमर इन्स्टिच्यूट-एनपीआईको सहकार्यमा थाईल्याण्डको चियाङ्ग राई शहरमा आजदेखि ८ गतेसम्म सञ्चालन हुने स्मल स्केल केमिस्ट्री मास्टर ट्रेनर्स ट्रेनिङमा सहभागी हुन ती १० शिक्षकलाई थाईल्याण्ड पठाइएको हो ।
नेपाल लगायत ५ देशका ५० शिक्षकहरूको लागि थाईल्याण्ड केमिकल सोसाइटी र आईयूपीएसी थाईल्याण्डले आयोजना गरेको सो तालिममा जान बैंकक बैंकले समेत सहयोग गरेको बताइएको छ । अघिल्लो महिना देशभरीबाट १ सयजना विज्ञान शिक्षकहरूलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान-नास्टमा तालिम दिई त्यसबाट उत्कृष्ट १० विज्ञान शिक्षकहरूलाई छानिएको थियो ।

यो तालिमबाट फर्किएपछि नेपालमा ७७ जिल्लामै उनीहरूले विज्ञान शिक्षकहरूलाई तालिम दिन लगाउने उद्देश्य रहेको स्टानका केन्द्रीय सचिव मनोज आचार्यले जानकारी दिए । प्रस्थान गर्नुअघि एक कार्यक्रम बीच स्टान केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान तथा एनपीआई अध्यक्ष प्रा. डा. रामेश्वर अधिकारीले सहभागी विज्ञान शिक्षकहरूलाई बिदाई गर्दै शुभकामना व्यक्त गरेका थिए ।