२ वटा एसयूभी नेपाल ल्याउने तयारीमा सिजी मोटोकर्प

-



     सफल आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ माघ । सिजी मोटोकर्पले केही हप्तामा दुई वटा नयाँ एसयूभी नेपाल भित्र्याउने भएको छ । मारुती सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले भारतमा उत्पादन भएको ग्राण्ड भिटारा र नयाँ जेनेरेशनको ब्रेजा ल्याउने तयारी थालेको बुझिएको छ ।

गाडीहरु माघको अन्तिमसम्ममा बिक्री सुरु कम्पनीको योजना छ । ब्रेजा अहिलेकोभन्दा केही महंगो हुने अनुमान गरिएको र यसमा पहिलो पटक सनरुफ पनि दिइएको छ ।

ब्रेजाको नयाँ जेनेरेशनमा १.५ लिटर, फोर सिलिण्डर इन्जिनलाई निरन्तरता दिइएको छ । अहिले थप माइल्ड हाइब्रिड टेक्नोलोजी दिएको कारण यसको माइलेज पहिलेभन्दा धेरै आउने कम्पनीको दावी छ ।

भारतमा यो मोडल ६ महिना अघि नै विक्री सुरु भएको थियो भने आयात प्रतिबन्धको कारण नेपाल ल्याउन सकिएको थिएन । नयाँ ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरब्याग दिइएको छ ।

कम्पनीले नेपाल ल्याउन लागेको अर्को मोडल ग्राण्ड भिटारा अल न्यू मोडल हो । यसअघि नेपालमा जापानबाट ल्याएर ग्राण्ड भिटारा बिक्री हुने गरेकामा भारतमा उत्पादन सुरु भएसँगै ग्राण्ड भिटारा नेपाल आउन लागेको बताइएको छ ।

ग्राण्ड भिटारामा इन्टेलिजेन्ट हाइब्रिड इन्जिन र माइल्ड हाइब्रिड टेक्नोलोजी प्रयोग भएको छ । यी दुवै इन्जिनमा भिटारा नेपाल आउने अनुमान गर्न सकिन्छ । ग्राण्ड भिटारा टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ ।

टु ह्वील ड्राइभ सिस्टम भएको भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । उक्त इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दावी गरेको छ । यसमा ई–सिभीटी गियरबक्समा उपलब्ध रहेको बताइएको छ ।