
काठमाडौं, ११ माघ । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिनामा नेपालमा पौने ५ अर्बभन्दा बढीको चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ । विद्युतीय सवारी आयातबाट राज्यले यो अवधिमा १ अर्ब ३९ करोड ४६ लाख ७५ हजार राजस्व आम्दानी गरेको छ ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरका १ हजार ७४९ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् । यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान रहेका छन् । यो सूचीमा विद्युतीय मोटरसाइकल, स्कुटर तथा तीन पाङ्ग्रे सवारीलाई समावेश गरिएको छैन ।
नेपाल भित्रिएका समग्र १ हजार ७४९ थान विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट १ हजार २ सय ८० थान आयात भएको छ । त्यसपछि अर्को छिमेकी राष्ट्र चीनबाट २४१ थान तथा दक्षिण कोरियाबाट २ सय २१ थान विद्युतीय गाडी आएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी अमेरिकाबाट ४ थान र इन्डोनेसियाबाट ३ थान विद्युतीय सवारी भित्रिएको छ ।

चीनबाट आयात भएकोमध्ये २२३ थान १०० किलोवाट क्षमतासम्मको कार, जीप तथा भ्यान रहेको छ । उक्त परिमाणको सवारीको मूल्य ४९ करोड ८३ लाख ३९ हजार रहेको छ । यसै अवधिमा चीनबाट १४ थान १०० देखि २०० किलोवाट क्षमतासम्मको कार, जीप तथा भ्यान आएको छ जसको मूल्य ५ करोड ६४ लाख ७८ हजार रहेको पाइएको छ । यस्तै चीनबाट नै २ करोड १९ लाख ६८ हजार बराबरको २ वटा २०० देखि ३०० किलोवाट क्षमताको विद्युतीय सवारी आएको छ ।
यसैगरी भारतबाट आयात भएका १ हजार २ सय ८० थान विद्युतीय सवारी साधनमध्ये सबै १०० किलोवाट क्षमतासम्मका कार, जीप र भ्यान रहेका छन् । तिनीहरुको समग्र मूल्य ३ अर्ब ४६ करोड ८३ लाख ३४ हजार रहेको छ ।