गण्डकीका कानूनमन्त्री गाहामगरद्वारा पदभार ग्रहण

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


कास्की, ११ माघ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा मंगलबार नियुक्त भएका गाहामगरले आज पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री गाहामगरले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारीसँग सम्बन्धित विषयमा आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रियालाई अगाडि बढाउने निर्णय गरे ।

पदभार ग्रहणसँगै उनले मन्त्रालय परिसरमा वृक्षारोपण र गण्डकी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाटसमेत गरेका थिए । गत पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले मंगलबार मन्त्रालयलाई पूर्णता दिएका हुन् ।