
नवलपुर, २५ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम ४ वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै सकिएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति ४ वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले ३ सय ८६ दिन म्याद थप गराएको छ । “सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो”, इन्जिनियर दिष्टीले भने, “म्याद थप भएको छ महिनामा थप ७ प्रतिशत भौतिक प्रगति भएको छ ।” अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताए ।
नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए । “अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरु भइरहेका छन्”, उनले भने, “गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा कालोपत्रको काम गरिएको छ ।”
भेँडाबारी क्षेत्रमा एकतर्फी कालोपत्रको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस ९कालोपत्र गर्नुपूर्वको अवस्था०को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताए ।
सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको उनको भनाइ छ । “सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ”, इन्जिनियर ढकालले भने, “बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ ।”
सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताए । यस सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिए ।
“पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ, ५ वटामा निर्माण भइरहेको छ भने २ वटामा काम हुनै बाँकी छ”, उनले भने, “यहाँ १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेको छ । जसमध्ये अहिले बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो ।”
सूचना अधिकारी ढकालले हालसम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको जानकारी दिए । ढकालका अनुसार सडक विस्तारका क्रममा पूर्वी खण्डमा १ अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कुल बजेट ९ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक ९एडिबी०ले उपलब्ध गराउनेछ ।
सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहिना ३ प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताउनुभयो ।
“अहिले हाम्रो साइटमा दैनिक १ हजार बढी कामदारले काम गरिरहेका छन्”, उनले भने, “यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।” पहिले कोभिड, रूख कटान तथा खानेपानीका पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गरिने उनले बताए ।
“परीक्षण कालोपत्र सफल भएपछि अब हामीले थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउँछौँ”, ठेक्का व्यवस्थापक झाले भने, “पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा ४ सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ ।” ठूला पुलहरुमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको भन्दै झाले त्यसमध्ये ६ वटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको उनले बताए । “आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ ।”
यस खण्डमा २ सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन । “दाउन्ने खण्डको ५ किलोमिटरमा ३० वटा कल्भर्ट बन्छन्”, झाले भने, “त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्स्काभेटर प्रयोग गरेर दाउन्नेको भित्तो काट्ने काम भइरहेको छ, भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु गर्छौं ।” यो वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नेगरी काम भइरहेको झाले बताउनुभयो ।
नारायणगढ–बुटवल खण्डको १ सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा ४ लेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा 3 लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार २ सय ३२ रूख काटिँदैछन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




