केटीएम २५० एड्भेन्चरको नेपालमा बिक्री सुरु

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । केटीएम २५० एड्भेन्चरको नयाँ भर्सन नेपाली बजारमा शनिबारदेखि बिक्री सुरु भएको छ । केटीएम मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता हंशराज हुलाचन्द एण्ड कम्पनीले शनिबार हात्तिबनमा एक कार्यक्रम बीच केटीएम २५० एड्भेन्चर २०२३ मोडलको बिक्री सुरु गरेको हो ।

यसअघि कम्पनीले ८ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै आएको केटीएम २५० एड्भेन्चरको २०२३ मोडलमा नयाँ आवरण थपिए पनि कम्पनीले ७० हजार रुपैयाँ घटाएर ७ लाख ५० हजार रुपैयाँमा बिक्री सुरु गरेको हो । यो मोडल यसअघिको तुलनामा नयाँ रंगहरु इलेक्ट्रोनिक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लुमा उपलब्ध गराइएको छ ।

कम्पनीले केटीएम २५० एड्भेन्चरको २०२३ मोडलमा रंग र ग्राफिक्स बाहेक अन्य कुनै प्राविधिक फेरबदल गरेको छैन । यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्ने कम्पनीको दावी छ ।

कम्पनीले यसलाई र्याली डकार रेस मोटरसाइकल केटीएम ४५० बाट प्रेरित डिजाइनमा निर्माण गरिएको बताएको छ । केटीएम २५० मा यसअघिका ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्भर्टेड सस्पेन्सन, मोनोशक, ३२० एमएमको फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचरहरु समावेश गरिएको छ ।