अब काठमाडौं उपत्यकामा सवारीको सीमा प्रति घन्टा ५० किमि

-



     सफल आवाज    
     फागुन ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ फागुन । अबदेखि काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जानकारी दिएको हो ।

यसबाट सामान्य हिसाबले सवारी चलाउने हरुलाई खासै असर पर्दैन भने सम्भाव्य सडक दुर्घटनाको जोखिम पनि कम गर्ने देखिन्छ । तर स्पोर्ट्स मोटरसाइकल तथा अन्य धेरै सीसीमा मोटरसाइकल भएकाहरुलाई भने यो नियमले खिन्न बनाउने निश्चित छ ।

केही समय अघिदेखि प्रहरीले चक्रपथलगायत बढी गतिमा सवारी चलाउनेलाई कारबाहीका लागि राडार गनको प्रयोग गर्दै आइरह्को थियो । तर उक्त उपकरणले सधैं अनुगमन नगरिने भएकाले छड्केका रुपमा मात्रै केही चालकहरु कारबाहीमा पर्ने गरेका थिए । तर अब भने नियम नै लागू भएकाले काठमाडौं उपत्यकाका जुनसुकै स्थानमा पनि तोकिएको भन्दा बढी गतिमा सवारी चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्दछ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको हो ।