पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाइने

-



     सफल आवाज    
     फागुन १५ गते २०७९ मा प्रकाशित



कास्की, १५ फागुन । देशकाे प्रमुख पर्यटकीय सहर पोखराको यातायात व्यवस्थालाई समयानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ । पोखराको हरित यातायात प्रणाली विकास परियोजना र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिबीच यस सम्बन्धमा द्विपक्षीय सम्झौता भएको भएको हो । पोखराको अहिलेको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्धन गर्ने सम्झौतामा उल्लेख छ ।

परियोजनाअन्तर्गत पोखराका ८४ बस रुटमा १ हजार २ सय ८६ स्थानमा बस बिसौनि निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल बनाइनेछ । परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ ।

यसको आधा रकम बस स्टप र बसमा मेसिन जडानमा खर्च हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन । मेयर आचार्यका अनुसार पोखराको मुख्यचोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ ।

यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने भएकाे छ । तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ ।

टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ । पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाकाबारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउनेछन् । अहिले जस्तो कुनैपनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन । चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । महानगर प्रमुख आचार्य यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्ने बताउछन ।

मेयर आचार्यका अनुसार परियोजना सम्पन्न भएपछि बस चढ्ने यात्रुको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहज हुने विश्वास महानगरको छ । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्न परियोजना प्रभावकारी हुने अपेक्षा गरिएको छ ।