बुधबारदेखि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू हुने

-



     सफल आवाज    
     फागुन १६ गते २०७९ मा प्रकाशित


काठमाडौं, १६ फागुन । भोलि फागुन १७ गते बुधबारदेखि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले बुधबारदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचार संहिता लगाउने तयारी गरेको हो ।

आयोगले गत माघ १६ गते गरेको निर्णयअनुसार आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० समेत जम्मा ८ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।

आयोगका अनुसार आचार संहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड-७२,संख्या ३२ मा प्रकाशन भइसकेको छ । आयोगका अनुसार यो आचारसंहित नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी तथा कर्मचारी,सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिका लागि लागू हुनेछ ।

यसबाहेक राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचारसंहिता लागू हुने बताइएको छ । यसै क्रममा राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आज रहेको छ ।