१५ वर्षमा युवा स्वरोजगार कोषले गर्याे १२ अर्ब ९३ करोड लगानी

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । युवा तथा साना व्यवसायी स्वरोजगार कोष आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको यो कोष हाल कुपण्डोल ललितपुरमा रहेको छ। २०६५ साल फागुन १९ गतेबाट औपचारिक शुभारम्भ भएको कोषले आज आफ्नो स्थापनाको १५ औ वर्षमा प्रवेश तथा १४ वार्षिकोत्सव समारोह मनाएको छ।

यसै अवसरमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषलाई यो अवस्थासम्म पुऱ्याउन सहयोग र सहकार्य गर्ने संबद्ध सम्पूर्ण व्यक्ति तथा निकायहरुलाई आभार व्यक्त गरेका छन् ।

राज्यले पहिलो प्राथमिकतामा राखेको यो कोष नेपाल सरकारबाट प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०१३ अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०७७ अनुसार सञ्चालन हुँदै आएको छ ।

कोषले १८ देखि ६० वर्ष उमेर समूहका आर्थिक रुपमा विपन्न बेरोजगार युवा तथा साना व्यवसायीहरुलाई बिनाधितो सुलभ ब्याजदरमा व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशीलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको काेषका कार्यकारी निर्देशक विश्वमाेहन अधिकारी बताउँछन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी

कोषले स्थापनाकाल देखि नै आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदायका व्यक्तिको जीवनस्तर उठाउने लक्ष्य राखेर काम गर्दै आइरहेको छ ।

गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरु तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रतिव्यक्ति दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु मुख्य उद्देश्य रहेको निर्देशक अधिकारीको भनाइ छ ।

यसबाहेक कोषले बिनाधितो स्वरोजगार कर्जा लगानी, सहुलियत ब्याजदरमा कर्जा लगानी, व्यवसायी तथा व्यवसायीको परियोजनाको निःशुल्क बीमा, असल कर्जाग्राहीहरुलाई ६० प्रतिशत ब्याजमा अनुदान प्रदान गर्दै आइरहेको छ ।

कोषले हालसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार लगानी गरिसकेको र हाल ४ अर्ब २४ करोड ६५ लाख ७ हजार ६७५ रुपैयाँ लगानीमा रहेको तथ्याङ्क छ । यसैगरी ३ अर्ब ८३ करोड ८ लाख ८६हजार ७८२ रुपैयाँ विपन्न वर्ग कर्जा प्राप्त गरेको छ भने ८० करोड १८ लाख ८२ हजार ६९१ रुपैयाँ सञ्चिती रकम रहेको छ ।

हालसम्म कोषले लगानी गरेका सहकारी संस्था २ हजार ६५७ वटा तथा लगानी भएका बैंक तथा वित्तीय संस्था ४० वटा, ९५ हजार १६१ वटा स्वरोजगार सृजना गरिसकेको बताएको छ।

अभिमुखिकरण तालिम प्रदान गरिएका व्यवसायी संख्या ४२ हजार ५६३ रहेको छ भने सिपमूलक तालिम प्रदान गरिएका व्यवसायीको संख्या ८ हजार ४४० पुगेको छ। यसैगरी अनुशिक्षण तालिम प्रदान गरिएका संस्थाका पदाधिकारी र सदस्य संख्यास् ६ हजार ७८ र ब्याज अनुदान वितरण गरिएका व्यवसायीको संख्या १४ हजार ६२ रहेको पाइएको छ ।

हालसम्म कोषले १४ करोड ५८ लाख ५५ हजार ३५४ ब्याज अनुदान भुक्तानी गरेको छ । यस्तै कर्जा व्यवस्थापन शुल्क वितरण गरिएका व्यवसायी संख्या २२ हजार ३४४ रहेको कोषले १ करोड ११ लाख ७२ हजार कर्जा व्यवस्थापन शुल्क भुक्तानी गरिसकेको छ ।

देशको ७५ जिल्लामा लगानी पुर्याएको कोषले स्वरोजगार बीमा गरिएका व्यवसायी संख्या ७० हजार ८४५, बीमा क्षतीपूर्ति उपलब्ध गराईएका व्यवसायीको संख्या १ हजार १५६ तथा बीमा क्षतिपूर्ति उपलब्ध गराइएको रकम ६ करोड ९६ लाख ९० हजार ५०१ रुपैयाँ पुगेको जानकारी दिएको छ ।