सजिलो छैन पोर्तुगलमा पनि

-



     प्रकाश सापकोटा    
     चैत्र २१ गते २०७९ मा प्रकाशित



पोर्तुगल, २१ चैत । नेपालमा शैक्षिक बेरोजगारी तथा स्वरोजगारबारे आवश्यक सचेतनाको कमीले धेरैलाई विदेश प्रस्थान गर्ने बाटो देखाउने गरेको छ। कोही पढ्ने निहुँले, कोही आफन्त भेट्ने निहुँले, कोही घुमफिर अनि कोही कुनै न कुनै कार्यक्रममा सहभागी हुने निहुँले विदेश पसेर उतैको कागजात बनाई बसाईलाई लम्ब्याउने गरेको पाइन्छ। यसरी सिर्जनशील युवा विदेश पलायनले देशलाई घाटा छ भनेर थुप्रै विद्वानहरूले भनिसक्नु भएको छ, लेखिसक्नु भएको छ।

तर पनि बिदेशिनेको संख्या घट्नुको साटो बढेर गएको तथ्यांक छ। त्यसमा पनि अष्ट्रेलिया, अमेरिका, क्यानडाभन्दा अलिक धेरै उपाय लगाएर छिर्न सकिने भएर पनि होला, युरोप प्रति नेपालीहरूको आकर्षण बढी देखिन्छ। चिनजानका आफन्त, साथीभाइ, इष्टमित्रहरूले बिदेश पस्ने इच्छा व्यक्त गर्दा देशमै अवसर खोज्न सल्लाह दिने गरेको छु।

त्यस्तो सल्लाह दिँदा विदेशमा‌ टिक्न सजिलो नहुने र स्वदेशबाट अनुमान गरेर आएजस्तो आम्दानी र जिन्दगानी सहजै नहुने बताउने गरेको छु। प्रश्न पाउँछु- उसो भए आफू चाहिँ परिवारै लिएर कसरी अडिएको त ? भन्न त भन्छु- ‘परिबन्धले, बाध्यताले’ । ‘ए…’ भनेर ओठ चाहिँ लेप्र्याएकोबाट थाह हुन्छ- धेरैजसोले पत्याउनुहुन्न र स्वीकार्नुहुन्न ।

खासमा आफू बिदेश पसेर उतै अड्किनु परेपछि आफूले गरेको संघर्ष र भोगाइका अनुभवहरूले त्यस्तो भनेको होला भन्ने कोणबाट प्राय:ले सोचिदिनुहुन्न। खास सोच्नुपर्ने त्यसरी हो। तैपनि जुनसुकै हालतमा बिदेश गएरै छोड्ने ढिप्पी कस्नेका लागि युरोप ओर्लिएपछि पठाउने सजिलो बिकल्प थियो- पोर्तुगल।

नेपालबाट कन्सल्टेन्सीका मीठा कुराको भर परेर अध्ययनको बहानामा आफू बसेको देश आइपुग्ने केही कलिला भाइबहिनीहरू काम पाइएन, कोठा पाइएन, कलेजको फी तिर्न मुस्किल पर्यो भन्दै गुनासो लिई आएमा ‘पोर्तुगल जाऊ’ भनिदिने गर्थें, जहाँ गएर संघर्षले चार-पाँच वर्ष कटाउन सके त्यहाँको पासपोर्ट लिएर युरोपका अन्य देशमा गई आयआर्जन गर्न सम्भव थियो।

वर्षौँदेखि कत्तिले यही गर्दै आएका छन्। तर यतिबेला त्यही पश्चिम युरोपेली देश पोर्तुगल संकटबाट गुज्रिरहेको कारण नेपालीहरुको युरोप सपनाको विकल्प साँघुरिएको छ। यतिखेर पोर्तुगलमा आवासको व्यापक संकट भएपछि आन्दोलन चर्किएको छ। आवास सँगै रोजगारीको संकटले गाँजेपछि जनजिविका कष्टकर बन्न थालेको छ। फलत: राजधानी सहर लिस्बन लगायत बिभिन्न सहरहरु आन्दोलनका कारण तनावग्रस्त छन्।

भाडामा बसिनसक्नु महंगो पर्न थालेपछि तथा आवास खरिदका लागि समेत मूल्य आकासिएपछि ‘होम टु लिभ’ लगायतका आन्दोलन चर्किएका हुन् । आन्दोलन चर्किएसँगै हिंसा बढ्ने खतरा पनि छ। बिभिन्न प्रदर्शनमा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका समाचार समेत बाहिरिन थालेका छन्। केही महिनादेखि शान्तिपूर्ण रुपमा शुरु भएको आन्दोलन विस्तारै भड्किन थालेको खबर आइरहेका छन्। स्रोतका अनुसार सन् २०१५ यता पोर्तुगलमा घरभाडा ६५ प्रतिशत सम्मले बृद्धि भएको पाइएको छ भने घरका मूल्य १सय ३७ प्रतिशतले बढेको उल्लेख छ।

औसत मासिक आम्दानी भने एक हजार युरो भन्दा कम तर बस्नलाई मात्र झण्डै चौध सय युरो भन्दा बढी पर्ने भएपछि रोजगारी भएका धेरैलाई समेत टिक्न गाह्रो भएको छ। ठाउँ ठाउँमा आन्दोलनले पोर्तुगिज र आप्रवासी बीच समेत तनाव बढाएको खबर छ। बिशेषत: एसियाली मुलुकबाट आप्रवासी ओइरिएकाले स्थानीयलाई रोजगारी र आवासमा समस्या परेको भन्दै अन्य देशबाट बसाइँ सरेर पोर्तुगल गएकाहरू माथि कतै कतै आन्दोलनकारीहरु जाइलाग्न थालेका जानकारी पाइएको छ। यो फैलियो भने आन्दोलनले अझ भयङ्कर रुप लिने अन्दाज गरिँदैछ।

अन्य मुलुकमा भन्दा स्थायी बसोवासको कागजात सजिलो बन्ने भन्दै युरोपका अन्य देशबाट पोर्तुगल छिर्ने नेपालीहरुको संख्या ब्यापक छ। एक तथ्याङ्क अनुसार पोर्तुगलमा नेपालीको संख्या २१ हजार भन्दा ज्यादा छ। तर कागजातको प्रक्रियामा रहेका र अवैधानिक समेत बसेकाको संख्या हज्जारौंमा बढी भएको जानकारहरु बताउँछन् ।

आवास र रोजगारी संकटको बिरोधमा केहि समयदेखि चलिरहेको आन्दोलनले दिन प्रतिदिन उग्र रुप लिन थाल्यो भने र एसियाली मुलका आप्रवासी माथि स्थानीयहरुको टकराव बढ्यो भने नतीजा भयङ्कर हुनसक्ने पिरलो नेपाली समाजलाई संकट माथिको अर्को संकट भएको छ। त्यसो त विश्व आर्थिक संकटको झड्काले यतिखेर कसैलाई छोडेको छैन।

युरोप भरि नै घरभाडा, यातायात खर्च र खाद्यान्नको मुल्यमा उच्च बृद्धि भएको छ। मूल्यवृद्धिको तुलनामा कर्मचारीको तलब भने खासै नबढ्नाले दैनिक जिवनयापनमा अप्ठ्यारो शुरु भएको छ। कोरोना महामारीका एकपछि अर्को लहर, त्यस लगत्तै रुस र युक्रेन बीचको घम्साघम्सीले सिङ्गो युरोपलाई थङ्थिलो पार्दै गएको छ। धनी भनिएका देशहरू पनि नागरिकलाई दिइने सहायता प्याकेजमा कन्जुस्याइँ गर्नुपर्ने बाध्यकारी नीति उन्मुख छन्।

संकटको झड्काले पोर्तुगललाई त झन आर्थिक भूकम्पको इपिसेन्टर झैँ बनाएको छ। कुनै बहानाले युरोप छिर्ने र पोर्तुगल गएर त्यहाँको पिआर सजिलै लिने सोच बनाएका नेपालीहरुले त्यहाँको पछिल्लो अवस्था बुझ्न जरुरी देखिएको छ। पोर्तुगल पुगेर पनि संघर्षका दिनहरु खेतिपातिको काममै लगाउनु पर्ने थियो, त्यही गरेर पनि अब टिक्नसक्ने अवस्था छैन भन्ने कुरा गुण्टा कस्नु अगाडि नै याद गर्नु जरुरी छ।

केही पेसागत र व्यवसायिक म्यानपावर तथा कन्सल्टेन्सीका मात्र कुरा सुनेर सम्बन्धित देशमा उपलब्ध नेपाली समाज, संघसंस्था वा व्यक्तिहरूसँग सम्पर्क नगरी र सरसल्लाह नलिई जे त पर्ला भनेर सुर्रिँदै हामफाल्न अहिले घातक समय छ भन्ने बुझ्नुहोला ! युवा पलायन हुनु देशका लागि कहिल्यै राम्रो होइन। झन यस्तो बेलामा पनि हाम फाल्नु त कसैका लागि र खुद आफ्नै लागि पनि राम्रो हुँदै होइन। अरु त के हो र ? अनिश्चित यस्तो अवस्थामा नेपाल आमाकै काखमा रहनुहोस्, बरु सकेसम्म आफ्नै माटोमा पसिना बगाउनुहोस् भन्ने सम्मको यो एक परदेशीको सुझाव मात्र न हो !