चालु आवमा नेपालकाे आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र

-



     सफल आवाज    
     वैशाख १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ बैशाख । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र पुग्ने देखिएको छ। तथ्यांक विभागले तेस्रो त्रैमाससम्‍मको यथार्थ गणनालाई आधार मानेर तयर गरेको रिपाेर्टले २.१६ प्रतिशतको आर्थिक वृद्धि देखाएकाे हो।

गतवर्ष यथार्थ आर्थिक वृद्धिदर ५.६ प्रतिशत प्राप्ति भएको छ। त्यति बेला तथ्यांक विभागले ५.४ प्रतिशतको अनुमान गरेको थियो। निर्माण र खानी क्षेत्रमा आएको उल्लेख्य गिरावटको कारण समग्र आर्थिक वृद्धिदरमा प्रभाव देखिएको बताइएकाे छ। 

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत राखेको थियो। उता विश्‍व बैंक एसियाली विकास बैंकले भने ४.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए । 

चालु वर्षको पहिलो त्रैमासका १.७ प्रतिशतको रहेको आर्थिक वृद्धिदर दोस्रो त्रैमासमा ऋणात्मक १.१ प्रतिशत रहेको छ।आर्थिक वर्षको सुरूको महिनामा लगाइएको आयात प्रतिबन्धका साथै माग तथा आपूर्तिमा आएको कमीको प्रभाव आर्थिक वृद्धिमा देखिएको बताइएकाे छ।

आर्थिक वर्ष २०७६/७७ मा २.३७ प्रतिशतको ऋणात्मक आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो।