
पाेखरा,१ जेठ । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि ५१ हजार नगद र सम्मानपत्र रहेकाे छ ।
महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिएकी छन ।
२ दशकदेखि पाेखरामा रहेर पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न सञ्चार माध्यममा काम गरेकी छिन् । उनी यसअघि राष्ट्रपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसकेकी छन ।
नेपाली प्रेस युनियन कास्कीको १०औँ अधिवेशनको अवसरमा यही जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिने कावा अध्यक्ष आलेले बताइन।
सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाई र २०७९ नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिनेछ ।
संविधानसभा सदस्य, नेपाली कांग्रेसका तत्कालीन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले विसं २०७६ मा प्रेस युनियनले सञ्चालन गर्ने गरी बहिनी शारदा केसीको स्मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेका थिए ।