बिभिन्न ४ स्थानमा अत्याधुनिक पुल निर्माण गर्दै सडक विभाग

-



     सफल आवाज    
     जेठ २३ गते २०८० मा प्रकाशित



काठमाडाैं, २३ जेठ । सडक विभागले आगामी वर्ष देशका बिभिन्न ४ स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाएकाे छ । काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधुनिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।

उनका अनुसार “विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।” विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ । नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने बताएका छन।

काठमाडौँमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवानमा गैँडा र अरु ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना रहेको छ । तिनाउ नदीमा बिश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ । पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको बताएकाे छ।