
युराेप, ५ असार । केही दिन अघि काभ्रे पनौतीका खुद्रा व्यवसायी मिठाराम सापकोटाले क्रेटभरि राता गोलभेँडाका फोटा पोष्ट गर्दै ‘१ सय रूपियाँमा ६ किलो गोलभेँडा धमाधम बिक्री भइरहेको’ लेखेपछि किसानले मेहेनतको मुल्य नपाएको अन्दाज गरेको थिएँ।
लगत्तै पाँचखालमा गाडीमै ल्याएर टन्नै गोलभेँडा खोलामा खन्याएको पोष्ट पढेपछि मन झनै खिन्न भयो। फेरि हालसालै कालिमाटीका सडकभरि गोलभेडाको बैरालो देखेपछि त मन थामिँदै थामिएन। र, केहि लेख्न अघि सरेको छु।
कृषिप्रधान देश नेपालका कृषकलाई केहि न केहि चुनौतीले कहिल्यै छोड्दैन। भन्नलाई त हामी बिदेश पलायन हुने जनशक्तिलाई देशमै रोकेर बाँझो जमिनलाई उर्बरा बनाउनु पर्यो भन्छौं । पर्ने पनि हो, तर कृषकको पसिनाको मुल्यले जीवन धान्नै मुस्किल परेपछि त्यो भन्नुको अर्थ के रहयो र !
सबैभन्दा पहिला कृषिप्रधान देशलाई चाहिने कृषि शिक्षा र कृषक लक्षित ज्ञानबर्द्धक जानकारीहरूको खाँचो टड्कारो देख्छु म। कृषकलाई बजारको माग र त्यसमा आइपर्न सक्ने उतारचढावमा आफ्ना उत्पादनलाई कसरी व्यबस्थापन गर्ने भन्ने शिक्षा कसैले दिएन।आयातित तरकारीले देशभित्रको उत्पादनको बजारलाई थिचेको घटना अब नयाँ होइन। सम्बन्धित निकायको पहलकदमी बिना यसको समाधान किसानहरूसँग हुने कुरा पनि होइन।
सडकमा वा खोलामा लगेर तरकारी फ्याँक्नु पर्ने दुखदायी अवस्थाबाट थोरै भएपनि राहत पाउन विकल्पहरु के हुन सक्छन् भन्ने बारेको सचेतना कृषकसम्म पुगेन कि ! यसका लागि शिक्षा, तालिम, जनचेतनाको आवश्यक छ कि ! जल्दोबल्दो समस्या भएकोले म गोलभेडामा केन्द्रित भएर त्यो फ्याँक्नुको विकल्प के हुनसक्थ्यो भन्नेमा प्रवेश गर्दैछु।
अघिल्ला उत्पादनहरूबाट केही लाभ पाएर हुनसक्छ, वा छरछिमेक या वल्लो-पल्लो गाउँमा कसैले राम्रो लाभ लिएको थाह पाएर हुनसक्छ, वा खेति शुरु गरेको छोटो अवधिमा बिक्रीका लागि तयार हुने भएकाले हुनसक्छ, वा अरु कुनै कारणले हुनसक्छ धेरै किसानहरु गोलभेँडा खेतिमा आकर्षित देखिनुहुन्छ।
भाग्यवशः कहिलेकाहीँ राम्रै प्रतिफल मिल्छ भने नेपालको जस्तो वाह्य उत्पादनले समेत असर पार्ने बजारमा सधैँ भनेजस्तो बिक्रीको वातावरण कृषकको हितमा हुँदैन। यस्तोमा मेहेनत एवं आर्थिक लगानी, समयको खर्च ब्यर्थमा खेर गएजस्तो भएपछि कृषकमा स्वभाविक रुपले तनाव, बैराग्य, हतोत्साह पैदा हुन्छ।

त्यसकै फलस्वरुप कहिले सडकमा दुधको खोला बगाइन्छ। यसपाली गोलभेँडा फालिए। त्यसको पीडा माथि पीडा, भारमाथि थप बोझ त किसानलाई नै पर्यो! तर यस्तोमा आत्तिएर होइन सम्हालिएर भविश्यको योजनामा लाग्नुपर्ने हुन्छ। नत्र उपाय नदेखेर परिस्थितिले डरलाग्दा निर्णयमा किसानलाई पुर्याउँछ।
जस्तो कि, नबिकेको गोलभेँडालाई लामो समयपछि प्रयोगमा ल्याउने गरी जोगाएर राख्ने उपायतिर सोच्न सकिन्छ नि ! मैले देखेका केही उपायहरु यस्ता छन्:
१) सन ड्राइड टोमेटो बनाउने
धेरै बर्ष पहिला, जतिबेला युरोपमा पनि कृषिमा प्रबिधिको प्रयोग भएको थिएन, त्यतिबेला इटालीमा यो तरिका व्यापक प्रचलनमा थियो। पछि यसको सिको जर्मनी, फ्रान्स, बेल्जियम, पोर्तुगल मात्र होइन बिस्तारै युरोप बाहिरका अरुहरुले पनि गरे।
बोटमै पाकेका गोल्भेँडालाई आधा हुनेगरी काटेर थोरै नुनमा मोलेर त्यसमा रहेको पानी नसुकुन्जेल घाममा सुकाएर हल्का चाउरी परेको अबस्थामा उठाएर प्याकेट बनाई राखेमा भविश्यमा आवश्यकता अनुसार प्रयोगमा ल्याउन सकिन्छ।
अझ तेलमा डुबाएर बट्टामा बन्द गरी राखेमा झन लामो समयसम्म टिक्छ। व्यवसायीले यसलाई योजनाबद्ध ठूलै ब्यवसायका रुपमा गर्न सके युरोप, अमेरिकातिर समेत यसको माग छ।
२) फ्रिज गरेर राख्ने
यो गोलभेँडा जोगाउने अर्को सजिलो उपाय हो। राम्ररी धोएर (सकेसम्म तातोपानीमा डुबाएर निकाली चिसो पानीले पुनः पखालेर) नाङ्लो वा त्यस्तै फराकिलो अरु केहीमा एउटा मात्र लेयर हुनेगरी गोलभेँडालाई केहि घण्टा फ्रिजरमा राख्ने। जमेर छाम्दा केही कडा भएपछि निकालेर प्लाष्टिकका झोलामा प्याक गर्ने र पुनः फ्रिजमै राख्ने।
यसरी गोल्भेँडालाई केहि महिनासम्म बचाएर राख्न सकिन्छ। यसरी बचाइएको गोल्भेँडा पछि परिकार बनाउँदा भने बाहिरी बोक्रा हटाएर प्रयोगमा ल्याउँनु राम्रो हुन्छ।
३) प्युरे बनाउने
गोल्भेँडालाई पिसेर लेदो बनाएर बन्द बोतलमा राखी चिसो ठाउँमा (रेफ्रिजेरेटरमा) राख्ने बिधि हो यो। यसरी राखिएको लेदो गोल्भेँडा (प्युरे) भविश्यमा निकालेर बिभिन्न परिकार बनाउनमा प्रयोग गर्न सकिन्छ। यसैगरी गोलभेँडाको केचप् बनाएर पनि बेच्न सकिन्छ।
हात हातमा मोबाइल र इन्टरनेट उपलब्ध अहिलेको अवस्थामा गुगलमै गएर खोजी गर्दा पनि बिविध उपायहररू भेटिन्छन्। मैले तीमध्ये सजिला केही उपाय मात्र यहाँ उठाएको हुँ।
बिज्ञहरूले पनि बिभिन्न उपायले गोलभेँडा जस्ता फल र अन्य थुप्रै तरकारी तथा फलफूल एक-डेढ बर्ष पछिसम्म प्रयोग गर्न मिल्ने गरी जोगाएर राख्न सकिने सुझाउने गर्दछन्।
कृषकले उत्पादित तरकारी, फलफूलको सिधा बजारको समानान्तरमा आफैँले त्यसबाट नयाँ प्रोडक्ट तयार गरेर सम्भावित अर्को बजारको बाटोलाई पनि अबलम्बन गर्ने गरी कृषिमा होमिनु पर्दछ।
मुख्यकुरा, हाम्रो जस्तो देशका सोझा किसानलाई त्यसबारे पर्याप्त ज्ञान, शीप र सतर्कताका लागि तैयार बनाउन राज्यका सम्वन्धित निकाय र कृयाशिल गैरसरकारी निकायले भूमिका खेल्नुपर्छ। (काभ्रे पनाैतीका सापकोटा हाल डेनमार्क बस्छन् )