पुष्टकारी ब्यापारदेखि हुण्डाईकाे आयातकर्तासम्म बनेका श्रेष्ठ

-



     आरजू विष्ट सल्यानी    
     असार १७ गते २०८० मा प्रकाशित



काठमाडाैं । पुष्टकारी नेपालमा उत्पादन हुने एउटा प्रकारकाे मिठाई हो । यसको उत्पादन संघीय राजधानी काठमाडौं, गण्डकीको पोखरा लगायतका शहरमा हुने गरेको छ। घरेलु सामग्रीबाटै व्यावसायिक उत्पादन शुरु गरी नेपालको प्रतिष्ठित व्यावसायिक घराना बन्न सफल भएका घटनाहरु नेपालमा विरलै पाइन्छन।

घरेलु उत्पादन पुष्टकारी र मिठाईको व्यापार, व्यवसायलाई अगाडी बढाउदै जिवनकाे ५० वर्ष यसैमा खर्चिएका पोखरा १ बागबजारका गणेशबहादुर श्रेष्ठ अहिले नेपालकै प्रख्यात उद्योगपति र चकलेटका बाद्शाहका रूपमा ब्यवसायिक क्षेत्रमा स्थापित भएका छन् । अत्यन्त संघर्षपूर्ण यात्रापछि मात्र श्रेष्ठले यसलाइ ठुलाे ब्यावसायिक घराना बनाउन सकेका हुन।

सरल ब्यक्तित्व श्रेष्ठ यहाँसम्म आउन उनकी आमा पुतली श्रेष्ठ र दाजु बुद्धि बहादुर श्रेष्ठ प्रमुख प्रेरकका रुपमा रहेका छन् । वर्तमान समयमा दाजुका छोरा सुनिल श्रेष्ठले उनलाइ सघाइरहेका छन् । उनका ३ छोराहरु अञ्जन श्रेष्ठ, निरञ्जन र निराकारले लक्ष्मी ग्रुपका डेढ दर्जन भगिनी अर्गनाईजेशनहरु हाँकिरहेका छन् । छोराहरुमध्ये अञ्जन हाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

कन्फेक्सनरी अन्तर्गत उनकाे उधाेगबाट चकलेट, चाेकोफन र हाल बिग फनको नाममा उत्पादन भएका प्रोडक्टहरु विदेश समेत निर्यात भईहेका छन् । उत्पादित चकलेटहरु सिक्किम, दार्जिलिङ, भुटान, अष्ट्रेलिया, क्यानडामा निर्यात भईरहेका छन् । यसका साथै लक्ष्मी हाउसको डेरि उत्पादनहरु पनि बजारमा निकै प्रचलनमा रहेका छन्। सफल दूध, दही, घ्यू, पनिर तथा दुग्धजन्य उत्त्पादनहरु रहेका छन् ।

कोरियन कम्पनी हुण्डाई गाडीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी हुण्डाइ समेत अहिले उनकै कम्पनी हो । जसका देशभर विभिन्न ठाउँमा १३ वटा डिलर र वर्कसपहरु छन् । निकट भविष्यमा हुण्डाईका ३ मोडलका गाडीहरु क्रेटा, आईटेन र भेनुको एसेम्बल नेपालमै गरिने श्रेष्ठले जानकारी दिएका छन् । यसका लागि अहिले नवलपुरमा काम भईरहेको छ ।

पुष्टकारी र चकलेटले नै सर्वश्रेष्ठ
आमा पुतली श्रेष्ठले भने अनुसार पुख्याैली रुपमा घरमै घरेलु सामग्रीबाट पुष्टकारी, मिठाई, सेलरोटी लगायतका परिकारहरु बनाउने चलन रहेको थियो । बाजे बज्यै, बुबा आमाको पालासम्म आउँदा यो व्यवसायीक भएको थिएन ।

त्याे समय हाम्राे आर्थिक अवस्था अत्यन्त नाजुक भएको परिवार थियाे । आमाले भने अनुसार मैले २२ दिनको उमेरमा बाबालाई गुमाएछु । मेरो बाबा भनेपनि आमा भनेपनि मेरो देवता, भगवान आमा पुतली श्रेष्ठ नै हुन् । अहिले सबैले माया गरेको लक्ष्मी हाउसलाई यहाँसम्म ल्याउन उहाँको आर्शिवाद र दाजु बुद्धिले देखाएको बाटो नै हाे । र तत्कालिन अञ्चलाधिश शंकरराज पाठकको हौसला महत्वपुर्ण भयो । श्रेष्ठले बिगत सम्झिए ।

कमजोर आर्थिक अवस्थाको कारण मैले १० कक्षाभन्दा माथिको अध्ययन गर्न सकिन । सायद त्यो समयमा पैसा भएको भए म पनि उच्च शिक्षाको अध्यन गर्थे होला तर त्यो संभव भएन । त्यसपछि आर्थिक अभावलाई कसरी सहज बनाउने भन्ने बारेमा दाजु बुद्धि र मैले चिन्तन मनन् गर्न लाग्यौं । अरु त के गर्ने ? घरमा पुख्याैली गर्दै आएको पुष्टकारी र चकलेटलाई नै व्यावसायीक रुप दिने निर्णयमा पुग्याैं श्रेष्ठले भने ।

त्यो ३० को शुरुआती दशक
हामीले घोषित रुपमा ३० को दशकबाट पुष्टकारी र चकलेट उत्पादन गर्न थाल्यौं । अहिले म ७७ वर्षको भए । सबैले लक्ष्मी हाउसको अध्यक्षका रुपमा चिन्नुहुन्छ । तर म आफैंलाई सामान्य नै ठान्छु । कहिलेकाँहि ति बिगतका दिनहरु सम्झिदा अचम्म पनि लाग्छ । म सक्रिय नै छु र अन्तिम अवस्थासम्म हुनेछु । सफलताका लागि नभई नहुने कुरा सक्रियता नै हो ।
हुन पनि श्रेष्ठ अहिलेपनि उत्तिकै सक्रिय देखिन्छन । उनले भने जस्तै उनी व्यावसायीक, सामाजिक, धार्मिक, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सक्रिय भईरहेका छन् ।
अहिले बढी समय उनले सामाजिक सेवा, गुरुकुल शिक्षा र प्राकृतिक चिकित्सालयमा दिईरहेका छन् । व्यापार, व्यवसाय धान्ने बलियो आधार परिवारका सदस्यहरु अर्थात छोराहरु भएकोले उहिलेको जस्तो १८ घन्टाको धपेडि छैन । अहिले उनी विन्द्यवासिनी मन्दिर, गुरुकुल शिक्षालय तथा प्राकृतिक चिकित्सालयको रेखदेखमै व्यस्त रहेका छन् । जहाँको उनी अध्यक्ष हुन् ।

उनको पुस्ता र पोखरा आगमन
श्रेष्ठका अनुसार पोखरा उनकाे परिवार पाेखरा आएको ३, ४ पुस्ता भईसक्यो । बाजे बराजुहरु १७५ वर्ष अगाडी नै आएका हुन् भन्नेछ । एउटा पुस्ता त म नै भएँ । म नै ७७ वर्षको भईसके । हामीहरु आएको भक्तपुरबाट हो । उसो त भक्तपुरबाट बाहिर जिल्लामा बसाई सरेकाहरुमा भक्तपुरका धेरै छन् । कतिले व्यापार व्यवसायको हिसाबले आएको भनेका छन् भने कतिले त्यहाँबाट लखेटिएको कथन छ, श्रेष्ठले भने ।

भक्तपुर श्रम गर्नेहरुको ठाउँ हो । हाम्रो बाजे, बज्यैले पनि हाम्रो पोखरा वरपर, कालिखोला लगायतका क्षेत्रमा खेतबारी छ भनेकाे सुनेको उनले बताए । तर मैले थाहा पाउदाको समयमा बागबजारमा एउटा सानो घर थियो उनले भने ।
बुबा दील बहादुर श्रेष्ठ रहेको आमाले बताउनु भयो । जसले म २२ दिनको हुँदा छोडेर जानु भएको रहेछ । आमा पुतली श्रेष्ठ । मेरो दाजु बुद्धि बहादुर श्रेष्ठ, जाे सन्यासीको रुपमा हुनुहुन्छ । कहिलेकाँही घरमा आउनुहुन्छ । दाईका छोरा सुनिल, मेरा छोराहरु अञ्जन, निरञ्जन र निराकारले व्यवसायको प्रवर्धन गरिरहेका छन् । मेरो एउटी दिदी शान्तीमाया श्रेष्ठ पोखरामै हुनुहुन्छ, यसरी उनले पारिवारिक विवरण पनि सुनाए।

पिएन क्याम्पसमा टाईपिस्टको काम
आर्थिक अवस्थालाई सुधार गर्न मैले २०२२ सालमा पृथ्वीनारायण क्याम्पसमा जागिर खाएकाे थिएँ । अलिअलि टाइप गर्न आउँथ्यो । मैले जर्ज जोन सरको पालामा मुखिया सरहको टाईपिष्टको काम पाएर गरेकाे हाे। महिनामा मैले काम गरेबापत ८० रुपैयाँ पाउँथे । यत्तिले अलि धान्ने अवस्था भएन । एक वर्ष क्याम्पसमा काम गरेपछि म करारमा खरिदार पदमा रहेर सरकारी काम गर्न पाल्पा गएँ ।

ब्यवसायकाे टर्निङ प्वाइन्ट

पाल्पामा सरकारी सेवामा ३ वर्ष बिताएपछि पोखरा फर्किएकाे श्रेष्ठ बताउछन। दाजु बुद्धि र उनले निकै चिन्तन मनन् गरेर २०३० सालबाट व्यवसायिक रुपमा पुष्टकारी, मिठाई बनाएर बेच्न थालेकाे बताउछन। बुटवल गएको बेलामा एकजना भारतीय नागरिकले चकलेट बनाउने मेसिन देखाएपछि हामिले पनि भारतबाट मेसिन मगायाैं । मेसिनबाट उत्पादनहरू राम्राे बृद्धि गर्न थाल्यौं। त्यो समयमा हामीले लक्ष्मी मिठाई भण्डार शुरु गरेर उत्पादनमा लागेका थियौं । लक्ष्मी चकलेट, लक्ष्मी माला बनायौं । बजारमा माग निकै हुन थाल्यो र उत्पादनलाई पनि बढाउँदै लग्यौं, उनले बिगतका अनुभूति सुनाए ।

उ बेलाका दुःख, कष्ट र १८ घन्टासम्मका खटाईहरुले नै मेराे जिन्दगीलाई बदलेकाे हाे जस्ताे लाग्छ। कुनैपनि कामको लागि दृढ संकल्प चाहिने रहेछ । अठोट लिएर दृढताका साथ काम गरियो भने सफलता आफ्नै अगाडी आउने रहेछ। अहिले सफलताका पछाडी के कारणहरु हुन्छन् भनेर तपाँईहरु जस्ता साथीहरू सोध्न आउनुहुन्छ । मैले मेरो जिवनका यी कथाहरु भन्नै पर्नेहुन्छ । र यो कसैका लागि प्रेरक पनि होस् भनेर भन्ने गरेको श्रेष्ठकाे भनाइ छ ।

प्रेरणाका स्राेत अञ्चलाधिश पाठक र सुनका डल्लासमानका मेशिन
२०३३ सालमा पोखरामा शंकरराज पाठक अञ्चलाधिश भएर आउनु भएको थियो । पोखरामा औद्योगिक क्षेत्र खुलेको थियो । तर त्यहाँ उद्योगहरु संचालनका लागि हामीहरुलाई झट्टै जान गाह्रो हुन्थ्यो । यस्तो सानोतिनो पुष्टकारी, चकलेट बनाउने मान्छे उद्योग चलाउन किन औद्योगिक क्षेत्रमा जानु र भन्ने लाग्थ्यो । तर आज त्यही औद्योगिक क्षेत्रमा रहेका कम्पनीका मेशिनहरु वा देशका अन्य क्षेत्रमा रहेका औजारहरु नै सुनका डल्लाहरु बनेका छन् । त्यहा सुन उत्पादन भईरहेको मलाई आभाश भईरहेको गणेश श्रेष्ठ बताउछन।
त्यो समयमा शंकरराज पाठकले सानो मन नगर्नु गणेश जी, सानो कुराको शुरुआतबाट ठूलो उपलव्धि हुन्छ । उहाँले यसो भनेपछि हौसला मिल्यो र भारतबाट मेसिन मगाएर औद्योगिक क्षेत्रमा दिनमा १८ घन्टा खटिएर काम गर्न थाल्यौं । अहिले त्यही उधाेगबाट ३०, ३५ प्रकारका चकलेट उत्पादन भईरहेका छन् । विदेश पनि निर्यात भईरहेकाे छ । अहिले २५ सय हाराहारी कर्मचारीले रोजगारी समेत पाईरहेकाे श्रेष्ठले सुनाए ।

६० प्रतिशत चकलेट आयात रोक्न सफल
हामीले उत्पादन गरेका चकलेट विदेशमा निर्यात भईरहेकोले ठूलो रकम विदेश जानबाट रोक्न र देशकाे अर्थतन्त्रलाइ सघाएका छौं । हाम्राे चकलेटका उत्पादनहरू क्यानडा, अष्ट्रेलिया, भुटान, सिक्किम, दार्जिलिङ निर्यात भईरहेका छन् । यसो भनिरहँदा हामीले ६० प्रतिशत आयातलाई रोकेका छौं ।

हामीसंग दुग्धका आईटमका लागि सुजल डेरी छ । प्लाष्टिक उद्योग छ । प्रिन्टिङ छ । राष्ट्रिय स्तरको खाद्य गुणस्तर मापनका लागि ल्याव पनि रहेको छ । जहाँ २९ प्रकारका खाद्य वस्तुको गुणस्तर जाँच गर्न सकिन्छ ।


हुण्डाईको आधिकारिक बिक्रेता
लक्ष्मी ग्रुप हुण्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता हाे । याे ब्राण्डकाे नेपालका बिभिन्न स्थानमा १३ वटा डिलरहरु छन् । साथै आफ्नै सर्भिस सेन्टरसमेत रहेका छन् । हामीकहाँ स्कुटर, मोबिल, व्याट्रीको समेत कारोबार हुन्छ । र परासीमा स्टिल फेक्ट्री रहेको श्रेष्ठले सगाैरव बताए ।


हुण्डाईका तीन गाडीको नेपालमै एसेम्बिलिङ हुँदै
अब छिट्टै गाडीका सौखिनहरुले नेपालमै एसेम्बलिङ गरेर निर्माण हुने हुण्डाईका तीन प्रकारका गाडीहरु क्रेटा, आई टेन र भेनु हुँईकाउन पाउने भएका छन् । यसका लागि परासीमा ११ बिगाहा जमिनमा काम भईरहेको छ । अहिले फिटिङको कामहरु भईरहेको छ । नेपालमै गाडी एसेम्बल गरेपछि केहि सस्तो पर्ने बिश्वास श्रेष्ठकाे छ ।
कसरी उद्यमशील बन्ने ?
मलाई यस्तो लाग्छ कि इच्छा शक्ति भए पुग्छ नेपालमै बसेर केहि गर्न चाहनेले मज्जाले गर्न सक्छ । बाहिर किन जाने ? म पनि बाहिर जानबाट रोकिएको मान्छे हुँ । इमान्दारीको काम, लगनशील र सेवा नै ठूलो कर्म र धर्म भनेर आत्मसाथ गरेँ । मन्दिरकै ढोका अगाडी जुत्ता चप्पल कुर्ने काम पाउनु पनि विदेशमा भन्दा यो ठीक भन्छु म त । किनकी मानिसको सेवा त उच्चकोटीको हो नि । सबैभन्दा अति आवश्यक कुरा इमान्दारीता हो । यसलाई गुमाउनु हुदैन । जबसम्म इमान्दार बन्न सकिन्न तबसम्म कहिल्यै प्रगति नै हुँदैन श्रेष्ठले भने ।
अझैं उद्यमशीलताको लयमै छु
मैले ७७ वर्षको उमेरमा आएर कृषिको योजना बनाएको छु । मानिसले प्रकृतिजन्य वस्तुहरुसँग प्राकृतिक व्यवहार गर्नुपर्छ । त्यसैले मैले कृषि पेशाका लागि चितवनमा ११ बिगाहा जमिनमा २० हजार कागतीका बोट लगाउने योजना बनाएको छु । १ हजार मोरिङ्गा, १ सय इमलीका बोट, १ सय अमलाका बोट लगाउने योजना छ । यस्तै नगदे वालीहरुमा टमाटर लगायतका रहनेछन् ।
सरकारको दृष्टि
सरकारले अझै पनि निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो छैन । हामीलाई त हतकडि लगाउन खोजेको महशुस हुन्छ । बरु सरकारले उद्योग र उत्पादनका क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ । नेपालमै लसुन, प्याज र अदुवा प्रसस्त उत्पादन हुन्छ । भारत र चीनबाट ल्याउनु पर्दैन तर सरकारले महिना दिन लगाएर पनि आयात गरेको छ यो राम्रो होईन । सरकारले निजि क्षेत्रलाई सेवा, सुविधा दिने र प्रविधिमा सहयोग गर्नु पर्यो मेरो सुझाव छ ।
अन्त्यमा
यत्ति भन्छु कि, कसैलाई दुःख नहोस् । दुःख नपरोस् । जहाँ हुन्छौं इमान्दार भएर काम गरौं । लगनशील भएर उद्यमशीलताको विकास गरौं सफलता आफ्नै अगाडी छ । अन्त कतै जानै पर्दैन ।