‘सफलता सम्भव छ’ कृतिमा सकारात्मक सोचको व्याख्या (पुस्तक समिक्षा)

-



     डा. ईश्वरमणि अधिकारी    
     असार २४ गते २०८० मा प्रकाशित



काठमाडाैं। “तँपाईको टमी ज्यादै सुस्त छ, यस्ले कुनै हालतमा पढ्न सक्दैन्, उसलाई स्कुलबाट निकालेर सहयोग गर्नुस् । ” अलिक कान कम्ता सुन्ने ४ वर्षे केटो खल्तीमा यस्तो कागजको टुक्रा लिएर घर आयो । परिवारले के सोच्यो । यौटी आमा भएर सोच्नुस् ।

आमा भोलि पल्टै स्कुल पुगिन् । स्कुलले कसै पढाउन नसक्ने बतायो। आमाको आत्मसम्मानमा चोट पुग्यो । तर उनको आत्मविश्वास डगमगाएन। उनले उल्टै आफ्नो बच्चालाई आफैं पढाएर देखाउने चुनौती दिइन। पढाएर देखाइन पनि। झन्डै ३ महिना जति मात्रै औपचारिक स्कुले शिक्षा लिएका ती टमी अरू नभएर महान् आविष्कारक थोमस अल्वा एडिसन थिए ।

सकारात्मक सोच र उत्प्रेरणाहरूको विभिन्न आलेखहरू मार्फत  सप्रसङ्ग व्याख्या गरिएको सफलता सम्भव छ कृतिभित्रका प्राय आलेखहरू कतै सुनेका, पढेका, भोगेका, देखेका ससाना किस्साहरूबाट शुरु हुन्छन्, बिचबिचमा त्यस्तै अरू उपकथाहरू उनिन्छन् । लेखक आफ्ना कुराहरू पुष्टी गर्न ठाउँ ठाउँमा कतिपय लेखक, साहित्यकार, विचारक तथा सफल व्यक्तित्वका भनाई, गराई तथा जीवन भोगाईका प्रसंगहरूको सहारा लिन्छन् र अन्तिम अनुच्छेदतिर केही संदेश, केही नैतिक शिक्षा तथा सकारात्मक सोचको खेती गर्न भ्याउछन्।

कतिपय आलेखहरू यसअघि नै विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा छापिसकिएका छन्, तिनलाई फेरि पढ्दा पनि पाठकलाई झिजो लाग्दैन । यो कृतिमा के भन्न खोजिएको हो ? किन लेखिएको हो यो किताब ? केकालागि छापिएको हो यो कृति ? विद्वान लेखक डा बुद्दी मल्ल खासमा के चाहन्छन् आफ्नो कृतिदेखि ? यी र यस्ता प्रश्न सोचेर यो किताब पढियो भने पाठक खुसी हुने प्रसस्त ठाउँहरू छन् ।

एकदिन राजादेखि प्रसन्न भएर भगवानले दर्शन दिए। राजालाई आफ्नो परिवार र प्रजा सबैलाई भगवानको दर्शन गराउने चाह भयो, त्यसको अनुमति लिएर लावालस्करसहित  भगवानको दर्शनमा निस्के राजारानी । बाटामा चाँदीका सिक्कैसिक्काले भरिएको पहाड आयो, अलिक पछी सुनैसुनको सिक्काको पहाड आयो । झन्डै ८० प्रतिशत त चाँदी बटुल्नै लागेछन्, बाँकी सुन पहाड कटेनन् | राजारानी दुखी हुदै यात्रामा लागिरहे।

अन्तिममा त राजा मात्रै पुगेछन् दर्शनमा, बिचमा कतिखेर हिराको पहाडले रानीलाई लोभ्याएछ, राजालाई नै पत्तो भएन | राजालाई जनता ल्याउन नसकेको ग्लानी हुँदा भगवान भन्छन्- ती जो चाँदीमै लोभिए, तिनीहरू असफल मानिस हुन्, सानै कुराले लोभ्यायो | जो सुनसम्म आइपुगेर रोकिए तिनीहरू औसत हुन् | हीरामा लोभिने महारानी औसतभन्दा त सफल हुन् तर मोहको चाह अझ छ उनमा | शासन सत्ता उनको हातमा छैन नि अझै |

सानो कुरामा लोभिने मानिसले ठुलो सफलाता प्राप्त गर्न सक्दैन भन्नकै लागि उनले प्रस्तुत गरेको दृष्टान्त हो यो | उनले यस्ता किस्सा प्रसस्त जोडेका छन् किताबमा |

एकजना सनकी राजाले आफ्ना सिपाहीलाई ब्यस्त बजारको बिचमा रहेको पुलबाट आवतजावत गर्ने जोकोहीलाई एकएक लात हान्ने आदेश दिन्छ | जनतालाई लात्ती खाने आदत लाग्छ | केही दिनमा जनतालाई दुख भयो कि भनेर बोलाएर सोध्दा एकजनाले भन्छ-सरकार, सरकारको कृपाले सबै ठिक छ |

तर पुलमा लात्ती हान्ने सैनिकको कमी भएर घन्टौं कुर्नु पर्ने भयो, सैनिकको संख्या थप्नु पर्यो सरकार, त्यो पुलमा | एसम्यानको मनोवृत्ति र बफादारीका नाममा निभाइएको चाकडीको मनोदशा मज्जाले केलाएका छन् लेखकले र भनेका छन्, एसम्यान बनेर गलत कार्यमा सहभागी नबनौं |

सफलता सम्भव छ कृतिमा जिन्दगी सुन्दर छ, समस्या जिन्दगीको यौटा पाना मात्रै हो, सानो कुरामा लोभिनेले ठूलो सफलाता प्राप्त गर्न सक्दैन, देखि आफू खुसी हुन अरूलाई खुसी बनाउनुहोस् सम्म पुग्दा जम्माजम्मी ४१ वटा आलेख छन् | विषय सूची भने उल्लेख छैन | कतिपय आलेखहरू कुनै विचारक तथा चिन्तकहरूको धारणाबाट शुरु हुन्छ |

कतै धर्मशास्त्र त कतै फिल्मी प्रसङ्ग टिपेर आख्यानीकरण गर्दै सफलताको उपकथा उन्नतिर लाग्छन् लेखक | यसले लेखकलाई आफ्ना कुरा पुष्टी गर्न बल पनि पुर्याएको छ र संगै किताबलाई थप रोचक बनाउन सघाएको पनि छ |

सहज, सरल रेखीय भाषा शैलीमा छन् आलेखहरू | पढ्दै गर्दा यौटा सामान्य पाठकलाई पनि लाग्छ यो कुरा त मलाई पनि थाहा थियो, मैले पनि कतै सुनेको, देखेको, पढेको या भोगेको थिएँ | कहाँ के छ मौलिक ? के नयाँ कुरा उठाएका छन् लेखकले ? त्यस्तो सायद केही  छैन | प्राय सुनिएकै कुरा नयाँ किसिमले उठाएका छन् | फरक शैली र शिल्पमा अभिव्यक्त हुनु पनि त मौलिक हुनु हो | यस मानेमा, कृति मौलिक छ, कलात्मक छ |

यौटा भक्तले कडा तपस्यापछि भगवानको दर्शन प्राप्त गर्छ | भगवान र भक्तको संवाद यस्तो छ:

१० वर्ष भनेको कति समय हो भगवान? : केवल १ मिनेट

१ करोड रुपैयाँ तपाईका लागि कति बराबर हो भगवान् ? : १ रुपैया बराबर

उसो भए मलाई वरदान स्वरूप १ रुपैयाँ दिनुस् : हुन्छ, सिर्फ १ मिनेट पर्ख

सुनिरहेको चुटकिलालाई टपक्क टिपेर संदेशात्मक जामा पहिराएका छन् | धैर्य र समय एकदमै शक्तिशाली योद्दा हुन् | धैर्य गर्न नसक्ने मानिसहरू जीवनमा सफल हुन सक्दैनन् | धैर्य सफलताका लागि अनिवार्य छ, जति धेरै धैर्यता उति अधिक सफलता | सफलताको कुनै सर्टकट हुन्न | यत्ति भन्नलाई गरेको उनको मेहनत रोचक छ |

प्राय: जसो लेखहरूमा नेपाली तथा बलिउड चलचित्रका कथानक चरित्र तथा दृश्यहरूको दृष्टान्त दिएर सकारात्मक सोच, चिन्तन तथा आशावादी खेती गर्न लागिपरेका छन्  लेखक | उनले लिएका त्यस्ता चलचित्रहरू पनि प्राय जसो निकै चलन चल्तीका र ऊबेला अलिक तहल्का पिटेका चलचित्र नै लिएका छन् | फिल्म “बाजार” को नायक गाउँदेखि मुम्बई छिर्छ | व्यवसायिक करियरको खोजीमा ऊ यौटा प्रख्यात कम्पनीमा जागिरका लागि अन्तर्वार्तामा पुग्छ | अन्तर्वार्तामा केही नसोधी, थुकिएको 1 कप कफी त्यहीं भएकालाई बेचेर देखाउन भनिन्छ |

अब थुकेको कफी कसलाई कसरी बेच्नु ? ऊ थप केही सोच्दैन, कफीको कप  टक्क समाउँछ, मिठोसित पिउँछ र पैसा निकालेर टेबुलमा राख्दै भन्छ- बेचिदिएँ, आफैलाई बेचिदिएँ |  काम बेच्नु थियो | कसलाई भनेर किटान थिएन | मैले आफैलाई बेचिदिएँ | अन्तर्वार्ताकार मुकुराउंछन् |  ऊ जागिर शुरु गर्छ |  लेखक यसलाई स्मार्ट वर्क भन्छन् | कुनै काम गर्न नसकिने सयौं कारण हुन सक्छन्, तर उक्त काम गर्न सकिने कम्तिमा यौटै मात्र कारण भेटियो भने  उक्त काम गर्न सकिन्छ | त्यही विकल्प नै स्मार्ट वर्क हो | अहिलेको युग  स्मार्ट वर्कको  युग हो |

२७ वर्षे एरोन ली रल्स्टन यौटा खोचमा थुनिन्छन् | आफ्नै हात यसरी अड्किन्छ कि त्यै हात नकाटी बाहिर निस्किन सकिने सम्भावना हुन्न | आफूसित भएको हाते चक्कुले अड्किएको हात काटेर, हात भित्रै छाडेर थुनिएको १२७ घण्टापछि बाहिर निस्कन्छन् | त्यसैलाई टेकेर “१२७ आवर” नामक फिल्म पनि बनेको छ  | अहिले तिनै रल्स्टन सफल मेकानिकल इन्जिनियर र मोटिभेसनल स्पिकर भएका छन्  |

उता यौटा खुट्टा एक इन्च छोटो भएको ब्रुस ली मार्शल आर्टमा चम्किएका छन् | हातखुट्टा केही नभएका अस्ट्रेलियाका निक भुजिसिक विश्वविख्यात मोटिभेसनल स्पिकर भएका छन् | शारीरिक असक्तताका बाबजुद सफलताको सुन्दर कथा हुनेहरूको लामो शृंखलामा स्टेफिन हकिन्स, झमक घिमिरे, सुशिला ढकाल लगायत कैयन् भेटिन्छन्, जसलाई लेखकले उपर्युक्त ठाऊँमा सम्झिन भ्याएका छन् |

 समस्या जिन्दगीको कुनै यौटा पाना मात्र हो, जिन्दगी त सिंगो किताब जस्तै हो | कुनै खास पाना भिज्यो वा च्यातियो भन्दैमा पूरै किताब खराब भयो भन्नु हुन्न, लेखक मल्ल यसै भन्छन् |

न्युजिल्याण्डका प्रधानमन्त्री साइकल चढेर कार्यालय गएको, कतिपय शक्तिसम्पन्न मुलुकका राष्ट्रप्रमुखहरूले पदमा रहँदा गरेको शालीनतापूर्वकको जीवन शैली र  आफ्नो कार्यकाल सकिनासाथ राज्यको थप सुबिधा नलिकन आफ्नै पूर्व पेशा-व्यवसायमा फर्केको प्रसंगलाई उच्च महत्वका साथ उठाएका छन् | सकारात्मक सोच, आत्मविश्वास र  उत्प्रेरणा जगाउने लेखनमा समय खर्चिएका छन् लेखकले | जीवनमा केही गर्नु पर्छ |

देशमै बसेर पनि आशावादी हुन सकिन्छ | लेखक, आफूलाई कहिल्यै कमजोर नठान्न आग्रह गर्छन् | आफू आफ्नो सामर्थ्य, र आफ्ना सम्भावनाहरू चिनेर त्यसैमा एकाग्र चित्तले धैर्य र साहसका साथ लागिरहने मानिस जीवनमा कहीं कहिल्यै असफल हुँदैन भन्ने सोच स्थापित गराउनु लेखकको अभिष्ट हो |  

सुन्दर गाउँको सानो घरमा बसेर पनि एकजना मानिस खुसी हुन सक्दैन | त्यो घर बेचेर सहरमा घर खरिद गर्न ऊ रियल स्टेट व्यवसायीकोमा पुग्छ | पत्र पत्रिकाका वर्गीकृत विज्ञापनमा आँखा विछ्याउंछ | एक दुइ दिनमा पत्रिकामा पढ्छ – सहरको भीडभाड र कोलाहलदेखि टाढा, नदी, झरना, रुखैरुखको प्राकृतिक वातावरण अनि सदावहार सुगन्ध आउने, १२ महिनै ताजा हावा बहने, यौटा स्वर्गजस्तो घर बिक्रीमा छ | इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला |

उसले आहा भन्दै झटपट सम्पर्क गर्यो | हैट, विज्ञापन त आफ्नै घरको पो रहेछ | यसो भनेर,  लेखकले असन्तुस्टी के का लागि ? आनन्द भनेको के हो ? खुसी कहाँ छ ? मानिस किन आफूलाई अरूसित तुलना गरेर दुखिरहन्छ ? आफूसित के छ, उसलाई किन थाहा हुन्न ?  थुप्रै प्रश्नको मनोविज्ञान केलाउने कोसिस गरेका छन् |

यौटा जागिरे केटाको बिहान घडीको अलार्म बज्न छुट्छ | भोकभोकै अफिस कुद्छ | मोटरसाइकल स्टार्ट हुन्न | टिफिन बक्स घरै छुट्छ | हतारहतार बसमा झुन्डेर जाँदा अफिस ढिला भएर हाकिमको खप्की खान्छ | खाजा खान जाँदा क्यान्टिन बन्द भैसक्छ | फर्किदा केटी साथीसित डेटिङ जानखोज्दा उसको फोन नि उठ्दैन |

घरमा आउँदा बेलुकी बिजुली पनि हुन्न | यस्तै यस्तै दैनिकी टिपेर उदासी, निरासा र दिक्दारीका बिच पनि हरेक घटनालाई सकारात्मकतासित जोडेर तिनै घटनाका कारण नभएका दुर्घटना,  उसलाई प्राप्त भएको खुसी र सफलताको कथानक उन्न भ्याएका छन् |

राजनीतिज्ञ तथा चिन्तक विन्स्टन चर्चिल, बलिउडका सदावहार चर्चित अभिनेता अमिताभ वच्चन तथा चर्चित अटोमोबाइल निर्माता हेनरी फोर्डले भोगेको आलोचनाको दृष्टान्त उठाउँदै आलोचकहरूबाट हतोत्साहित होइन, उत्साहित बन्न आग्रह गर्दै लेखक मल्ल भन्छन्- कतिपय अवस्थामा कामभन्दा कडा आलोचनाले सफलताका लागि संजीवनी बुटीको काम गर्छ र सफलताको ढोकाको चावी खुल्छ |

कामभन्दा कडा आलोचना पनि  सबैभन्दा राम्रो शब्द बन्न सक्छ | त्यसो त आलोचना सुनेर उत्तेजित नहौं, संयमित भएर अगाडि बढे सफलता निश्चित छ पनि भनेका छन्, त्यस्तै अर्को आलेखमा | त्यस अर्थमा लेखक कडाभन्दा कडा आलोचना पनि अत्यन्त सहजताका साथ ग्रहण गर्छन् भन्ने कुरामा म ढुक्क छु |

अधिक ईर्ष्या र अहंले थला पार्छ, भन्ने आलेखमा रायन होलिडेको ‘इगो इज दी इनिमी’ को सन्दर्भ टिपेर “अहं मानिसको शत्रु हो | ईर्ष्या र अहं दुइ चिज मानिसका लागि घातक हुन् | यसले मानिसलाई रोगी बनाउँछ, थला पार्छ’’, भनेका छन् | तर मलाई लाग्छ, सिर्जनात्मक अहं मानिसको स्वत्व हो, उसको पहिचान हो, जसले उसलाई अरूभन्दा पृथक बाँच्न सिकाउँछ | अहं र अहंकार फरक कुरा हुन् | रचनात्मक ईर्ष्या भएन भने मानिस अरूभन्दा केमानेमा फरक हुन्छ?  कसरी सम्भव छ सफलता ईर्ष्या कत्ति पनि नभए ! त्यसो त अन्य कतिपय विषयहरूमा पनि विमति राख्न सकिने प्रसस्त ठाउँहरू छन् किताबमा |

कृति अद्योपान्त पढ़िसकेपछि लाग्यो, लेखकको लेखकीय अभिष्ट भनेकै सकारात्मक सोच, जीवनमा आशावादिता, घोर निराशा तथा हिनताले पिल्सिएका  मान्छेहरूलाई नयाँ उत्प्रेरणा भरेर हरेक चुनौतिसंग जुध्दै सम्भावनाहरूको खोजितर्फ डोर्याउने प्रयत्न सहितको मोटिभेसनल काउनसिलिंग गर्नु हो |

त्यसमानेमा सफलता सम्भव छ सफल छ | यस्तो अवस्थामा कृतिमा रहेका केही भाषिक कसर मसर, कतिपय उस्तै उस्तै लाग्ने प्रसंगहरूको पूनाराउक्ति,  सघन अभिव्यन्जनात्मक भाषाको अभाव, गैह्र आख्यानात्मक चिन्तन-दर्शन तथा साहित्यिक गुनावेत्ताको न्यूनता आदिको खोजी गर्नु सम्भवत नकारात्मक सोच, निराशावादी जीवन दृष्टि तथा दुखको बाटो हो भन्ने ठानेको छु | भो, त्यता नलागौं |

यति चाहीं अझ भनूँ, जोजो जीवनप्रति निरास हुनुहुन्छ, जसले केही झिनामसिना वा अत्यन्त जटिल प्रकृतिका समस्याहरू भोग्नुभएको छ वा भोगिरहनु भएको छ,  अथवा केही गुनासा, असन्तुष्टी छन् जीवनमा,  वहाँहरूले नछुटाई पढ्नु होला | जो, दुख-सुख झेल्दै आँसु-हाँसोमा रमाउंदै खुसीलाई संधै आफैसित राखेर सदा सुखी सदा खुसी जीवन वाँच्न चाहनुहुन्छ, वहाँहरूले त झन् पढ्नुहोला | यहाँहरू सबैको सफलता सम्भव छ र सम्भव होस् शुभकामना |