
काठमाडौं, १८ श्रावण । ५०० किलोवाट क्षमताको नेपालको पहिलो र एसियाकै दोस्रो फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयमा परिणत गरिने भएकाे छ।
स्टेशनलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न नेपाल विद्युत प्राधिकरणले एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको बताइएकाे छ। ऐतिहासिक जलविज्ञान केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको पुनर्निर्माण र खाली जग्गामा नयाँ संरचना निर्माण गरिने बताइएकाे छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको केन्द्रको जलाशय र पावर हाउस क्षेत्र वरिपरि ग्रीनपार्क, रेष्टुरेन्ट, पसल, जिपलाइन, पिकनिक स्पट, पुस्तकालय, पर्खाल लगायतका संरचना निर्माण गरिने याेजना रहेकाे छ । जलविद्युत केन्द्रको संरचनालाई मर्मत गरी सङ्ग्रहालयको रूपमा विकास गरिने नेपाल विद्युत प्राधिकरणले बताएकाे छ।
परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयन गर्न करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा ३२४ रोपनी जग्गा रहेकाे छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र पावर हाउस क्षेत्रको करिब १ सय ४६ रोपनी प्रयोग गरिने याेजना बनाइएकाे छ ।
प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको प्राङ्गणमा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गुरुयोजनाबारे जानकारी गराएका थिए । मन्त्री बस्नेत, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युत् केन्द्र र अन्य संरचनाको अवस्था अवलोकन गरेका थिए ।
मन्त्री बस्नेतले विद्युत् केन्द्रको ऐतिहासिक महत्वलाई जलविद्युतका विद्वान, अनुसन्धानकर्ता र सरोकारवाला सबैले इतिहास बुझ्ने स्थलका रुपमा संरक्षण र विकास गर्नुपर्ने बताएका थिए ।
उनले स्थानीय बासिन्दाको आर्थिक–सामाजिक विकासमा पनि अनुवाद हुने गरी योजना र कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
फर्पिङ जलविद्युत केन्द्र २०७२ वैशाख १९ गते औपचारिक रुपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीर विक्रम शाहले टुँडिखेलमा एक कार्यक्रमका बीच बत्ती बालेर उद्घाटन गरेपछि राजपरिवार, राणा परिवारका सदस्य र अन्यलाई विद्युत वितरण गरिएको थियो।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको हुनाले केन्द्रको नाम चन्द्रज्योति राखिएको हो । करिब चार वर्ष लाग्ने आयोजनाको लागत रु ७१३ हजार रहेको केन्द्र सन् १९८१ सम्म सञ्चालनमा रहेको थियो। तर त्यसपछि जलाशयको पानी ललितपुरका विभिन्न क्षेत्रमा खानेपानीका लागि प्रयोग हुन थालेपछि विद्युत् केन्द्र सञ्चालनमा रोक लगाइएको थियो ।