
पोखरा, ११ भदौ । नेवाःखल कास्कीको आव्हानमा हरेक वर्ष आयोजना हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष भाद्र १६ गते पोखराको रानीपौवामा आयोजना गरिने भएको छ ।
रानीपौवा टोलले १९ वर्षपछि आफ्नो टोलमा प्रतियोगितात्मक रुपमा तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । यसअघि रानपौवामा विसं ०६१ सालमा तायाःमचा नृत्य प्रतियोगिता गरिएको थियो ।
प्रतियोगिता भाद्र १६ गते आयोजनास्थल रानीपौवास्थित श्री गणेश श्री भिमसेन मन्दिर परिसर, रानीपौवा पोखरा ११ मा रानीपौवा तायाःमचा नाच समितिकाे आयोजना र व्यवस्थापनमा हुन लागेको मुल संयोजक ईश्वरप्रसाद कर्माचार्यले बताए । “आफ्नो भाषा, संस्कृति र सभ्यताको संरक्षण र संवर्धन गरौं” भन्ने नारासहित हुन लागेको प्रतियोगिता उक्त दिन बिहान ८ वजेबाट शुरु हुनेछ ।
प्रतियोगिताको कार्यसम्पादनका लागि टोल नाच समितिका अध्यक्ष प्रेमप्रसाद कर्माचार्यको अध्यक्षता र ईश्वर कर्माचार्यको मुल संयोजकत्वमा रहेको २१ सदस्यीय टोलीले काम गरिरहेको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिका मेयर धनराज आचार्य रहने भएका छन् । प्रतियोगितालाई रोचक बनाउन विभिन्न खाजाका स्टल रहने भएका छन् । कार्यक्रमलाई व्यवश्थित बनाउन युवा, महिला स्वयं सेवक, नेपाल प्रहरी, एनसिसि क्याडेटहरु र सिसि क्योरा जडान गरिने भएको छ ।
नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले विसं २०५६ सालबाट पोखरामा व्यवस्थित तवरले संगठित रुपमा तायाःमचा नृत्य आम रुपमा संचालन गरिरहेको र यसलाई सबै जातजातीको सहभागितासंगै मनाउँदै आईरहेको बताए । पहिले पहिले ५, ६ वटा नाच निस्किने पोखरामा अहिले आएर ३३ समूहले भाग दिने अवस्था बनिसक्यो । पालिखेले भने, यसलाई नेपालको पर्यटनसंग जोडिनुपर्छ ।
अहिले पर्यटकको बसाई छोटो भईरहेको समयमा नेवारी जात्रा तथा तायाःमचा जस्ता प्रतियोगिताले उनीहरुको बसाई लम्बाउन महात्वपूर्ण भूमिका खेल्ने देखिएको छ । पालिखेले अब यस नाचलाई पर्यटनको क्यालेण्डरमा समावेश गरेर पर्यटकको आवागमनलाई बढाउने उदेश्यले अगाडी बढ्नुपर्छ ।
अध्यक्ष पालिखेले यस वर्षदेखि प्रतियोगिताको लागि पुरस्कार राशि बढेको जानकारी दिए । पोखरा तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रबीन्द्र श्रेष्ठ र शंकर श्रेष्ठले आफ्न बुबा स्व हेम कुमार बालकुमारीको स्मृतिमा १० लाख प्रयोजन गरेका छन् । यस रकमबाट प्रथम हुने पुरुष समूहले १ लाख १ रुपैयाँ, महिला समूहलाई रुपैयाँ ४० हजार १ रुपैयाँ, दोश्रो हुने पुरुष समूहलाई रुपैयाँ २ लाख १ रुपैयाँ, महिला समूहलाई रुपैयाँ २० हजार, तेश्रो हुने पुरुष समूहलाई १ लाख १ रुपैयाँ र सान्तोनातर्फ पुरुषलाई ३० हजार १ रुपैयाँ प्नदान गरिने छ ।
प्रतियोगिताको प्रवर्धकमा पोखरा महानगरपालिका, पो.म.न.पा वडा नं ११ र गण्डकी प्रज्ञा प्रतिष्ठान रहेका छन् । मुख्य प्रयोजकमा बुद्ध एयर तथा प्रायोजकमा मनिपाल कलेज, गण्डकी मेडिकल कलेज रहेका प्रचारप्रसार संयोजक सुबास तझ्याले बताए ।
नेवार समुदायमा मनाईने चाढपर्वहरु गःठे मंगल (घन्टाकर्ण) बाट शुरु हुन्छन् । श्रावण शुक्ल पूर्णिमादेखि भाद्र अष्टमीसम्म नौ दिनसम्म मनाईने चाडलाई गुःपुन्हि भनिन्छ । यहि समयमा वर्षाको कामकाजिबाट थकित भएको बेलामा शरिरलाई चीसोबाट बचाउन नौ वटा गेडागुडीहरु भिजाएर क्वाँटी खाने चलन रहेको छ । यसलाई क्वाँटी पूर्णीमा पनि भन्ने गरिएको छ ।
परम्परा अनुसार सापारु अर्थात गाईजात्रा वर्षभरी दिवंगत भएकाहरुको सम्झनामा निकाल्ने गरिएको छ । ऐतिहासिक तथ्यहरुका अनुसार राजा प्रताप मल्लका छोरा चक्रबतेन्द्र मल्लको निधनमा शोकमा परेकी रानी मनलाई शान्त बनाउन राजाले साे चलन चलाएका चलाए थिए । यो चलन पितृको आत्माले शान्ति पावस र उद्धार होस् भन्ने विश्वासले अहिलेसम्म चल्दै आएको छ ।