भदौ २६ देखि हुने ‘नाडा अटो शो’ मा १ सय २० वटा स्टल रहने

-



     मदन कुमार फुँयाल    
     भाद्र ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ भदाै। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालकाे ‘नाडा अटो शो २०२३’ यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडाैंमा हुने भएको छ। नाडाले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त शोको अधिकारिक रुपमा घोषणा गरेको हो।

भृकुटीमण्डपकाे प्रदर्शनी स्थलमा हुने उक्त अटाे शाेको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल रहेकाे छ। सह-प्रायोजकमा शिखर इन्स्योरेन्स कंपनी रहेकाे बताइएकाे छ।

नाडाका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल रहने छन्। उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता पनि रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनीहरुको सहभागिता हुने नाडाले जनाएको छ।

नाडा अटो शो २०२३ मा २० अर्बभन्दा बढीको कारोबार हुने व्यवसायीले अपेक्षा गरेका छन् । उनीहरुले एक्स्पोको क्रममा धेरै नयाँ सवारी साधनहरूकाे लन्च गर्ने समेत योजना बनाएकाे बताएका छन।

अटाे शाेको डोर प्राइजमा याडिया, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको र हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन्। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले गरेकाे छ।

नाडाका अध्यक्ष ध्रुव थापाले भने- ‘अहिलेकाे असहज परिस्थितिमा पनि हामीले अटो शो गर्ने आँट गरेका छौँ। यसमा सबैकाे साथ पाउनेमा हामी बिश्वस्त छाैं । अटाे माेबाइलहरूकाे वार्षिक बिक्रीभन्दा अटो शोमा मात्रै हुने बिक्री करिब ६० प्रतिशत हुने अध्यक्ष थापाकाे भनाइ छ।

प्रदर्शनीमा आउन सटल बस सञ्‍चालन हुने थापाले बताए। यसका लागि काठमाडौं महानगरपालिकासँग सहकार्य गरेको उनले बताए। प्रदर्शनी स्थलमा सहजै आवागमनका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यु टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्‍चालन गरिनेछ। साथै यो पटक पार्किङ बाहिर अन्य क्षेत्रमा गर्ने व्यवस्था मिलाउने तयारी गरिएकाे नाडाले जनाएकाे छ।

आर्थिक मन्दिले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारीसाधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ। नेपालीका ठुला चाडपर्व नजिकिँदै गर्दा आयोजना हुन लागेको याे प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्षरुपमा संलग्‍न सबैलाई उत्साहपूर्वक सहभागी गराउने लक्ष्य रहेकाे अध्यक्ष थापाले बताएका छन।

आयोजकका अनुसार प्रदर्शनीलाई बढी जानकारी, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी वित्तीय सेवा, बिक्रीपछिका सेवा लगायतका सेवासुविधाका छुट्टाछुट्टै स्टलहरु रहने छन्।

६ दिनसम्म संचालन हुने नाडा अटो शो २०२३ मा करिब ७५ हजारले अवलोकन गर्ने आयोजकले बिश्वास लिएका छन। अटाे शाेकाे प्रवेश टिकटको मूल्य २०० रुपैयाँ र विद्यार्थीहरुका लागि १५० रुपैयाँ कायम गरिएको नाडाले जनाएको छ।