चिलिमे जलविद्युतले साढे १४ अर्बकाे लागतमा ८१ मेगावाटको बुढीगण्डकी प्रोक हाइड्राे निर्माण गर्ने

-



     सफल आवाज    
     भाद्र २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ भदाै। ८१ मेगावाटको बुढीगण्डकी प्रोक जलविद्युत आयोजनाकाे निर्माण चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गर्ने भएको छ। उक्त कंपनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर निर्माण सुरु गर्न विद्युत विभाग उत्पादन अनुमतिपत्र माग गर्दै आवेदन समेत दिइसकेको छ।

विभागले एक सूचना जारी गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रहसमेत गरेको छ। प्रस्तावित आयोजना गोरखाको चुमनुब्री गाउँपालिका ४ र ५ काे बुढीगण्डकी नदीमा निर्माण हुने तयारी गरिएकाे बताइएकाे छ। आयोजना निर्माणका लागि १४ अर्ब ४८ करोड रुपैयाँ लाग्‍ने अनुमान गरिएको छ।

आयोजनाको हेडवर्क्स बुढीगण्डकी नदी र टम खोलाको दोभानबाट २६० मिटर तल रहेको छ । विद्युत गृह भने बुढीगण्डकी नदी र सेरान खोलाको दोभानभन्दा १५० मिटर माथि रहनेछ। आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभी १५ किलोमिटर प्रसारणलाइन निर्माण गरेर फिलिम/गुम्दाकाे प्रस्तावित सबस्टेसनमा जोडिनेछ।

कम्पनीले ४२० मेगावाटको लाइसेन्स लिएको भए पनि ८१ मेगावाटमा बुढीगण्डकी प्रोक फिजिवल देखिएकोले साेहि क्षमताकाे बनाउने तयारी रहेकाे छ। कम्पनीले २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना संचालनमा ल्याइसकेको छ।