अर्थतन्त्रमा देखिएको सुधारसँगै अटो व्यवसाय पनि फस्टाउनेछ: अर्थमन्त्री डा महत

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिन थालेको सुधारसँगै अटो क्षेत्रको व्यापार, व्यवसायमा मा पनि सुधार हुने बताएका छन् ।

नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आजदेखि काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको ‘नाडा अटो शो २०२३’ को उद्घाटन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा आएका समस्याहरूको समाधान पनि हुँदै जाने र आर्थिक गतिविधि पनि बढ्ने बताए ।

हाल विदेशी मुद्राको संचितिमा पनि बृद्धि भएको बताउँदै महतले पर्यटकको आवागमनसंगै गाडीहरुको खरिदबिक्री पनि बढ्ने बताए । संवोधनको क्रममा अर्थमन्त्री महतले नेपालमा गाडीहरुको डिलर धेरै भएकोले मर्जरमा जान व्यवसायीलाइ सुझाव दिए । सो अवसरमा उनले देशमा गाडीहरुको एसेम्बिलिङको शुरुआत भएकोले यसतर्फ ध्यान दिन आग्रह गरे ।

उनले भने, नाडा अब डिलरहरुको मात्रै एशोसिएसन भएर पुग्दैन, उत्पादनशील क्षेत्रहरुको एशोसिएसन बन्नुपर्छ । सरकारको मात्रै मुख ताक्नुपर्छ भन्ने छैन नि, तपाँईहरु उत्पादन गर्नुस्, एसेम्बिलिङको काम गर्नुस्’‘ सरकारले के सहुलियत दिनुपर्छ हामी त्यो गर्छौं ।

बजारमा अर्थको चलायमान नहुँदा समस्या छ । अहिले धेरैले बैंकबाट ऋण लिन चाहिरहेका छैनन् तर बैंकहरुले कर्जा दिने अवस्था भएकोले यसको सुधार गर्न आवश्यक भएको बताए ।

अहिले जग्गाको कित्ताकाट खुलेको छ । तर एउटैले बहुजग्गा खरिद गर्ने नियतको कारण पनि एउटा समस्याको रुपमा रहेको बताए । सो अबसरमा उनले मुलुकमा इभि गाडीकाे खरिद बिक्री शुरु भइसकेकोले विद्युतकाे खपत बढ्ने र इन्धन आयातमा कटौती हुने बताए ।

नाडाका अध्यक्ष ध्रुव थापाले आर्थिक मन्दीका बाबजुद यस वर्षको नाडा अटो शोमा विभिन्न अटोमोटिभ क्षेत्रको उल्लेख्य सहभागिता रहेको बताउदै देशको अर्थतन्त्रलाई चलायमान बनाउन उपयुक्त व्यावसायिक गतिविधिको आवश्यकता रहेको बताए ।

नेपाल राष्ट्र बैंकको कडा नीतिले अटोमोबाइल उद्योग नराम्ररी प्रभावित भएको छ, यस्तो आर्थिक मन्दीका बीचमा अर्थतन्त्रमा जीवन्तता ल्याउन नाडाले यो अटो शो को आयोजना गरेको थापाले जानकारी दिए । थापाका अनुसार संकट र मन्दीको बीचमा पनि अटो उद्योगले गति लिने अपेक्षा गरिएको छ ।

 नाडा शोमा सवारीसाधन खरिदमा विभिन्न विशेष छुटको व्यवस्था रहेको र ग्राहकले यो अवसरलाई सँधै सदुपयोग गरेको अध्यक्ष थापाले बताए ।

 यो अटो शोमा आयातकर्ता, डिलर, वितरक र निर्माता गरी करिब १२० साना ठूला स्टल राखिएको छ। तर सरकारको केही कडा नीतिका कारण अटोमोबाइल उद्योग पूर्णरुपमा संकटबाट मुक्त हुनेमा थापाले शंका ब्यक्त गरेका छन।

उनले इभि गाडी वातावरणीय हिसाबले पनि यो महत्वपूर्ण रहेकोले इभि गाडीहरुमा ध्यान दिन आग्रह गरे । उद्घाटन सत्रकाे अध्यक्षता नाडा अध्यक्ष ध्रुव थापालेले गरेका थिए । आजदेखि शुरु भएको १५ औं संस्करणको ‘नाडा अटो शो २०२३’ भदौ ३१ गतेसम्म चल्नेछ ।