
रसुवा, १७ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन यहाँका जनप्रतिनिधिमाझ सुझाव राख्नुभएको छ । जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्डको स्नान तथा प्रकृतिक रूपको अनुपम छटा अवलोकनका लागि उच्च भागमा पुग्ने धार्मिक यात्रुलाई सुविधायुक्त पूर्वाधार निर्माण गराउन अत्यावश्यक भएको बताउनुभयो ।
पूर्वाधारको विकास गराई उच्च भागमा गुणस्तरीय सुविधा दिनसके मात्र पर्यटकबाट आम्दानी लिन सकिने भएका कारण धार्मिक क्षेत्रको संरक्षण गर्न जोड दिँदै गुरुयोजना तयार गर्नसमेत सुझाव दिनुभयो । उहाँले यात्रुको समस्या समाधन गर्न पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई नै जोड दिनुभएको हो । अन्तर्राष्ट्रिय सीमा क्षेत्र रसुवागढी नाकामा निर्माण भइराखेको पूर्वाधार समयमै सम्पन्न गराउन जोड दिँदै कतिपय स्थानीय सरकारले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटमा परेको असर फुकाउन सङ्घीय सरकारले मापदण्डको छिनोफानु गर्नुपर्नेमा अध्यक्ष तिमल्सिनाले जोड दिनुभयो ।
जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत लौरीविनायक उकालोको पैदलमार्ग सुधारका लागि गरिएको डिजाइन न्यायोचित नभएकाले डिजाइन सुधार गर्नुपर्ने बताउनुभयो । आफूले स्थलगत निरीक्षण गर्दा लौरीविनायकको धार्मिकमार्गमा सिमेन्ट ढलान गरेको पाइएको र उक्त ढलान उपयुक्त नदेखिएकाले सिमेन्टबाट भन्दा स्थानीयरूपमा पाइने ढुङ्गा कटिङ गरी सिँढी निर्माण गराउन सुझाव दिनुभयो ।
धार्मिक क्षेत्रमा हजाराँै भक्तजन हिँड्ने पैदलमार्ग निर्माण गर्दा आन्तरिक एवं बाह्य सबै पक्षका लागि सर्वसुलभ हुने दिगो विकासका पूर्वाधार निर्माण गर्न गराउनसमेत सांसद् आचार्यले सरोकारवाला निकायसमक्ष अनुरोध गर्नुभयो । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संरक्षित मानिएको स्थानमा निजी क्षेत्रलाई जलविद्युत् आयोजना बनाउन दिने तर जनताको जीवनसँग जोडिएको नौकुण्ड खानेपानी निर्माणका लागि तयार गरेको फाइललाई बेवास्ता गरेको भन्दै जनतालाई शुद्ध खानेपानी व्यवस्थापनका बाधक नबन्न सरोकारवाला निकायलाई आचार्यले अनुरोध गर्नुभयो ।
वार्षिक समीक्षा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारसमेतका विषयगत कार्यालयले गत वर्ष सम्पन्न गरेका गतिविधिको समीक्षा कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति पेम्वाछिरिङ तामाङ र गाउँपालिका अध्यक्षको तर्फबाट आमाछोदिङ्मो गापा अध्यक्ष बुचुङ तामाङले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
जिल्लाको समग्र सुरक्षा अवस्था, विकास निर्माणका सहजीकरण, विपद् व्यवस्थापनजस्ता विषयमा स्थानीय प्रशासनले गरेको कामको विवरण रसुवाका प्रजिअ प्रकाशचन्द्र अधिकारीले राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासामु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारी कैसाङढिण्डुप तामाङ र हेमप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




