
पोखरा, २० कार्तिक । नयाँ वर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा कार्तिक २८ गते पोखरामा भिन्तुना शुभकामना पैदल र्याली २०८० आयोजना गरिने भएको छ ।
नेवाः खलः कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर नयाँवर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा पृथ्वीचोकबाट भिन्तुना शुभकामना पैदल र्याली बिहान ८ बजे शुरु हुने जानकारी दिएको हो ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कात्तिक २८ गते भिन्तुना र्याली शुरु हुनुभन्दा अगाडी बिहान ७ बजे वीरेन्द्र स्कृति पार्क संरक्षण समिति, नदीपुर, पोखरा ३ मा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा पुष्पार्पण गर्ने कार्यक्रम रहेको बताए ।
यसपटक र्याली नेवाः खलः कचाः, नेवाः मिसा पुचः, नेवा ल्याम्ह पुचः पृथ्वीचोकद्वारा आयोजना गर्न लागिएको छ। कात्तिक २७ गते पोखराका सिमलचौरबाट बिहान एबिसि साइकल सिटिले साईकल र्याली गर्ने भएको छ।
कात्तिक २८ गते बिहान ८ बजे पृथ्वीचोकबाट शुरु भएको भिन्तुना र्याली नयाँ बजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख हुँदै नेवा छे मा पुगेर समापन हुनेछ।
भिन्तुना र्यालीका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रहने छन् । २०५० सालमा सर्वज्ञमान प्रधानाङ्गको नेतृत्वमा नेवाः खलः कास्की गठन भएपछि समिति सक्रिय हुँदै भेषभुषा, भाषा, कला, संस्कृतिको जगेर्नाका लागि तालिम तथा संगठन बिस्तारका कार्यक्रमहरु गर्दैए आएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस वर्ष नयाँ वर्ष ११४४ को शुध साइत लक्ष्मी पूजा कार्तिक २७ गते सोमबार रहेको छ । बेलुकी ९.१२ देखि १०.४२ सम्म लाभ बेला, म्ह पूजा कार्तिक २८ गते मंगलबार समय बेलुकी ६.४१ देखि ८.१० सम्म लाभ बेला रहेको छ ।
यस्तै किजा पूजा कार्तिक २९ गते बुधबार गरिने भएको छ । समय बिहान ६.५ देखि ९.२५ सम्म लाभ, अमृत बेला र त्यसपछि ११.१५ देखि १२.४५ सम्म शुभ बेला रहेको जनाईएको छ ।
नेपाल संवत काठमाडौं उपत्यका र उपत्यका बाहिर नेवारी समुदायको बसोबास भएका स्थानमा मनाईदै आईरहेको यो नेपालको मौलिक संवत हो ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणबाट मुक्त बनाएर चलाएको संवत नेपाल संवतको रुपमा रहेको छ । कार्तिक शुक्ल पक्षका दिन नेपाल संवतको पहिलो दिन हो । यो संवत भक्तपुरका राजा राधव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी चलनमा रहेको थियो ।
नेपाल सरकारले यो संवतलाई आधिकारीक मान्यता दिएको छ । नेवारी समुदायमा यसको प्रयोग धेरै भईरहेको पाईन्छ । पछिल्ला वर्षहरुमा अन् समुदायसंगै मनाउन लागेपछि यसको महत्व बढेको अध्यक्ष पालिखेले बताए ।
सो अवसरमा पालिखेले भिन्तुना र्यालीमा पुरस्कारको व्वस्था रहेको बताए । पहिलो हुने र्यालीको समूहलाई २५ हजार, दोश्रोलाई ७ हजार, तेश्रो र सान्तोना हुनेलाई समान ५÷५ हजार प्रदाज गरिने भएको छ ।
हाम्रा चाडपर्वहरुलाई अझैं हामीले पर्यटकको आवागमन बढाउने दिशामा लैजानु पर्छ । पालिखेले भने, पर्यटकीय क्षेत्रमा अब पर्यटन व्यवसायीले २० वर्ष देखिको हिमाल देखाउँदै आएको चलनलाई परिमार्जन गर्नुपर्न बताए ।
अब हिमाल मात्रै देखाएर हुँदेन । पर्यटकको बसाई लम्बाउनका लागि यहाँ रहेका संग्रहालयहरुलाई पनि गन्तव्यको रुपमा लिनुपर्ने बताए । यदि यसो गनै सकियो भने उनीहरुको पोखरा बसाई तीन दिन बढी लम्बिन सक्छ ।