क्याम्पिङमा रमाए कुमुदिनी होम्स कक्षा १ का विद्यार्थीहरु

-



     सफल आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित



पोखरा, १५ मंसिर । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रबार कक्षा १ का विद्यार्थीहरुलाई क्याम्पिङ गराएको छ । विद्यालय प्रांगणमा गरिएको क्याम्पिङका साथमा क्याम्पफायर गरिएको थियो ।

अंग्रेजी सी आकारको क्याम्पिङमा १३ वटा टेन्टको व्यवस्था गरिएको छ । कक्षा १ का विद्यार्थीका लागि एक रातको लागि गरिएको कार्यक्रममा बच्चाहरु टेन्टको भित्र बाहिर गरिरहेका र नजिकै रहेकाे आगोको धूनीको ताप लिदै, खेल्दै र गाउदै रमाएका छन् ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, हामीले पढाईको साथसाथै विभिन्न तहका विद्यार्थीलाई विभिन्न क्रियाकलापहरुमा सहभागि गराउँदै आएका छौं । यो क्याम्पिङ लैजाने एउटा कार्यक्रमकाे रुप हाे । यसको महत्वका बारेमा बुझाउँदै निरन्तरता दिदैं आएका छौं ।

विद्यालय प्राङगणमा जम्मा भएका कक्षा १ का ७० जना विद्यार्थीहरु त्यहाँ निर्माण गरिएका १३ वटा टेन्टमा शिक्षकसंगै बाँडिएर बस्ने व्यवस्था मिलाईएको पालिखेले बताए । शनिबार बिहान उठेपछि उनीहरुले खाजा नास्ता गर्ने र केहि समय एकापसमा रमाईलो गर्दै खेलिसकेपछि अविभावक आएर घर लिएर जानेछन्, अध्यक्ष पालिखेले बताए ।

किन कक्षा १ का विद्यार्थीलाई क्यापिङमा राखिएको हो ? यसको महत्वको बारेमा बुझ्दा पालिखेले भने, यसले एकापसमा मिलेर बस्ने, सहकार्य र सद्भावनको भावनाको विकास हुन्छ । १३ वटा टेन्टमा प्रत्येकमा शिक्षकसहित ६ विद्यार्थीलाई राखिएको छ ।

विद्यार्थी ७० जना रहेका छन् भने १५ जना शिक्षक गरेर ८५ जना क्याम्पिङमा सहभागि भएका छन् । हामीले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएका छौं । र यसलाई निरन्तरता दिईरहेका छौं । केहि समयपछि कक्षा ३ विद्यार्थीलाई पनि यसैगरी क्याम्पिङमा बसाउने उनले जानकारी दिए ।

साँझमा बच्चाहरुले बालबच्चाका लागि तयार गरिएको शैक्षिक मूभि हेरेका थिए । साँझको खानापछि उनीहरु क्याम्प फायरमा रमाउदै, नाच्दै, गाउँदै र खेलिसकेपछि आ-आफ्ना टेन्टमा गएका थिए ।