कन्या क्याम्पसको लागि साथमा छु, संघको ढोका ढककक्याउन संगै जान्छु : मन्त्री सिंखडा

-



     सफल आवाज    
     मंसिर २२ गते २०८० मा प्रकाशित



पोखरा, २२ मंसिर । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले नारी शिक्षामा समर्पित पोखरा नदीपुरस्थित कन्या क्याम्पसको प्रगति देखेर खुसि व्यक्त गरेकी छन् । उनले कन्या क्याम्पसको लागि प्रदेश सरकारको मन्त्री हुँदाका बखतसम्म सकेको सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कन्या क्याम्पसले आज पोखरामा आयोजना गरेको ३२ औं वार्षिकोत्सव समारोहको प्रमुख अतिथि रहेकी मन्त्री सिंखडाले भनिन्, उहिले उहिले यो क्याम्पसलाई बुहारी क्याम्पस भनिन्थ्यो । यो क्याम्पसमा छोरीहरुले अध्इयन गरे शिक्षित पनि हुने र सुरक्षित पनि हुने भन्ने थियो । आज ३२ वर्षसम्मको यात्राको क्रममा धेरै परिवर्तन भईसकेको र नतिजा तथा कार्यप्रगति सुन्दा मेरो छाति फुलेको छ ।

तर मन्त्री सिंखडाले अहिलेको परिवेश फरक भएको र सबैले विदेश नै ताक्ने, विदेश नै जाने परिपाटीले स्थिति नाजुक रहेको यथार्थ हो भनिन् । उनले परिवर्तित गणतन्त्रले समावेसिता र समानुपातिक व्यवस्थालाई अंगालेको परिप्रेक्षमा महिलाका लागि पनि देश थुप्रै अवसरहरु रहेको बताईन । उनले भनिन्, हामीले व्यवस्था परिवर्तन्कै लागि, महिला मुक्तिकै लागि पुरुषसंगै बन्दुक बोकेर युद्धमा होमिएका थियौं ।

म समानुपातिकबाट मन्त्री पदको ओहोदामा आँए यो त्यसैको उपलव्धि हो । उनले विद्यार्थीको नृत्य र चित्रकला राम्रो लागेको बताउँदै यहि बसेर कलाको क्षेत्र वा नृत्य कुनैपनि विषयमा स्थान जमाउन सकिनेमा जोड दिईन् । मन्त्रालयगत् कामका लागि हतारिएको जस्तो देखिएकी मन्त्री सिंखडाले कन्या क्याम्पसक प्रमुख शुरेस मानन्धर, व्यवस्थापन पक्ष र नागरिक समाजलाई योजना बनाएर आउन र क्याम्पसको विकासको लागि के गर्न सकिन्छ संघ सरकारको ढोका ढकढकाउन संगै जान तयार रहेको बताईन् ।

क्याम्पसको वार्षिक प्रतिवेदन

सो अवसरमा क्याम्पस प्रमुख शुरेसकुमार मानन्धरले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३२ वर्ष अगाडी स्थापित गण्डकी प्रदेशको प्रथम र एकमात्र कन्या क्याम्पस पोखराले आफ्नो स्थापना काल देखि नै हरेक वर्ष उच्च शिक्षा मार्फत थुप्रै प्रतिभाशाली एवं चरीत्रवान छात्राहरुलाई सफलतापूर्वक उच्च शिक्षा दिलाउन सफल भएको बताए । उनले क्याम्पसले महिला शिक्षा विकासमा आफ्नो छुट्टै पहिचान दिलाएउन सक्षम भएकाले प्राध्यापक, कर्मचारी, छात्रा, अभिभभावक, कन्या मा.बि. विभिन्न संघ संस्थाहरु, दातृ निकायहरु, दाताहरु, शिक्षाप्रेमी पोखरेली समाज र सम्पूर्ण शुभचिन्तकहरुलाई आभार व्यक्त गरे ।

कन्या क्याम्पस पोखराले क्याम्पसको शिर उच्च बनाउदै विश्वविद्यालय अनुदान आयोगबाट मिति २०७८ फागुण २३ गते गुणस्तर प्रमाणपत्र क्यूएए प्रमाण पत्र हासिल गर्न सफल भएको बताए । कन्या क्याम्पस पोखरा र प्रदेशका लागि गर्वको कुरा रहेको बताए । त्रिभुवन विश्वविद्यालयको क्यूएए प्रमाण पत्र प्राप्त गरेका क्याम्पसलाई मात्र नया कार्यक्रमको सम्बन्धन दिने भएकोले नयाँ कार्यक्रमको सम्बन्धनका लागि योग्य भएको बताए । बिश्वविद्यालय अनुदान आयोगको एनइएचइपी कार्यक्रमका लागि पनि योग्य भएको बताए ।

सामुदायिक क्याम्पसहरु सञ्चालनमा प्रदेश सरकारको बिशेष भूमिका रहने भएकाले गण्डकी प्रदेशको एकमात्र नारी शिक्षामा समर्पित कन्या क्याम्पस पोखराले प्रदेश सरकारबाट धेरै सहयोग प्राप्त गर्ने अपेक्षा गरेको कुरा मन्त्री समक्ष सुनाए । छात्राहरुको शुल्कले मात्र क्याम्पस सञ्चालन गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा क्याम्पसको दिगोपनाका लागि प्रदेश सरकार र बिशेष शिक्षा मन्त्री सुशिला शिंखडाज्यूको महत्वपूर्ण योगदान रहने आशा गरेका छौं उनले भने । कक्षा १२ उत्तिर्ण गरेर बैदेशिक यात्रामा होमिने छात्रछात्राहरुका लागि सरकारले तत्काल कदम चाल्न नसकेमा भबिष्यमा दक्ष र योग्य जनशक्तिको अभावमा राष्टले निकै ठूलो चुनौती सामना गर्नुपर्ने उनको चिन्ता थियो ।

क्याम्पसमा ७२० जना छात्राहरू अध्ययनरत

क्याम्पसमा कुल ७२० जना (गत बर्ष ७१० जना) छात्राहरू अध्ययन गरिरहेका छन् । क्याम्पसमा हाल कक्षा ११, १२ मा २०४ जना, स्नातक तहमा व्यवस्थापन संकाय बी.बी.एस.मा २३० जना, शिक्षाशास्त्र संकायमा १२४ जना, बी.आई.एम.मा ७१ जना र मानविकी संकायमा ५४ जना अध्ययन गरिरहेका छन् । त्यसै गरी स्नातकोत्तर तह एम.बी.एस.मा ३७ जना छात्राहरू अध्ययन गरिरहेका छन् ।

क्याम्पसमा जेहेन्दार तथा विपन्न वर्गका दलित, जनजाति पिछडिएका तथा असहाय छात्राहरूले पनि अध्ययन गरी उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गरुन् भनी क्याम्पसले सीमित संख्यामा पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गरिएको छ । जसमा कक्षा ११ मा १६ जना, कक्षा १२ मा ३० जना, स्नातक तहअन्र्तगत बी.बी.एस. मा ५० जना, बी.ए.मा २० जना, बी.एड.मा ३१ जना र बी.आई.एम.मा २४ जना छात्राहरूले छात्रवृत्ति पाइरहेका छन ।

त्यस्तै स्नातकोत्तर तहमा १० जना छात्राहरूले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन । यसरी क्याम्पसका जम्मा १८१ जना छात्राहरू छात्रवृत्तिमा अध्ययन गरिरहेकामा २२ जनाले मात्र सतप्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् भने अन्य छात्राहरूले २५ देखि ७५ प्रतिशत सम्मका छात्रवृत्ति पाएका छन् ।

कन्या क्याम्पस पोखरामा बार्षिक परीक्षाको नतिजामा राम्रो प्रगति हुदै गएको छ । भर्खर मात्र भएको बी.आइ.एम आठौ सेमेष्टरका छात्राहरुको त्रि.वि.को अन्तिम परीक्षामा ९४ प्रतिशत छात्राहरु उत्तिर्ण भएका छन भने बि.आइ.एम पहिलो सेमेष्टरमा तरिबुन निशा मुसलमानले तथा पाँचौ सेमेष्टरमा नसिबुन निशा मुशलमानले नेपाल टप नतिजा ल्याउन सफल भएका उनले बताए ।
त्रिभुवन विश्वविद्यालयको नयाँ कार्यक्रम थप गर्ने सूचना बमोजिम व्यवस्थापन संकायको डिन कार्यालयमा द्यद्यब् कार्यक्रमको लागि आवेदन पेश गरेको जानकारी गराए । क्याम्पसलाई एक मानित विश्वविद्यालयको रुपमा आफ्नै कार्यक्रम विकास गर्दै अगाडी बढ्नका लागि ढोका खुलेको छ । उक्त कार्यकालागि क्याम्पस प्रशासनले आवश्यक योजना बनाउने क्रममा लागेको पनि जानकारी गराउन चाहान्छु उनले भने ।

विभिन्न क्षेत्रबाट सहयोग

यस बर्ष विश्व विद्यालय अनुदान आयोगबाट नियमित तथा बिभिन्न कार्यक्रमहरुका लागि रु. ४६ लाख ६० हजार अनुदान ल्याउन सफल भएको बताए । आयोगबाट कार्तिक २४ गते प्रकाशित सूचना बमोजिम यस बर्ष कास्की जिल्लामा एकमात्र सामुदायिक क्याम्पस यस क्याम्पसको आशयपत्र स्विकृत भएको जानकारी गराए । उक्त कार्यक्रमबाट क्याम्पसमा प्राध्यापनरत प्राध्यापक, कर्मचारी तथा छात्राहरुले उद्यमशिलताका लागि तालिम तथा सहयोग प्राप्त गर्ने आशा गरएिको छ । यस बर्षको नियमित अनुदान तथा अन्य बिभिन्न अनुदानहरुमा २०८० मंसिर १८ गते आवेदन पेश गरिएको उनले बताए ।

जापान नेपाल फिमेल एजुकेशन एसोसिएसनको सहयोगमा सञ्चालित साकुरा होस्टेलको १० बर्षे सम्झौता अवधि समाप्त भएपछि सो होस्टेलको नियमित मर्मत सम्भार होस भन्ने हेतलेु कन्या क्याम्पसको कर्मचारीलाई केही शुल्क लिने गरी भाडामा लगाएको जानकारी दिए । सो होस्टलबाट प्राप्त आम्दानीलाई छुटै खाता खोली जम्मा गरेको र होस्टेल कन्या क्याम्पस र कन्या माध्यमिक बिद्यालयको संयुक्त सहभागितामा समिति निर्माण गरी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।

कन्या क्याम्पस पोखराले ३२औं बार्षिकोत्सवको सन्दर्भभा सप्ताहव्यापी खेलकुद कार्यक्रम तथा छात्रा भलिबल प्रतियोगिता, निवन्ध लेखन प्रतियोगिता आदिका बिजेताहरुलाई आज पुरस्कृत गरिएको छ ।

क्याम्पसको गरीव तथा जेहेन्दार छात्राहरुलाई छात्रबृत्ति उपलब्ध गराउनका लागि बिभिन्न दाताहरुबाट अक्षयकोष प्राप्त भएको र छात्रवृत्ति प्रदान गरिदै आएको मानन्धरले बताए । यसबर्ष पोखरा महानगरपालिका वडा नं. १२ निवासी अनुज बास्तोलाबाट बुबा टिकाराम बाँस्तोला स्मृति अक्षयकोष स्थापनार्थ रु.२,००,०००, दुई लाख र कन्या क्याम्पस पोखराका सहायक प्राध्यापक ऋषि खनालबाट बुबा टंक प्रसाद खनाल तथा माता देवकुमारी खनाल स्मृति अक्षयकोष बापत रु.५० हजार भएको बताए ।

रु. एक करोडको अक्षयकोष स्थापना गर्न सफल

क्याम्पस प्रमुख मानन्धरले यस बर्ष सो अक्षयकोषमा बृद्धि गरी रु. एक करोडको अक्षयकोष स्थापना गर्न सफल भएको बताए । यस अभियानमा अभियानका परिकल्पनाकार निवर्तमान अध्यक्ष योगेन्द्र प्रधान,सञ्चालक समिति परिवार तथा सम्पूर्ण दाताहरुलाई उनले आभार व्यक्त गरे ।

यस बर्ष पोखरा महानगरपालिका वडा नं. ३ कार्यालयको रु. ४ लाखको आर्थिक सहयोगमा क्याम्पसमा साउण्ड सिस्टम र ७५ थान फाइबरको कुर्ची खरिद कार्य गरिएको छ । आ.व. २०८० ०८१को बजेटमा क्याम्पस परिसरमा सेनेटरी प्याड डिस्पोजल मेशिन स्थापना गर्नका लागि रकम बिनियोजन भएको जानकारी प्राप्त भएकामा उनले धन्यवाद व्यक्त गर ।

कार्यक्रममा क्याम्पसक विद्यार्थीले विभिन्न गीतमा नृत्य प्रस्तुत, कविता वाचन तथा कला प्रदर्शन गरेका थिए । यसअघि कार्यक्रममा सहभागि भएकाहरुलाई संचालक समितिा सदस्य कृष्णमोहन श्रेष्ठले स्वागत गर्दै निकै कष्टकासाथ विभिन्न आरोह अवरोहहरु छिचोलेर यहाँसम्म आएको क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडालाई पहल गर्न आग्रह गरे ।

सो अवसरमा छात्रा ऐश्वर्या श्रेष्ठ, प्राध्यापक डा.भूमिराज बस्ताकोटी लगायतले शुभकामना व्यक्त गर्दै अँझैं परिस्कृत भएर अब्बल स्थान बनाउनका लागि विद्यार्थी, क्याम्पस परिवार तथा समुदायको समन्वय हुन आवश्यक भएको बताए । समारोह क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको थियो । कार्यक्रम संचालन सहायक प्राध्यापक ऋषि खनालले गरेका थिए ।

यी ३५ विद्यार्थीले पाए छात्रबृत्ति