३७औं स्थापना दिवसका अवसरमा कुमुदिनीद्वारा मानव सेवा आश्रमलाई सहयाेग हस्तान्तरण

-



     सफल आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित



पोखरा, २९ मंसिर । पोखरा ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले ३७औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ ।

विद्यालयको ३७औं स्थापना दिवसको अवसरमा विद्यालयले शुक्रबार पाेखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा खाध्यान्न सामग्री तथा नगद हस्तान्तरण गरेको छ ।

विद्यालयका संचालिका मीना पालिखेले विद्यालयको तर्फबाट खाद्य सामग्री तथा ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

विद्यालयबाट ३५ जना विद्यार्थी र पाँच शिक्षकसहित ४० जनाको टोली आश्रममा गएको सह प्राचार्य मन बहादुर भुजेलले जानकारी दिए ।

सेवा नै धर्म हो । मानवद्वारा मानव सेवामा समर्पित जीवन रुपान्तरणको प्रक्रियामा सामेल हुनु नै मुख्य उदेश्य भएको भुजेलले बताए । उनले पढाइकाे साथसाथै विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै आएकाे बताए ।

आश्रममा ११४ जना अनाथ, अपांगता भएकाहरु, बृद्धबृद्धा र मानसिक स्वास्थ्य समस्या भएकाहरु रहेका छन् । यसको सुरुआत २०६९ साल भदौ १४ गतेबाट ५ जनाले मुठ्ठिदान अभियान चलाएर गरिएको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमको तर्फबाट सदिस पुनले आश्रमका बारेमा सहभागि विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी गराएका थिए । साे अवसरमा विद्यार्थीहरुका लागि मानवसेवा आश्रमको गितिविधबा बारेमा तयार पारिएकाे श्रव्यदृश्य देखाइएकाे थियाे ।

कार्यक्रमको संचालन तथा विद्यालयको तर्फबाट सह प्राचार्य मन बहादुर भुजेलले सहजिकरण गरेका थिए ।