पृथ्वी राजमार्ग बस संचालक कम्पनी अब पूर्ण अटोमेशनमा, यात्रुले अनलाइनबाटै टिकट काट्न सक्ने

-



     सफल आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित



पोखरा, १८ पुस । देशकै अग्रणी सार्वजनिक यातायात सेवा प्रदायक कम्पनी पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ ।

पछिल्लो समयमा प्रविधिको प्रयोग तिब्र रुपले बढिरहको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनका लागि पृथ्वी राजमार्ग बस संचालक कम्पनी पनि पूर्ण अटोमेशनमा गएको आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

अटोमेशनमा गएसंगै अब पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.का सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रुपमा कम्प्युटराइज प्रणालीमा रुपातन्तरण गरिएसंगै अबदेखि संस्थाको कार्यालय संचालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरु सफ्टवेयरबाट नियन्त्रण हुने भएका छन् । यसका लागि कम्पनीले नेपालको एकमात्र टिकेटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसंगको सहकार्यमा संस्थालाई पूर्ण रुपमा अटोमेशनमा लगेको हो ।

पृथ्वी राजमार्ग बस संचालक कम्पनीा अध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरुले पृथ्वी राजमार्ग बस संचालक कम्पनीका एसी, डिलक्स, हायस लगायतका सबै किसिमका गाडीको टिकट अनलाइनबाट काट्न सकिने बताए ।

यात्रुहरुले पृथ्वी बस डटकम डट एनपी (prithvibus.com.np), पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.को मोबाईल एप्लीकेशन तथा बससेवा डटकम (bussewa.com) बससेवाको मोबाईल एप्लीकेशन मार्फत सहजै टिकट काट्न सकिनेछ ।

अध्यक्ष केसीले समय अनुसार प्रविधिले सहजता ल्याएको बताउँदै यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेको बताए । यसले सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउने बताउदै भने, राज्यको तर्फबाट सरकारले पनि प्रविधिको प्रयोगका लागि आवश्यक नीति नियम बनाई प्रोत्साहन गर्न आग्रह गर्दछौं ।

पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित बनाउँदै यात्रुलाई सुविधा दिनुपर्छ भन्ने मान्यताले पृथ्वीसंग जोडिन पाउँदा खुसि छौं । यो सहकार्यले आम यात्रुले नयाँ अनुभवका साथ यात्रा गर्न पाउने र सहजता हुने बताए ।

देशकै अग्रणी यातायात सेवा प्रदायक कम्पनी बिगत ५० वर्षभन्दा बढी समयदेखि सेवा दिदै आएको कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, बुटवल, हेटौंडा देखि पूर्वका मुख्य शहरहरु धरान, विराटनगर, जनकपुर, बिरगन्ज काँकडभित्ता देखि सुदूरपश्चिममा दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, बर्दिया तथा महेन्द्रनगरसम्म गरी ३० बढी शहरमा सेवा दिदै आएको छ । कम्पनीले ४१० वटाभन्दा बढी रुटहरुमा करिब १३ सय ५० बस मार्फत सेवा दिईरहेको छ । दैनिक ८ हजार बढी यात्रुले व्यवस्थित यात्रा गरिरहेका छन् ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्इम हो । कम्पनीले नेपालका ६२ जिल्लामा आफ्नो सेवा पुर्याएको बताएको छ । दश वर्ष अगाडी स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण रुपमा अटोमेशनमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ ।