संस्कृति संरक्षणमा तनहुँका मगर समुदाय

-



     सफल आवाज    
     माघ २ गते २०८० मा प्रकाशित



दमौली, २ माघ । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर निवासी नन्दु थापा महिलाको भेषमा सजिएर नृत्य गर्दैछन्। प्रायः महिलाले लगाउने पोसाक लगाएर उनी मगर समुदायको कार्यक्रममा नृत्य गर्दै गरेको अवस्थामा भेटिन्छन्।

मगर सुधार समितिमा आबद्ध नन्दु पाउदुरे नृत्यका लागि महिलाको भेषमा सजिएका हुन्। पुरुष महिला बनेर नाच्ने पाउदुरे मगर समुदायको प्रख्यात नाच हो तर हिजोआज यो नाच लोप हुन थालेकाले संरक्षण गर्नुपर्ने आवश्यकता खड्किएको छ ।

“लोप हुन लागेको नाच संरक्षण गर्नुपर्छ भनेर आफूहरु लागिपरेका हौँ,” उनले भने, “पहिला गाउँघरमा पाउदुरे नाच नाचिन्थ्यो तर अहिले त्यस्तो छैन । यो नाच लोप हुँदै गएको महसुस भएको छ । युवा पुस्ताको यसमा आकर्षण नहुँदा वृद्ध भएका मगर समुदायका व्यक्तिहरुले यसलाई संरक्षण गर्नुपरेको छ ।”

यस नाचका लागि युवाको आकर्षण नभएको मगर सुधार समितिका उपाध्यक्ष इन्द्रबहादुर थापाले बताए। उनले भने, “संस्कृति लोप हुन दिनहुन्न भनेर समितिमा आबद्ध व्यक्तिहरुको सहभागितामा हरेक कार्यक्रममा यो नाच देखाउँदै आएका छौँ । यसले संस्कृति संरक्षणमा सहयोग पुगेको विश्वास गरेका छौँ ।”

विभिन्न जातजातिले फरक तरिकाले नाच्ने यो नाचमा बिजबारे, मारुनी, मादलेलगायत पर्छ । यो नाच पुरुषले गुन्युचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बीचमा नाच्नेलाई बिजबारे भन्ने गरिएको मगर समुदायका अगुवाले बताए ।

पाउदुरे नाच्दा बिजबारेकै भावलाई समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भन्ने गरिन्छ । गुरुबाले गीत गाउने र लहरै बसेका तीन मादलेलगायतले पनि गीतलाई हो मा हो मिलाउने प्रचलन रहेको अगुवा यामबहादुर आलेले बताए। उनले भने, “आफ्नो संस्कृति संरक्षणका लागि आफैँ जागरुक हुने हो । मगर समुदाय त्यही अभियानमा सक्रिय छन् ।”

अगुवा आलेका अनुसार पहिला पहिला सबै गीत मगर भाषामा गाउने गरिए पनि आजभोलि त्यस्तो प्रचलन हट्दै गएको छ । नेपाल मगर सङ्घले आफूले गर्ने कार्यक्रमहरुमा संस्कृति संरक्षणलाई प्राथमिकतामा दिने गरेको छ । मगर सङ्घ व्यास नगर समितिका सचिव अमरबहादुर थापाले मौलिकता उजागर गर्दै संस्कृति संरक्षणका लागि प्रयास गरिँदै आएको बताए ।

उनले भने, “हामीले हरेक कार्यक्रममा मगर समुदायको प्रचलनमा रहेका पाउदुरे, झ्याउरे, कौरा नृत्यलाई प्राथमिकतामा दिन्छौँ । यसले कला संस्कृतिको संरक्षणमा टेवा मिल्छ ।”

मगर विद्यार्थी सङ्घकी बिनिता आलेमगरले कौरा नृत्य संरक्षणका लागि आफूहरु लागेको बताइन्। तनहुँको कौरा नृत्य देशभर प्रख्यात रहेकाले सङ्घमा आबद्ध छात्राहरुले यसलाई संरक्षण गर्दै आएको उनको भनाइ थियो ।