खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



सिन्धुपाल्चोक, १६ फागुन . खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् ।

पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताए ।

जिल्लाका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची –१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व भव्यरूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताए। माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् ।

लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो ।

नदी र प्रकृति दोहनसम्बन्धी चित्रकला प्रदर्शन

चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची–१२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रदर्शनी गरे। चित्रमा आजभोलि आधुनिकीकरणका नाममा प्रकृतिलाई कुरुपतातिर धकेल्दै गरेको अवस्थालाई चित्रण गरिएको छ ।

अस्तित्व नामक चित्रमा इन्द्रावती नदी दोहन, सडकलगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशी पूजाको अवसरमा एकल चित्रकला प्रदर्शनी गरे। उनले नेपाल प्राकृतिक सुन्दर अनुपम नमूना मुलुक रहेको भन्दै हामी सबै प्राणीहरू प्रकृतिका अभिन्न अङ्ग रहेको र प्रकृतिबिना हाम्रो अस्तित्व सम्भव नभएको चित्रमार्फत प्रस्तुत गरे ।

“प्रकृतिलाई केही कसैगरी शृङ्गार गर्न पर्दैन, यो आफैमा सुन्दर छ । हामीले सजाउने र बनाउने बाहनामा बिनाश निम्त्याइरहेका छौँ । आधुनिकीकरणका नाममा हामी कुरुपतातिर धकेल्दैछौँ”, श्रेष्ठले भने। इन्द्रावतीको सुन्दरता स्वच्छ र स्वतन्त्र भएर बगेको परिदृश्य अझै पनि आफ्नो मस्तिष्कमा स्पष्ट रहिरहेको भन्दै उहाँले बाल्यकालको हरेक मधुर आवाजसँग रम्ने गरेको स्मरण गरे ।